आँखा पाक्ने रोग बढेपछि पूर्वीनवलपरासीमा विद्यालय बिदा

कावासोती, २३ साउन ।
आँखा पाक्ने रोग महामारीका रूपमा देखा परेपछि नवलपरासीपूर्वमा सबैभन्दा बढी विद्यार्थी प्रभावित भएका छन् । जिल्लाका सबै पालिकाले मंगलबारदेखि चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

जिल्लाको गैँडाकोट नगर अस्पताल, नवलपुर अस्पताल, मध्यविन्दु जिल्ला अस्पताल, देवचुली अस्पताललगायतका सबै अस्पतालमा आँखाको उपचार गराउन आउने बिरामीहरूमध्ये ९० प्रतिशतमा आँखा पाक्ने रोग ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’को सङ्क्रमण देखिएको भन्दै सबै पालिकाले मंगलबारदेखि चार दिन विद्यालय बन्द गरी बिदा दिएका कावासोती नगरपालिकाका नगरप्रमुख विष्णु भुसालले बताए ।

मध्यविन्दु जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलका अनुसार अस्पतालको आँखा वार्डको ओपिडीमा आँखा उपचारको लागि दैनिक एक सय देखि दुई सयसम्म बिरामी आउने गरेकोमा ९० प्रतिशत बिरामीलाई आँखा पाक्ने रोग ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’ को सङ्क्रमण देखिएको हो ।

बालबालिकामा आँखा पाने रोग ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’को सङ्क्रमण बढे पछि जिल्लाको सबै पालिकाले चार दिन बिदा दिएका छन् भने आँखा पाक्ने रोगबाट सबै उमेर समूहका सङ्क्रमित भइरहेका भए पनि बालबालिकाहरूमा छिटो र धेरैको सङ्ख्यामा सङ्क्रमित भएका डा. छविलाल थापा मगरले बताए ।

आँखाको सेतो भाग सुन्निने र रातो हुने यो रोगलाई ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’ भनिन्छ । यसको सङ्क्रमणले आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने हुन्छ । कतिपय सङ्क्रमितमा परेला सुन्निने, आँखा बिझाउने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुनेलगायतका समस्या पनि देखिएको चिकित्सकहरू बताउँछन् ।

यो रोग लाग्दा सङ्क्रमित व्यक्तिको आँखाबाट पानी निस्कने, चिप्रा लाग्ने हुँदा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हात वा अन्य कुनै माध्यमले स्वस्थ व्यक्तिको आँखामा पुग्दा सङ्क्रमण सर्छ । त्यसैले सङ्क्रमित व्यक्ति वा घरबाहिर गएर फर्केका स्वस्थ व्यक्तिले हात नियमित रूपमा साबुनपानीले धुनुपर्ने चिकित्सकको सुझाव छ । यस्तो सङ्क्रमण भएका बेला तौलिया, रुमाल, लुगाफाटो, मेकअपका सामान अरूलाई प्रयोग गर्न दिन नहुने डा.थापामगरको सुझाव छ ।

नवलपरासी पूर्वमा यो रोग भयावह बन्दै जान थालेपछि सरकारी सेवा समेत प्रभावित भएको छ भने अन्य दैनिकी गतिविधिहरू पनि कम हुँदै गएको छ । यो प्रकोप अझै १५ दिनसम्म रहने चिकित्सकहरू बताउँछन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट