हेटौंडा, १५ साउन ।
बागमती प्रदेश सरकार मातहतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले आइतबार प्रदेशका विभिन्न सात अस्पताललाई शवबाहन हस्तान्तरण गरेको छ ।
स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलले प्रदेश सरकार मातहतका विभिन्न जिल्लाका अस्पतालहरूलाई शवबाहन हस्तान्तरण गरेको हो । केन्द्रले चितवनको बकुलहर अस्पताल, रामेछाप, दोलखा, रसुवा, चौतारा, नुवाकोट, र सिन्धुलीलाई शवबाहन हस्तान्तरण गरेको हो ।
शवबाहन प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले सम्बन्धित अस्पतालका प्रतिनिधिहरूलाई हस्तान्तरण गरेका हुन्। स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका लेखा अधिकृत राधाकृष्ण श्रेष्ठका अनुसार मन्त्रालयबाट स्वीकृत कार्यक्रमअनुसार आर्थिक वर्ष ०७९-८० मै खरिद गरिएको शवबाहन प्रादेशिक अस्पतालहरूलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्का, वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपकप्रसाद तिवारी, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका कामु निर्देशक वसन्त अधिकारीलगायत उपस्थित थिए ।





