आख्यानकार जानुका खतिवडाको ‘आतोओडा’ उपन्यास फूलमुनी टुडु लगायत समस्त भूमिहीन सन्थाल जातिको कथा हो । आफूहरु भूमिपुत्र भएर पनि भूमिहीन भएका कारण वर्षैपिच्छे बासका लागि ठाउँ फेरिरहनु पर्ने बाध्यतालाई यसमा मार्मिक रुपमा चित्रण गरिएको छ । समाजमा आर्थिक रुपमा पछि परेका कारण हेपिएर बाँच्नु परेका भूमिहीन सन्थाल जातिको कथालाई नेपाली पाठकका सामु ल्याउनु उपन्यासकार जानुका खतिवडा र उनको ‘आतोओडा’ उपन्यासको प्राप्ति हो ।
उठान
‘आतोओडा’ उपन्यास जानुका खतिवडाको पहिलो औपन्यासिक कृति हो । विशेष गरी पूर्वी तराईमा बसोबास गर्ने र समाजमा आर्थिक रुपमा पछि परेका कारण हेपिएर बाँच्नु परेका भूमिहीन सन्थाल जातिको कथालाई यो उपन्यासले चित्रण गर्न खोजेको छ । कलम प्रकाशन, काठमाडौँले प्रकाशित गरेको यो उपन्यसासले जम्मा १६३ पृष्ठको आयाम बोकेको भए पनि मूल्य भने रु. ३५५।– राखेको पाइन्छ । यो उपन्यासमा न्यापेल, बाप्ला, घुर्यान, भोक, घाउ, झरी, झिल्को, भाग्य, पौरो, सम्झना, घर र कागत गरी बाह्रवटा शीर्षकमा खण्डयोजना गरिएको छ । मूल कथावस्तुले जम्मा १५८ पृष्ठको आयाम ओगटेको यो उपन्यासको अन्तमा तीन पृष्ठमा ५५ वटा सन्थाल भाषाका शब्दहरुको नेपाली अर्थ दिएर उपन्यासकारले पाठकलाई सजिलो पारिदिएकी छिन् । 
‘आतोओडा’ उपन्यासको कथावस्तु
‘आतोओडा’ उपन्यास सन्थाल जातिको जीवनशैलीमा आधारित उपन्यास हो । यसमा मुख्य पेसा कृषि भएर पनि आफ्नो नाममा जग्गा नभएका कारण जिन्दगीभर अरुको घरमा कामदारका रुपमा बसेर घरि कता घरि कता बास सार्न विवश सन्थाल जातिका विभिन्न पात्रहरुको जीवनलाई उतारिएको छ । यसको मुख्य पात्र फूलमुनि टुडु हो । जसले जीवनमा छोटो अवधिमा दुईदुईवटा विवाह गर्नु परेको छ । सुरुमा उसको विवाह सुराहीसँग भएको छ भने उसको अल्पायुमै मृत्यु भएपछि उसकै भाइ पर्ने बुधिनसँग दोस्रो विवाह भएको छ ।
यो उपन्यासमा फूलमुनिको दुवै विवाहको कथा समानान्तर रुपमा अगाडि बढाइएको छ । हरेक खण्डमा चिन्हले छुट्याएर फूलमुनिले फरक फरक समयमा कुराहरु सम्झेकी छे । यसले पाठकलाई कथा बुझ्न केही अप्ठेरो भने पक्कै पर्ने देखिन्छ । त्यसो त बुधिनको पनि दुईवटा विवाह भएको देखाइएको छ । आफ्नो जग्गा र घर नभएका कारण फुलमुनि लगायतका सन्थालहरुले दुःख पाउने गरेको र उनीहरु वर्षैपिच्छे नयाँ नयाँ ठाउँमा बासका लागि जानुपरेको कुरालाई यसमा महत्वका साथ प्रस्तुत गरिएको छ । त्यति मात्र नभएर सन्थाल जातिको चाडपर्व मनाउने तरिका, जन्म तथा मृत्युसंस्कार, विवाहपद्धति आदिलाई पनि यो उपन्यासमा चित्रण गरिएको छ । हेरौँ एउटा साक्ष्य :
सिन्दुर हाल्ने बेला भएको थियो । सुराहीलाई पनि तियाङले काँधमा उचाले । दुवै पक्षका जगमाझी हातमा पानीको लोटा लिएर उभिएका थिए । लोटामा राखेको आँपको पातले फूलमुनि र सुराहीलाई एकअर्कालाई पानी छर्किन लगाइयो । त्यसपछि सिन्दुर हाल्ने पालो आयो । (पृष्ठ : २०)
यो उपन्यासको मुख्य मुद्दा भूमिहीन सन्थालहरुको पीडा उतार्नु हो । देशमा प्रजातन्त्र आए पनि भूमिहीनलाई केही आएको छैन । थोरै चेतना आएको र आफ्नो घर नभएका कारण आफूहरु वर्षैपिच्छे ठाउँ सर्नुपरेको हो भन्ने कुरा बुझेपछि फूलमुनि र बुधिनले आफ्नै नाममा जग्गा किनेर घर बनाउन चाहन्छन् । यसका लागि पैसाको जोहो पनि गर्छन् तर नागरिकता नभएका कारण उनीहरुको नाममा जग्गा पास हुन सक्तैन । त्यसो हुँदा पनि उनीहरुले आफूले जग्गा किनेको प्रमाणस्वरुप तमसुक बनाएर घर बनाई बस्छन् । उक्त जग्गा मालिकले अर्कैलाई बेचिदिएका कारण पुनः घरविहीन अवस्थामा पुर्याएर उपन्यासको अन्त गरिएको छ । यसरी यो उपन्यासमा अन्य सन्थालहरु खुरुखुरु घर सर्छन् तर आफ्नै घरको सपना देख्ने फूलमुनिहरु दुःख पाएको देखाएर भूमिपुत्रहरुको पीडालाई देखाउन खोजिएको छ ।
‘आतोओडा’ उपन्यासका पात्रहरु
‘आतोओडा’ उपन्यासको मुख्य पात्र फूलमुनि टुडु हो । ऊ सन्थाल जातिको महिला हो । ऊ सानैदेखि हठी र आफ्नो अस्तित्व खोज्ने स्वभावकी देखिन्छे । जीवनमा दुईवटा विवाह गर्नु परे पनि ऊ परिवारप्रति जिम्मेवार देखिन्छे । उसको पहिलो लोग्ने सुराहीको अल्पायुमै मृत्यु भएका कारण देवर पर्ने बुधिनसँग उसको दोस्रो विवाह हुन्छ । बुधिन उपन्यासको मुख्य पुरुष पात्र हो । ऊ सानैदेखि अरुको घरमा बसेर काम गर्नुको सट्टा आफैैैँले केही गर्ने चाहना राख्छ । उसको दाजु तुरसा विद्रोही चरित्रको भएका कारण बेलैमा मारिएको देखाइएको छ । उसैबाट कसैसँग नदब्ने स्वभाव बुधिनले ग्रहण गरेको देखिन्छ ।
यस उपन्यासमा फूलमुनिको ससुरा शुकरदेव, देउरानी सनुमई, साथी लुखी, छोरो मङ्लु, सानी छोरी तुरसा, छिमेकी बिजेकी आमा पनि ठाउँ ठाउँमा देखिएका छन् । त्यस्तै बुधिनका बाबु, आमा, हजुरबा आदि पनि सम्झनामा आएका छन् । सन्थाल जातिका बाहेक अन्य जातिका साहुमहाजन, सरकारी कर्मचारी, नेतागण, पुलिस, सेना आदि पनि उपन्यासको अन्ततिर बग्रेल्ती भेटिन्छन् । उनीहरुको काम भनेकै भूमिपुत्रहरुलाई दुःख दिने हो भन्ने देखाउन खोजिएको छ ।
‘आतोओडा’ उपन्यासको परिवेश
‘आतोओडा’ उपन्यासले लामो समय लिएको छ । यसमा झापातिरको जङ्गल फाँडेर बस्ती बसाउने बुधिन हजुरबाको सम्झना गर्दै उनकै पौरखले महारानी झोडा बनेको भए पनि जग्गाको पुर्जा पाउने बेलामा उनी सिकार खेल्न गएका कारण जग्गाको मालिक बन्नबाट बञ्चित भएको कुरा उपन्यासमा गरिएको छ । यसमा राणाकाल, प्रजातन्त्रकाल, पञ्चायतकाल स्मृतिमा मात्र आएको देखिन्छ भने पञ्चायतपछिको प्रजातन्त्रकाल र माओवादी द्वन्द्वको समयको झिल्काझिल्की पनि देखिन्छ । यसको साक्षीका रुपमा बुधिनका अल्पायुमै मारिएका दाजु तुरसालाई लिन सकिन्छ । यसमा मूलतः अरुका घरमा कामदारका रुपमा बसी खेतीकिसानी गर्ने सन्थालको जीवनलाई चित्रण गरिएको छ । यसको परिवेश ग्रामीण खालको छ ।
‘आतोओडा’ उपन्यासको प्राप्ति
‘आतोओडा’ उपन्यासले नेपालको जनसङ्ख्यामा अल्पसङ्ख्यक रुपमा देखिने सन्थाल जातिको जीवनशैलीलाई चित्रण गरेको छ । थोरै थोरै भए पनि उनीहरुका शब्द प्रयोग गरेको छ । सन्थाल भाषा र संस्कृतिको चित्रण यो उपन्यासको मूल प्राप्ति हो भने पुस्तौँ पुस्तादेखि खेतीलाई नै जीवनको आधार बनाउँदै आएका तिनै सन्थालहरु एकै ठाउँमा स्थिर भएर बस्न नपाएको कारुणिक अवस्थाको चित्रण गर्नु यो उपन्यासको अर्को प्राप्ति हो । आकारमा सानो भए पनि यो उपन्यास भाषिक, सांस्कृतिक तथा पहिचानका कोणबाट सफल उपन्यास बनेको छ ।
बैठान
उपन्यासकार जानुका खतिवडाको पहिलो उपन्यास ‘आतोओडा’ले उनलाई पहिचान मात्र दिलाएको छैन । विभिन्न पुरस्कारले सम्मानित पनि गरिसकेको छ । सन्थाल जातिको पहिचान खोज्दै गर्दा उनलाई राम्रै पहिचान दिलाएको छ । यसको शीर्षकले सन्थाल भाषामा ‘गाउँबस्ती’ भन्ने अर्थ बहन गर्ने रहेछ । यो उपन्यास साँच्चै गाउँबस्तीसम्म फैलियोस् । आकारमा सानो भए पनि विचार र प्रस्तुतिमा खँदिलो खालको पहिलो उपन्यास नै यति सशक्त रुपमा ल्याएकोमा उपन्यासकार जानुका खतिवडालाई हार्दिक बधाई छ । उनको यो नवीनतम उपन्यासको अपार सफलताको कामना र अनन्त शुभकामना सहित कलम बन्द गर्छु । शुभमस्तु ।
समीक्षक प्रभात अक्षर समूह चितवनका अध्यक्ष हुन् ।





