भरतपुर, २५ साउन ।
भरतपुर-५ शान्तिचोकमा रहेको नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सुपरिवेक्षण कार्यक्रम गरेको छ । नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेड (नेफ्स्कुन) र चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड (चिस्कुन)को प्राविधिक सहयोगमा संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाको अध्यक्षता एवं भरतपुर महानगरपालिका वडा नम्बर- ५ का अध्यक्ष युद्धप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा नेफ्स्कुनका लेखा संयोजक नवराज सापकोटा र चितवन जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष एवं नेफ्स्कुन संचालक विद्या कोईरालाले सुपरिवेक्षण कार्यक्रमका बारेमा प्रकाश पार्दै पछिल्लो समयमा सहकारीमा देखिएका समस्या र राज्यले सहकारीलाई कुनै सहयोग नगरेको बारेमा धारणा राखेका थिए ।
नेफ्स्कुनका लेखा संयोजक नवराज सापकोटाले पनि मन्तव्य राख्दै सहकारीको पक्षमा नेफ्स्कुन रहेको तर सहकारीहरू पनि निती, विधि र प्रविधिमा चल्नुपर्ने बताए । कार्यक्रममा नेफ्स्कुन चितवनका कार्यालय प्रमुख रिसभराज रेग्मी र नवदुर्गा भवानी साकोसका निवर्तमान अध्यक्ष शिवप्रसाद सापकोटा पनि सहभागी थिए । कार्यक्रममा संस्थाकी उपाध्यक्ष संझना शर्माले स्वागत मन्तव्य राखेकी थिइन् । चितवनका १० वटा सहकारी संस्थाको उपस्थिति रहेको उक्त कार्यक्रमलाई नेफ्स्कुन र चिस्कुनका फिल्ड अधिकृत सुरज चालिसे र पुरूषोत्तम ढकालले सहजीकरण गरेका थिए भने कार्यक्रम सञ्चालन संस्थाका सचिव रामकृष्ण पौडेलले गरेका थिए ।





