भरतपुर अस्पतालसँग वडाले माग्याे जग्गा भाडाकाे विवरण

भरतपुर, २१ साउन ।
भरतपुर महानगरपालिका वडा नम्बर- १०ले भरतपुर अस्पताललाई पुरानो मेडिकल कलेजसहित विभिन्न व्यक्ति तथा संस्थाबाट भाडा बुझेको विवरण मागेको छ । वडाध्यक्ष परमेश्वर खनालले आइतबार भरतपुर अस्पतालका अध्यक्षलाई पत्र लेख्दै करार सम्झौताअनुसार भाडा रकमको विवरण तीन दिनभित्र उपलब्ध गराउन अनुरोध  गरेका छन् ।

‘कलेज अफ मेडिकल साइन्ससमेत विभिन्न व्यक्ति तथा संस्थासँग व्यावसायिक प्रयोजनको लागि गरेको भाडा एवं करार सम्झौतापत्र, हालसम्म बुझेको भाडा रकमको विवरणसम्बन्धी उपलब्ध सम्पूर्ण विवरणहरु पत्र प्राप्त भएको मितिले तीन दिनभित्र कार्यालयमा पेश गर्नुहुन अनुरोध छ,’– आइतबार २१ साउनमा काटिएकाे पत्रमा भनिएको छ ।

पुरानो मेडिकल कलेजले भरतपुर अस्पताललाई दिन करोडौँ रुपैयाँ बाँकी हुँदासमेत दिएको छैन । सरकारी अस्पतालको जग्गा भाडामा लिएको कलेजले झण्डै साढे चार करोड रकम तिर्न बाँकी छ ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पाैडेलका अनुसार मेडिकल कलेजले दुई वर्षदेखि भाडा तिरेको छैन । असार मसान्तसम्म कलेजले बेरुजु रकमसहित ४ करोड ३१ लाख ५६ हजार १ सय ५५ रुपैयाँ तिर्न बाँकी छ । कलेजले बेरुजु रकमबाहेक असार मसान्तसम्मको १ करोड ११ लाख ५६ हजार १ सय ५५ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उनले जानकारी दिए ।

भरतपुर महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष खनालले भरतपुर अस्पतालका जग्गाकाे विषयमा सार्वजनिकरूपमा जनचासाे र गुनासाे बढेका कारण विवरण मागिएकाे बताए । केन्द्रीय अस्पतालसँग वडा कार्यालयले विवरण माग्न मिल्छ ? भन्ने प्रश्नमा उनले भने- ‘वडा कार्यालय सार्वजनिक जग्गा संरक्षक पनि हाे । त्यसकाे सुरक्षा र सदुपयोग वडाकाे दायित्व हाे ।’ उनले सार्वजनिक निकायसँग जाेसुकै सर्वसाधारणले समेत सूचना माग्न पाउने भएकाेले स्थानीय सरकारले माग्न नपाउने प्रश्नै नभएकाे बताए ।

अस्पताल प्रमुख डा. पाैडेलले भने पत्रबारे स्वास्थ्य मन्त्रालयसँग परामर्श लिइने बताए । ‘हामी स्वास्थ्य मन्त्रालयअन्तर्गतकाे केन्द्रीय अस्पताल हाैँ’, उनले भने- ‘के गर्ने भनेर परामर्श लिएर अगाडि बढ्छाैँ ।’

भरतपुर अस्पतालकाे जग्गा अस्पतालबाहेक भरतपुर मेडिकल कलेज, नेपाल रेडक्रस साेसाइटी, भरतपुर आँखा अस्पताल, नहर टाेल विकास संस्था र सिटिइभिटी स्कुल अफ हेल्थ साइन्सलगायतले प्रयाेग गरिरहेकाे छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट