भरतपुर, २२ साउन
भरतपुर महानगरपालिकाको दैनिक नियमित बजार अनुगमन प्रभावकारी बन्दै गएको छ । महानगरपालिकाले बजारमा स्वच्छता कायम गर्ने र उपभोक्ताहरु नठगिऊन् भन्ने उद्देश्यले बजार अनुगमन कार्यलाई निरन्तरता दिइरहेको छ । बजार अनुगमन कार्य भरतपुर महानगर अन्तर्गतको उपभोक्ता हित संरक्षण शाखा तथा शासकीय सुधार इकाइको दैनिक बजार अनुगमन कार्यमै पर्दछ । गत आर्थिक वर्षदेखि महानगरले बजार अनुगमन कार्यलाई तीब्र रुपमा कडाइका साथ निरन्तरता दिँदै आएको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ शुरु भएदेखि नै महानगरमा दैनिक उपभोग्य वस्तुहरुमाथि हुँदै आएको अवैज्ञानिक मूल्यवृद्धि र अखाद्य वस्तुहरुको बारेमा व्यापक जनगुनासो तथा उजुरी आउने क्रम बढेको उपभोक्ता हित संरक्षण शाखा तथा शासकीय सुधार इकाइका अधिकृत ठानेश्वर सापकोटाले बताए । अहिले महानगरको उजुरी पेटिकामा दैनिकजसो उपभोक्ताको गुनासोले भरिएका उजुरीहरु आउने गरेको र तत्काल नै महानगरको बजार अनुगमन समिति अनुगमनमा निस्कने गरेको सापकोटाले जानकारी दिए ।
सोमबार भरतपुरका विभिन्न क्षेत्रहरुमा महानगरले बजार अनुगमन गरेको छ । भरतपुर १६ शिवघाटमा रहेको नेवारी किचन, जलकपुर होटल एण्ड रेस्टुरेन्ट, होटल ओकायरी र भँगेरीथान कटेजमा महानगरले सोमबार छड्के स्थलगत अनुगमन गरेको हो । अनुगमनका क्रममा अधिकांश होटलहरुले सरसफाइमा ध्यान नदिएको, मूल्यसूची नराखेको, वडा कार्यालयमा दर्ता नगरी संचालन गरेको, उपभोक्तासँग अस्वाभाविक मूल्य लिएको, एमआरपीभन्दा बढी मूल्यमा दैनिक उपभोग्य वस्तु बिक्री वितरण गरेको पाइएको छ ।
भँगेरीथान कटेजले सरसफाइमा हेलचेक्राइँ गरेको भन्दै अनुगमन समितिले पाँच हजार रुपैयाँ जरिवाना लगाएको छ ।
भरतपुर १९ शारदानगरमा रहेको पिन्ची रेस्टुरेन्टलाई पनि सरसफाइमा विशेष ध्यान नपुर्याएको भन्दै दुई हजार रुपैयाँ जरिवाना गरिएको छ । शारदानगरमै रहेको पबित्रा एण्ड ब्रदर्श (खाद्य पसल) बाट ठूलो परिणाममा बेच्न राखिएका अखाद्य वस्तु (म्याद नाघेका) बरामद गरिएको छ । बरामद गरिएका सामानहरुमा घ्यु ५ लिटर, चकलेट ६ बट्टा, पतञ्जली अचार ४ बट्टा, अमिलो, सुजी, बत्ती बाल्न प्रयोग गरिने रासायनिक तेल १६ बट्टा बरामद गरिएको छ । बरामद गरेका उक्त सामग्रीलाई जनप्रतिनिधि, पत्रकार, कर्मचारी र अन्य सरोकारवालाहरुको रोहवरमा महानगर हाताभित्र खाल्डो खनी नष्ट गरिएको छ ।
स्वच्छ एवं उपभोक्तामैत्री व्यापारिक क्रियाकलापका लागि महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति अनुगमनमा सक्रिय रहेको छ । बजारको नियमित अनुगमनका लागि महानगरले निरीक्षण अधिकृत र अनुगमन टोली नै बनाएर बजार अनुगमनमा पठाएको छ । अनुगमनमा खाद्यान्न, तरकारी, मरमसला, फलफुल, माछा, मासु, दूध तथा दुग्धजन्य खाद्यवस्तुको मूल्य र गुणस्तर हेर्ने गरिएको छ । उपभोग्य सामान मात्र बिक्री वितरण गराउन सकियोस् भन्ने उद्देश्यले अनुगमनलाई तीब्र बनाइएको भरतपुर महानगरपालिकाले जनाएको छ ।
बजारमा हुने कालो बजारी, राजश्व छली, म्याद गुज्रिएका दैनिक उपभोग्य वस्तुहरुमाथिको अनुगमन तथा निरीक्षण कार्यलाई भरतपुर महानगरपालिकाले निरन्तरता दिइरहेको छ । नियमित संयुक्त बजार अनुगमनको टोलीले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेकामाथि कडाइ सुरु गरेको छ ।
व्यवसायीहरुलाई मापदण्ड अनुसार आफ्नो व्यापार संचालन गर्न, मूल्य सूची कायम राख्न, नापतौलमा एकरुपता ल्याउन, बिल भर्पाइलाई छरितो बनाउन, चाडपर्वको बेलामा दैनिक उपभोग्य वस्तुहरुमा कालोबजारी नगर्नका लागि सजग गराइएको छ । उपभोक्ताहरुको हितलाई ध्यानमा राखी स्व्च्छ बजार कायम राख्न भरतपुर महानगरले आफ्नो क्षेत्रभित्र हुने स्थानीय बजारमा अनुगमनलाई तिब्रता दिएको छ ।
‘बजार अनुगमनमा गएको टोलीले बजार अनुगमनलाई औपचारिक भन्दा पनि प्रभाकारी बनाएर जाने निर्णय गरेको छ । वस्तु वा सेवाका उत्पादक, आयातकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता, संकलनकर्ता बजारसँग सम्बन्धित पक्ष हुन् । यी पक्षको दर्ता, अनुमति, सिफारिस, नवीकरण हामीले हेर्ने गरेका छौँ’ उपभोक्ता हित संरक्षण शाखा तथा शासकीय सुधार इकाइका अधिकृत ठानेश्वर सापकोटाले भने ।
अनुचित व्यापारिक क्रियाकलाप र बजारको तह निर्धारण महानगरसँग सम्बन्धित विषय हुन् । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २८ तथा ६४ ले स्थानीय निकायलाइ बजार अनुगमन गर्ने अनुमति प्रदान गरेको छ ।





