देवचुली, २४ साउन ।
वन उद्यमबाट महिलाहरुको आर्थिक सशक्तीकरण कार्यक्रम प्रभावकारी हुँदै गएको छ । `वन उद्यमबाट महिलाहरुको आर्थिक सशक्तीकरण´ कार्यमूलक अनुसन्धान परियोजना इन्टरनेसनल डेभेलपमेन्ट रिसर्च सेन्टरको आर्थिक सहयोगमा फरेष्ट एक्सन नेपाल सहित हिमवन्ती नेपाल, पारिवारिक नीजि वन संघ र वन पैदावार उद्योग व्यवसायी महासंघको साझेदारीमा २०७८ असोजबाट कार्यान्वयन भैरहेको छ ।
सिन्धुपाल्चोक जिल्लाका दुईवटा र नवलपरासीपूर्वका दुईवटा पालिका गरी दुई जिल्लाका चारवटा पालिकाहरुमा यो परियोजना २०८० चैतसम्म कार्यान्वयन हुनेछ । वनमा आधारित उद्यमहरुमार्फत महिलाहरुको आर्थिक सशक्तीकरणका लागि उनीहरुको नेतृत्वदायी भूमिका, दिगो आयआर्जन, जलवायु परिवर्तनका जोखिमबाट सुरक्षित हुँदै सामाजिक, आर्थिक, पर्यावरणीय उत्थानशीलता र वन संरक्षणमा निर्णायक भूमिकामा उभ्याउन यो परियोजना लागू गरिएको हो ।

सोमबार परियोजना अन्तर्गत देउराली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट- ३ मा रहेका सक्रिय दुनाटपरी महिला उद्यमी समूह देउराली गाउँ र बाँसका सामग्री उत्पादन महिला उद्यमी समूह भुजेल गाउँका महिलाहरूलाई अन्तरसमूह अध्ययन भ्रमण गराइएको छ । अन्य समूहका उद्यमी महिलाहरूले कसरी काम गरिरहेका छन् भन्ने थाहा हुने भएपछि खुसी भएका महिलाहरु गैंडाकोट- १४ भागरमा रहेको शंखदेवी सामुदायिक वन उपभोक्ता समूहको कार्यालय पुगेका थिए ।
शंखदेवी दुनाटपरी महिला उद्यमी समूहले गरेका कामहरु, सुरुमा आएका समस्या र समाधानका उपायहरु, दुनाटपरीको बजारीकरणका लागि गरिएका कामहरुका बारेमा समूहकी सदस्य जुना कुँवरले जानकारी गराएकी थिइन् । ` परियोजनाले हामी महिलाहरुलाई सीप सिकाएर दाइजोस्वरुप दुनाटपरी मेसिन उपलब्ध गराउँदा दाइजो नै दिएको सम्झिएका छौं, हाम्रो जीवनशैली बदल्नका लागि दुनाटपरी उद्योगले मदत गरेको छ´ जुनाले भनिन् । उनले अगाडि भनिन् – `यो परियोजनामा सहभागी नभएको भए सायद यतिखेर रक्सी बनाउने र सामान्य घरधन्दा गर्दै समय बिताएका हुन्थ्यौं होला । ´
सामुदायिक वन र परियोजनाको सहयोगमा शंखदेवी दुनाटपरी उद्योगका लागि भवन निर्माण गरिएको छ । शंखदेवी सामुदायिक वनका अध्यक्ष सीतादेवी सापकोटा, सचिव पीताम्बर पाण्डेलगायत कार्यसमितिका सदस्यहरुसहित उद्यमी समूहले गरेका कामहरु र वनले गरेको सहयोगका बारेमा अन्तरक्रिया गरिएको थियो । दुवै समूहका महिलाहरूले आफ्ना समस्या र आफूले गरिरहेको कामका बारेमा जानकारी आदानप्रदान गरेका थिए ।
शंखदेवी सामुदायिक वनमा अन्तरक्रिया सकिएपछि जिल्ला डिभिजन वन कार्यालयमा पुगि उद्यमी महिलाले निमित्त डिभिजन वन अधिकृत दीपक पण्डित, वन अधिकृत हरिप्रसाद गौतम र सव डिभिजन वन कार्यालय गैंडाकोटका वन अधिकृत सूर्यसिं गुरुङसँग आफ्ना समस्या राखेका थिए । निमित्त डिभिजन वन अधिकृत पण्डितबाट समस्या समाधानका लागि पहल गर्ने आश्वासन पाएपछी महिलाहरू खुसी भएका थिए । वन संरक्षणमा महिलाहरुले नै चासो दिने कार्य सराहनीय भएको बताउँदै सव डिभिजन वन कार्यालय गैंडाकोटका वन अधिकृत गुरुङले नियम अनुसार सहयोग गर्न तयार रहेको बताए ।
गैंडाकोटबाट आएको महिलाहरुको टोलीले देवचुलीका नमूना महिला सामुदायिक वन उपभोक्ता समूह र अमरज्योति सामुदायिक वन उपभोक्ता समूहका उद्यमी महिलाहरुसँग संवाद गरेका थिए । नमूना महिला सामुदायिक वन उपभोक्ता समूहमा थाकल उद्यमी महिला समूह र कुचो उद्यमी महिला समूहले गरेका कामहरुको बारेमा जानकारी गराएका थिए । थाकल उद्यमी महिला समूहकी सचिव रिलकुमारी तामाङले उद्यमी महिलाहरूको नेतृत्वमा नमूना महिला सामुदायिक वन र परियोजनाको सहयोगमा भवन निर्माण सम्पन्न गरिएको, थाकलबाट बनेका सामग्रीहरुको बजारीकरण र उद्यमी हुँदा भोगेका समस्या तथा समूहले गरेका प्रगतिका कुराहरु सुनाएकी थिइन् । दुवै वनका महिलाहरुले अन्तरसंवाद गर्दै आआफ्ना समूहले गरेका कामको जानकारी आदानप्रदान गरेका थिए ।
अमरज्योति सामुदायिक वन उपभोक्ता समूहमा दुना टपरी उद्योग र बेसार उत्पादन तथा प्रशोधन उद्योग संचालन गरेका उद्यमी महिलाहरूले उद्योग संचालनमा भएका समस्याहरु र अहिलेको अवस्थाको बारेमा जानकारी गराएका थिए । वनका अध्यक्ष टुकलाल रुचालले उद्यमी महिलाहरूको सक्रियतालाई सदैव वन उपभोक्ता समूहले सहयोग गर्ने बताएका थिए ।
तीनवटा सामुदायिक वनमा आफूहरु जस्तै महिला उद्यमीहरुले गरिरहेको कामबाट निकै प्रभावित भएको र आफ्नो क्षेत्रमा पनि समूहलाई सक्रिय बनाई काम गर्ने प्रेरणा पाएको बाँसका सामग्री उत्पादन महिला उद्यमी समूह भुजेल गाउँकी शान्ति भुजेलले बताइन् । उद्यमी भवन नबन्दा समस्या भएको र अब समस्या समाधान हुने कुरामा ढुक्क भएको उनले बताइन् । परियोजनाका माध्यमबाट विभिन्न कार्यक्रम तथा व्यक्तिहरुसँग समन्वय भइरहने हुँदा अझ सशक्तीकरण भएको उनले बताइन् ।
फेकोफन गैंडाकोटका अध्यक्ष निर्मला कंडेलले परियोजनाले महिला सशक्तीकरण गर्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उद्यमीबाट निर्माण गरिएका सामग्रीहरुको बजारीकरणका लागि सबै जना लाग्नुपर्ने बताइन् । फरेष्ट एक्सन नेपालका कार्यक्रम संयोजक कमल भण्डारीले अन्तर समूह भ्रमणबाट एकअर्का समूहबीच निर्माण गरिएका सामग्रीहरु साटफेर गर्न र आपसमा परिचित गराउनका लागि महत्वपूर्ण हुने बताए । एकअर्का समूहले निर्माण गरिएका सामग्रीहरुको बजारीकरणका लागि गरेका कामलगायत अन्य जानकारी साटासाट गर्ने माध्यम भएकाले समूहहरुलाई काम गर्न सजिलो हुने अपेक्षा लिएको भन्डारीले बताए ।
अध्ययन भ्रमणमा देउराली सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, उद्यमी महिलाहरुलगायतको सहभागिता रहेको थियोे ।





