चितवनको तोरीको प्युरिटी र साहित्यको ओरिजिन

चितवन साहित्यिक स्रष्टाहरुको उर्वरभूमि हो । एकताका थियो, चितवनको तोरी निकै प्रसिद्ध थियो । चितवनको तोरीको तेलको शुद्धताले बजारमा चितवनको तेलको ब्राण्ड र लोकप्रियता बढाएको थियो । टाढा टाढाबाट पनि चितवनको तोरीको माग हुन्थ्यो । विशेषगरी पहाडमा चितवनको तोरीको तेलको क्रेज निकै थियो । तोरीको तेलका टिनहरु समेत निकै बलिया हुन्थे र घरका अनेक प्रयोजनहरुमा ती टिनहरुलाई प्रयोग गरिन्थ्यो । लाहुरबाट घर फर्किएकाहरु चितवनबाट तेलका टिनका डिब्बाहरु बोकेर हिँड्थे । अहिले समय फेरिएको छ । पुस्ता फेरिएको छ । रुचि फेरिएको छ । गाउँगाउँमा पुगेको मोटरबाटोहरुले मान्छेको इच्छा, चाहना र आवश्यकताहरु फेरिएका छन् । अहिले बजारमा चितवनको साहित्यको चर्चा हुन्छ । साहित्यिक लेखन, प्रकाशन, भेटघाट, छलफल र गोष्ठीका कार्यक्रमहरुले चितवनलाई चर्चाको विषय बनाएको छ ।
हेटौडादेखि पश्चिम र नवलपुरको दुम्किबास-कावासोतीदेखि पूर्वको भू–भागलाई समेटेर चितवनको साहित्य अहिले उर्वर बनेको छ । र, वर्षेनी राम्रा कृतिहरुको प्रकाशन भइरहेको छ । हिजो केही नामहरु थिए, आज अनगिन्ती नामहरु छन् । हिजो एकाध कृतिहरु थिए, आज असङ्ख्य कृतिहरु छन् । त्यसैले चितवनमा रहेका पुराना र स्थापितदेखि भर्खरै लेख्दै गरेका नयाँ साहित्यिक स्रष्टाहरुको नाम र उनीहरुका प्रकाशित कृतिहरुलाई नछुटाइ भन्नु अहिले गाह्रो छ ।
काठमाडौंको साहित्यसँग मोफसलको साहित्यको प्रतिष्पर्धा छ भने अहिले चितवनकै प्रतिष्पर्धा छ । यस्तो लेखिरहँदा साहित्यमा मोफसल छ कि छैन भन्ने विवाद र बहस पनि आफ्नो ठाउँमा छ । यो बहसलाई अहिले चितवनमा रहेर केन्द्रसँग स्पर्धा गरिरहेका एल.बी. क्षेत्री, ईश्वर कँडेल, भूपिन, अमर न्यौपाने, रमेश प्रभात, धनराज गिरी, मोदनाथ मरहट्टा, सुरेन्द्र अस्तफल, सरिता तिवारीलगायत साथीहरुको जिम्मामा नै छाडिदिएको छु ।
केही समयदेखि यता चितवनका स्रष्टाहरुका नयाँ कृतिहरुको प्रकाशन निरन्तरजस्तै देखिन्छ । र, बजारमा ती कृतिहरुको चर्चा हुने गरेको छ । यसले पनि चितवनका स्रष्टाहरुको लेखन र साहित्यिक सङ्घसंस्थाहरुको कार्यक्रमलाई जीवन्त बनाएको छ । कुनै न कुनै किताबको प्रकाशन, किताबमाथिको छलफल, चर्चा, परिचर्चा र किताबसँग जोडिएर आउने पुरस्कार, सम्मान कार्यक्रमहरुले चितवनलाई पत्रपत्रिकाको समाचार बनाइरहेकै देखिन्छ । नारायणगढ पुगेपछि सम्पूर्ण किताबबाट चितवनका प्रायजसो स्रष्टाहरुका केही न केही किताबहरु बटुलेर घर आइपुग्छु । र, चितवनका स्रष्टाहरुको लेखनलाई बुझ्न यी किताबहरुको सहारा खोज्छु ।
‘तोरीबारी, बाटा र सपनाहरु’ पारिजातको उपन्यासको यो एउटा नाम खुब मज्जा लाग्छ मलाई । आजकल बारीमा तोरी फुल्यो कि हातमा मोबाइल लिएर तोरीबारीमा सेल्फी खिच्न पुग्नेहरुको जमात आँखाअघि खेलिरहन्छन् । तोरीको फूलमा रस लिन झुम्मिरहने माहुरी र फूलले हावामा छाड्ने सुगन्धले वातावरणलाई झनै मादक बनाउँछ । बेलुकी सेल्फी लिनेहरुको शृङ्गार फेसबुकका भित्ताभरि पोखिन्छन् । बडो बैंसालु देखिन्छन् ती फाँटहरु तोरी फुलेको याम । आँखाले ती पहेँलपुर फाँटहरुलाई पछ्याउँछ र मनले आनन्द खोज्छ ।
रमेश प्रभात
नमन चितवनलाई माया गर्नुभएकोमा । फुर्सद भए माघ २ गते चितवन महोत्सवको साहित्यिक कार्यक्रममा भेटौँ ।
झट्ट फेसबुकको मेरो स्टाटसको एउटा कमेन्ट बक्समा चितवनका साहित्यकार रमेश प्रभातको कमेन्ट पढ्न पुग्छु । तल अर्को लहरमा एल. बि. क्षेत्रीको अर्को कमेन्ट छ –
अनिल श्रेष्ठ, चितवनको साहित्यबारे यति मीठो समीक्षा लेख्नुभयो, हार्दिक आभार व्यक्त गर्दछु । सत्य हो, चितवनमा साहित्य छ । प्रेमविनोद नन्दन, गोविन्दराज विनोदी, रेशम विरही, डि. आर. पोखरेल धेरै हुनुहुन्छ संरक्षकको रूपमा बस्नु भएका वरिष्ठ साहित्यकारज्युहरू । हाम्रो केन्द्रसँग कुनै प्रतिस्पर्धा छैन । केन्द्रले आफ्नो काम गरेको छ, चितवनले आफ्नो । यहाँ राष्ट्रिय स्तरका कार्यक्रम पनि भई रहन्छन् । कविडाँडा साहित्य समाज, चितवन साहित्य परिषद, साहित्य सङ्गम, अक्षर समूह, चितवन गजल मञ्च साहित्य कार्यक्रमका लागि सदैव क्रियाशील छन् । चितवनले अतिथि देवो भवःको भावना राख्छ । बाहिरबाट आउने पाहुनाहरूलाई सप्रेम स्वागत गर्छ । लेखराम सापकोटाजीको सम्पूर्ण पुस्तक हाम्रो साहित्य थलोका रूपमा चर्चित छ । अनिलजी माथि रमेश प्रभातजीले अनुरोध गरे अनुसार फुर्सद भएमा माघ २ गते चितवन महोत्सवको साहित्य कार्यक्रममा आउनु होला । त्यही दिन साहित्यलाई समेटेर बनाइएको १४ औँ चितवन महोत्सवको पत्रिका पनि विमोचन हुने छ । त्यसमा चितवनका धेरै स्रष्टाहरूका सिर्जना छन् । हस, नमस्कार ।
चितवनमा रहेर चितवनको साहित्यिक गतिविधिहरुमा अत्यन्तै क्रियाशील यी दुई सम्मानित साहित्यिक व्यक्तित्वहरुबाट आएका यी प्रतिक्रियाहरुले मलाई उत्साहित बनाउँछ । मन फेरि जोडिएको छ चितवनसँग, चितवनको साहित्यसँग । अघिल्तिर असरल्ल छन् किताब । यी किताबहरुको फेहरिस्त बनाउन मलाई हम्मे पर्छ ।
अहिले चितवनमा तेलभिसाको चर्चा छ । आजकल देशले खाद्यान्न उत्पादन गर्दैन । बेरोजगार युवाहरु उत्पादन गर्छ र धमाधम युवाहरुलाई वैदेशिक रोजगारीमा समुद्रपार निकासी गर्छ । तेलभिसा ल्याउँछ र तेलभिसामा देशका बृद्धबृद्धाहरुलाई विदेश पठाउँछ । कुत्सित छ सत्ता । तेलभिसा संस्कृति बनेको छ । र, यो संस्कृति मौलाइरहेछ । मान्छेका खुसी पनि स्थायी छैन, करारमा छ । सत्ताको यो उपद्रव र नेपाली समाजको वर्तमानको यो कुरुप यथार्थलाई कवि सुरेन्द्र अस्तफलले आफ्नो कविता ‘तेलभिसा’मा निकै मार्मिक र चोटिलो किसिमले चित्रात्मक रुपमा प्रस्तुत गरेको छ ।
उभिएको छु बुढीसँगै
त्रिभुवन विमानस्थलको गर्भभित्र
नाचिरहेको छ उसका आँखामा  
छोरा हुर्काउँदाको मातृत्व
म सकीनसकी
सुटकेस र झोला घिसारिरहेछु
र हेरिरहेछु
सुत्केरी स्याहारको नाममा
बोइङ चढ्न आतुर
आफूजस्तै बुढाबुढीहरुका
चाउरिएका गाला
र कपासझैं फुलेका कपालको श्वेतबिम्ब ।
संस्कृतमा चित्तको अर्थ हुन्छ ‘हृदय’ । र, वनको अर्थ ‘जङ्गल’ । अर्थात् जङ्गलको हृदय । विकिपिडियाले चितवनको निकै सुन्दर अर्थ दिएको छ ।
हिजोआज भने म चितवनलाई साहित्यको सहर भन्न रुचाउँछु । जसरी बनारसको गङ्गा तटमा बसेर भारतीय साहित्यकारहरु बौद्धिक विलास गर्थे, चितवनको नारायणी किनार आज त्यसैगरी साहित्यिक स्थल बनेको छ । चितवन उसैगरी काव्यिक बनेको छ । काव्यले सुधामय बनेको छ । कचेहेरी चल्छ साहित्यको । कचेहेरीमा साहित्यको बहस चल्छ । जनकपुरका राजा थिए, जनक । विदेही थिए । उनको दरबारमा दूरदराजका महर्षिहरु भेला हुन्थे । जनक स्वयं पनि महर्षि थिए । दरबारमा विद्धानहरुको निकै सम्मान र कदर हुन्थ्यो । विद्धानहरुका बीच शास्त्रार्थ चल्थ्यो । सरिता तिवारीहरु अहिले चितवनमा कचेहेरी चलाउँछन् । दूरदराजका साहित्यकारहरुलाई बोलाउँछन् र साहित्यको बहस गर्छन् । चितवनले एउटा परम्परा सुरु गरेको छ ।
जब नदीभन्दा दश वर्ष
जेठो छु भन्ने माझी पनि
नदीमा गायब भएको खबर सुनिन्छ
लाग्छ, नदी सोचेजस्तो शान्त छैन
बगिजानेहरुलाई थाहा छ
नदीको खास तागत
गहिराइमा हुन्छ ।
–भूपिन, (पृष्ठ ११३, सुप्लाको हवाइजहाज)
जीवन जति सरल छ, सपाट छ, उति नै जटिल पनि छ, बक्र छ । मानिसका आ–आफ्नै सङ्घर्षहरु छन्, भोगाइका अनुभव र अनुभूतिहरु छन् । कविता मानिसको जीवनको सङ्घर्षको त्यही अनुभवको विशिष्ट अभिव्यक्ति हो । कविता विचारहरुको सम्प्रेषण र शब्दहरुको कलात्मक प्रस्तुति पनि हो । त्यसैले कविताले पाठकहरुलाई सधैं सत्यको बोध र सौन्दर्यको खोजी गर्न सिकाउँछ ।
घरघरबाट बटुल्यो
किसान र ज्यामीहरुका
हँसिया, खुर्पा, कोदाली र बेल्चा
उनका नानीहरुको प्रेमपत्र र पुस्तक
र सबैलाई सोध्यो
के तिमीहरुसँग अझै
कुनै हतियार बाँकी छ ?
सबका सबले मुन्टो हल्लाए
एउटी युवतीले भनिन्–
‘म गर्भवती छु,
मैले प्रेम गरें धरतीलाई ।’
अन्तमा बाँकी एउटा
बस्तीभरको गरिब युवकले पनि
आफ्नो कञ्चटतिर
चोर औंला तेस्र्याएर भन्यो–
‘साहेब’ यहाँभित्र एउटा
सलाईको काँटी छ ।’
–रेशम विरही (पृष्ठ २१,२२, सातौं बादशाहको रातो कोट)
किन रन्थन्याइरहन्छ मान्छेलाई एउटा कविताले ? र, मस्तिष्कहरु झनझनिरहन्छन् । किन एकैछिन मौन बनाइदिन्छ शब्दहरुले म पाठकलाई ? किन टक्क अडिन्छ श्वास ? र, बादशाहहरुका विरुद्ध घृणा र आक्रोशहरु उर्लन्छ हृदयभरि ।
चितवन आदिवासीहरुको भूमि हो । आदिवासी थारुहरु यस भूमिका मालिक हुन् । तर उनीहरु नै आज आफ्नो भूमिबाट लखेटिएका छन् । र, भूमिहीन बनाइएका छन् । जसको भूमि हो आज उसैको भूमि छैन । जसले खन्यो यो भूमि, जसले उर्वर बनायो यो माटो, जसले हराभरा बनायो यो धरती, जसले पहिलोपल्ट यो जमिनमा उभिएर स्वतन्त्रताको गीत गाए, उनीहरुसँगै उनीहरुको माटो छैन, जमिन छैन, अन्न छैन । आज भारतमा मणिपुर जलिरहँदा, मणिपुरको सडकमा त्यहाँका नागरिकहरुको चीत्कार र आर्तनाद उठिरहँदा हामी आफ्नै मुलुकभित्र राज्यले सीमान्तकृत बनाएर आफ्नो भूमिको अधिकार खोसिरहेका थारु जातिको उत्पीडनलाई बिर्सन सक्दैनौं ।
निस्केर कुनै आदिम ओढारबाट
ढुङ्गाहरु रगडेर बालें आगो
फाँडेर जङ्गल उभ्याएँ घर
सम्याएर बनाएँ खेत  
पसिना र रगतको बिउ रोपेर फुलाएँ सभ्यता
हिँडे कहिल्यै नसिद्धिने प्रेमको अनादि गोरेटो
छिचोलें घाँटीसम्म डुब्दै पृथ्वीका सबै सिमसार
र, दगुरिरहें बाटो भेट्टाउन
धना वर्षावनमा एक्लै
०००
ए, यो हावा कसको हो ?
यो माटो र पानी कसको हो ?
कसका हुन् इतिहास, धर्म र कला ?
कसका हुन् विचार, शब्द र लय ?
को हो सृष्टिको उत्तराधिकारी ?
को हुँ म ?
केवल तिमीले प्रदर्शनीमा राखेको
निर्जीव, निर्विवेक, निस्पृह पुतली ?
