विद्यालयले किताब बेच्न थालेपछि व्यवसायीको आपत्ति

भरतपुर, १६ साउन ।
चितवनका निजी विद्यालय सञ्चालकले विद्यालय हाताबाटै पुस्तक बिक्री वितरण गर्न थालेपछि यहाँका व्यवसायीले आपत्ति जनाएका छन् । कानुन र सर्वाेच्च अदालतकाे आदेशसमेतकाे अवहेलना हुने गरी यहाँका निजी विद्यालयले पुस्तक बेच्न थालेपछि व्यवसायीले विराेध गरेका हुन् ।

निजी विद्यालय सञ्चालकले कमिसनकाे लागि अदालतको आदेश अवज्ञा गरेकाे आराेप व्यवसायीकाे छ ।

२०६९ जेठ १० मा सर्वोच्च अदालतले निजी र सामुदायिक विद्यालयलाई बिक्री कक्ष खोलेर पोसाक, स्टेसनरी, पाठ्यपुस्तक र पाठ्यसामगी बिक्री नगराउन आदेश दिएको थियो । त्यस्तै शिक्षा नियमावलीको नियम ३७ को २ मा कुनै पनि विद्यालयले आफ्नो क्षेत्रबाट पुस्तक खरिद गर्न विद्यार्थीलाई बाध्य पार्न नहुने उल्लेख छ ।

निजी विद्यालय सञ्चालकको सहमतिमा एक वर्षअघि ल्याएको संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिकामा समेत विद्यालय आफैँले पाठ्यपुस्तक तथा स्टेसनरी खरिद-बिक्री गर्न नपाउने व्यवस्था छ ।

तर यी सबै व्यवस्था तथा सर्वाेच्चकाे आदेश अवज्ञा गर्दै जिल्लाका विभिन्न निजी विद्यालयले विद्यालय हाताबाटै पुस्तक, पोशाक तथा शैक्षिक सामग्री बिक्री वितरण गर्दै आइरहेका छन् ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ चितवन शाखाका अध्यक्ष परमेश आचार्यको नेतृत्वमा सोमबार गएको टोलीले रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटालाई भेटी आफ्नो व्यवसायको सुरक्षा माग गरेकाे छ ।

टोलीले नगरप्रमुख सापकोटा र नगर शिक्षा अधिकारी बद्रीनारायण भट्टराईलाई ज्ञापनपत्र बुझाइ पुस्तक व्यवसायीले भोग्नुपरेको समस्याका बारेमा छलफल पनि गरेका छन् । टाेलीले निजी विद्यालयलाई कानुनी दायरामा ल्याएर विद्यालय हाताबाट पुस्तक बिक्री गर्न नदिन माग गरेकाे छ ।

‘सरकारले पृष्ठ संख्याअनुसार पुस्तकको मूल्य निर्धारण गरेर अहिले विद्यार्थी र अभिभावक सबैलाई राहत भएको अवस्था छ´, अध्यक्ष आचार्यले भने – `यो अवस्थामा पुस्तकको व्यापारबाट हुने मुनाफा अत्यन्तै न्यून छ । त्यसमाथि विद्यालयले कमिसनको चक्करमा विद्यालय हातामै किताब बेचिदिँदा व्यवसायीहरू पलायन हुने अवस्थामा छन् ।´

व्यवसाय दर्ता गरेर, नियमितरूपमा कर बुझाएर बसेका व्यवसायीलाई धरासायी बनाएर व्यवसायबाटै पलायन हुने अवस्थामा लैजान नहुने आचार्यको माग छ । स्कुल, कलेजमा सोझै किताब पठाउने प्रकाशन गृह तथा शिक्षकलाई कारबाहीको दायरामा ल्याउनकालागि पहल गर्न उनले आग्रह गरे । कानुन विपरीतका अवैध कार्यहरू रोक्न नगरपालिका तयार रहेको नगरप्रमुख सापकोटाले आश्वासन दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट