भरतपुर, २४ साउन ।
नेपाल आदिवासी जनजाति महासंघ चितवनले संस्था स्थापनाको २५ वर्षपछि आफ्नै भवनमा विश्व आदिवासी जनजाति दिवस मनाएको छ । कार्यक्रम गर्नको लागि आफ्नै हल नहुँदा यसअघिका सबै कार्यक्रम बाहिर गर्नुपर्ने बाध्यतामा थियो । तर, यसवर्ष भवन निर्माणले पूर्णता पाएपछि जनजाति महासंघले पहिलोपटक आफ्नै भवनमा दिवस मनाउन पाएको महासंघका चितवन जिल्ला अध्यक्ष महेन्द्र दुराले जानकारी दिए ।
संस्थासँग बजेट पनि नहुने र बाहिर गएर दिवस मनाउनु पर्दा धेरै खालका समस्याको सामना गर्नु पर्ने बाध्यता थियो । तर, अबदेखि जस्तोसुकै कार्यक्रम गरे पनि आफ्नै भवनमा गर्न सम्भव भएको उनले बताए । आफ्नै भवन र कार्यक्रम आयोजना गर्ने हल भएपछि जुनसुकै समुदायले जुनसुकै कार्यक्रम पनि यहीँ गर्न सकिने उनको भनाइ छ ।
उनका अनुसार चितवनका नेता मिलनबाबु श्रेष्ठमार्फत बागमती प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा २५ लाख रुपैयाँ रकम उपलब्ध गराएपछि वर्षौँदेखि अधुरो रहेको भवन निर्माणले पूर्णता पाएको थियो । फलस्वरुप बुधबार २९औँ विश्व आदिवासी जनजाति दिवस आफ्नै भवनमा मनाउन सफल भएको छ ।
सोही कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भएका कांग्रेस नेता मिलनबाबु श्रेष्ठले आदिवासी जनजाति समुदायका लागि जति सक्दो सहयोग गर्ने बचन दिए । अझै काम गर्न बाँकी रहेकोले सरकारी निकायसँग आवश्यक समन्वय गरेर बजेटको व्यवस्थापन गर्दै जाने उनले बताए ।
आदिवासी जनजाति समुदायसम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा मनाइएको दिवसमा गायक हरि योञ्जनले गायन कलामार्फत सांगीतिक मनोरञ्जन दिलाएका थिए । त्यसका साथै विभिन्न जातजातिले आफ्नो समुदायको जातीय पहिचान झल्किने पहिरनमा नृत्य प्रस्तुत गरेका थिए ।