–सरिता तिवारी (पृष्ठ २०८,२०९, समकालीन प्रतिनिधि नेपाली नारी कविता, सम्पादकः नेत्र एटम)
सत्तामा बस्नेहरुले जहिल्यै पनि यहाँका आदिवासीहरुसँग जालझेल गर्‍यो । र, उनीहरुसँग जमिन खोस्यो । जमिन खोसेर मालिक हुनेहरुले नै उनीहरुलाई घरेलु नोकर बनाए । हो, सत्ताले सधैं दासहरु मात्र जन्माउँदैन, बागीहरु पनि जन्माउँछ । चितवन बागीहरु खेल्ने ठाउँ हो । चितवनले सधैं सत्ताका विरुद्ध बगावत गर्छ । चितवन अमलेख हो ।
आदेशका गह्रुङ्गा भारी बोकेर वर्षौदेखि
मैले शिरोपर गरिआएँ आफ्नै अपमानलाई
टल्काइदिएँ तपाईंको जुत्ता
मैलो न मैलो आफ्नै कमिजको बाहुलाले
तपाईंको बच्चाबच्चीको डाइपरदेखि
मालिक्नी भाउजूको भित्री वस्त्रसम्म
धोइदिएँ आजसम्म यही हातले
र बारम्बार जोडिरहें फेरि यो हात
तपाईंको खातिरदारीमा
बदलामा खाएको न हुँ मैले
तपाईंको घरको दुई छाक भात
र एक चिम्टी नुन
प्रत्येक सम्बोधनमा भाते भनेर
त्यो पनि फिर्ता लिनुभएको छ तपाईंले
व्याजसहित
०००
तर एउटा सानो गल्तीमा
जुनदिन तपाईंले मलाई भने ‘नमकहराम’
त्यस दिनपछि मलाई तपाईंको नुनसँग
साँच्चिकै हरामी गर्ने रहर जागेको छ ।
–सुमनराज श्रेष्ठ (पृष्ठ ३१,३२, सपनाहरुको ह्याङ्गओभर)

चितवन सधैं सबल रह्यो साहित्यमा । किताब प्रकाशनको संख्याको हिसाबले मात्र होइन रचना प्रक्रियाको गुणवत्ताको कारण पनि चितवन सधैं अग्रणी रहेको छ । त्यसैले पनि बेलाबखत राष्ट्रिय रुपमा स्थापित प्रतिष्ठित पुरस्कारहरुले चितवनको साहित्यलाई चर्चामा ल्याइरहन्छ । चितवनका स्रष्टाहरुलाई पुरस्कृत र सम्मानित गरिरहन्छ ।
प्रेमविनोद नन्दन, मदनमोहन जोशी, द्वारिका श्रेष्ठ, एल. बी. क्षेत्री, गोविन्दराज विनोदी, डिआर पोखरेल, खुमनारायण पौडेल, रामबाबु घिमिरे, धनराज गिरी, हरिहर खनाल, जगत श्रेष्ठ लगायतका अग्रज पुस्ताले साहित्यको एउटा ब्राण्ड बनाएका छन् चितवनको साहित्यमा । र, अमर न्यौपाने, राधा पौडेल, भूपिन, रेशम विरही, सरिता तिवारी, मोदनाथ मरहट्टा, पूर्ण बहादुर अधिकारी, रविकिरण निर्जीव, इन्द्र रेग्मी, रमेश प्रभात, रह शर्मा, तेजविलास अधिकारी, लेखराम सापकोटा, सिर्जन अविरल, चन्द्र विवेकी, सूर्यप्रकाश कँडेल, गायत्री अधिकारी, धनेश्वर भट्टराई, टीकाराम रेग्मी, भरत ढकाल, डा. कृष्णप्रसाद पौडेल, वसन्त पराजुली, कृष्णप्रसाद पोखरेल, केशवराज आमोदी, रामहरि श्रेष्ठ, उदय अधिकारी, रेशमलाल श्रेष्ठ, सरस्वती रिजाल, गायत्री श्रेष्ठ, कपिल अज्ञात, केदारनाथ खनाल, प्रकाश चापागाइँ, नमूना शर्मा, चेतकान्त चापागाइँ, हरिहर सविता, खनाल रेवतीरमण, प्रभाकर पण्डित, पोषराज पौडेल, बालकृष्ण थपलिया, राजेन्द्र घायल, सुरेन्द्र अस्तफल, पुष्प अधिकारी अञ्जली, विजय ज्ञवालीहरुले यसलाई अझै सशक्त बनाएका छन् । यी केही नामहरु हुन् मैले पढेका र सम्झेका । अझै कति नामहरु छुटेका छन् । मेरो अज्ञानताले छुटेका ती नामहरुप्रति पनि मेरो उत्तिकै सम्मान छ ।
चितवन कहिले भ्रष्टाचार विरुद्धको सडकमा कविता आन्दोलन सुरु गर्छ, कहिले पर्यावरण र प्रकृति संरक्षणका सचेतामूलक साहित्यिक गोष्ठीहरु चलाउँछ, कहिले शारदा घरदैलो कार्यक्रम गर्छ । चितवन आन्दोलनका विविध आयामहरु बोकेर हिँड्छ । अनेक पाटाहरु छन् जीवनका सङ्घर्षका । अनेक क्षितिजहरु छन् आँखामा अघिल्तिर । बग्रेल्ती सपनाहरु छन् । एकाएक सपनाहरु छुटिरहेका छन् । मसिना छन् खुसी । शुष्क छन् मानिसहरुका हाँसो । आन्दोलन मात्र होइन, चितवन जीवनको गतिको सङ्गीत पनि बोकेर हिँड्छ । सहरको लय खोज्न हिँड्छ र पर्खालहरुमा चित्रहरु कोर्छ ।
अग्लो पर्खाल विभेदको भत्काउनुपर्छ
धुनुपर्छ समयमै समाजको दाग
–धनराज गिरी (पृष्ठ २९, संगी)
यो वर्ष समयमा पानी परेन । लामो समय अधिकांश खेतबारीहरु बाझो रहे । जमिन सुख्खा रह्यो । पृथ्वीको तापमान बढेको छ । भारतले नेपालमा आउने चामलको निर्यात रोकेको छ । बजारमा खाद्यान्न छैन । मूल्य बढ्दो छ । यो लामो खडेरीले आउँदो साल पनि खाद्यान्नको अभाव ल्याउने छ । सामाजिक बेथितिहरु बढेका छन् । गाउँ शून्य छ । राज्य जवाफदेही छैन । कस्तो अचम्म छ, एकातिर यो देशको सरकार गाउँमा वृद्धभत्ता बाँड्छ र अर्कोतिर विदेशीसँग कमिशनमा वाइड बडी जहाज खरिद गरेर युवाहरुलाई समुद्र पारी पठाउँछ ।
यो एकान्तले लखेटिरहेको एउटा साँझ बुटवलका कवि सुमिनाले फेसबुकको आफ्नो स्टोरीमा पोष्ट गर्नुभएको एउटा सुन्दर फूल देख्छु । यो उदास हावामा पनि मुस्कुराइरहेको फूलको त्यो जीवन्त चित्रले मेरो मनलाई आनन्दित बनाउँछ । जीवनको एउटा आशावाद छ त्यहाँ ।
‘कति अनौठो छ हगि प्रकृति ?’ म उनको कमेन्ट बक्समा लेख्छु ।
‘हो नि, अद्भुत ।’ उनको प्रत्युत्तर आउँछ छिनमै ।
‘प्रकृतिलाई आफ्नो बनाउनुपर्छ, त्योभन्दा रम्य र आनन्द क्यै हुन्न । धेरै मान्छेहरु प्रकृतिसँग संवाद नै गर्दैनन् ।’ लेख्छु ।
‘हो नि, म त सधैंजसो प्रकृतिसँग संवाद गर्छु । आदतजस्तै भएको छ ।’ कमेन्टबक्समा उनको अर्को प्रत्युत्तर देखिन्छ ।
यो छोटो संवादपछि म फेरि कम्प्युटरमा भर्खरै टाइप गर्दै गरेको लेखतिर फर्कन्छु । लेख्न बाँकी अंशहरु अझै छन्, ‘चितवनको तोरीको प्युरिटी र साहित्यको ओरिजिन …….. ।
bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट