भरतपुर, १४ साउन ।
तमू ह्युल छोंज धीँ गुरूङ राष्ट्रिय परिषद् चितवनले गुरूङ (तमू) भाषाको कक्षा चलाउने भएको छ । लोप हुने अवस्थामा पुगेको भाषालाई ब्युँताउन तमूस्यो ह्युल छोंज धीँ गुरूङ महिला राष्ट्रिय परिषद् चितवन र दुवै संस्थाको महानगर समिति सहआयोजक रहने गरी दुईहप्ते भाषा कक्षा सञ्चालन गर्न लागेको हो ।
ह्युल छोंज धीँ चितवनका सचिव किशोर गुरूङका अनुसार पछिल्लो समय चितवनमा बस्ने गुरूङहरूले आफ्नै मातृभाषा पनि बिर्सादै गएपछि भाषा सिकाउन आवश्यक भएको हो । साउन २१ गतेदेखि हुने भाषा कक्षा भदौ २ गतेसम्म सञ्चालन हुने उनले बताए। तमू जातिको संस्था हाँकेर बस्ने पदाधिकारी नै भाषाबाट पीडित बन्नुपरेको हुँदा सामान्य बोलीचालीको भाषामात्रै सिक्न सके पनि ठूलो उपलब्धि हुने उनको भनाइ छ ।
उनका अनुसार प्रशिक्षार्थीहरूलाई सीतादेवी तमूस्यो, तुलमान गुरूङ र उमिता गुरूङले प्रशिक्षणमा सहजीकरण गर्ने छन् । ह्युल छोंज धीँको संग्रहालय भवन महाबौद्ध गुम्बा तीनखोले परिसरमा दिनको दुई घण्टा भाषा कक्षा सञ्चालन हुनेछ । गुरूङ जातिको मुख्य बसोबास गण्डकी र धवलागिरी क्षेत्रमा भए पनि पछिल्लो समय चितवनमा पनि बाक्लिँदै गएको छ ।
बसाइसराइसँगसँगै भाषा पनि हराउँदै गएपछि भाषा सिकाउन कक्षा नै सञ्चालन गर्नुपर्ने स्थितिमा आइपुगेको ह्युल छोंज धीँ चितवनकी अध्यक्ष विमलादेवी गुरूङले बताइन् । सामान्य बोलीचालीको भाषा सिकिसकेपछि भने सम्भव भएसम्म ’खेमा लिपि’ मूल भाषा पनि सिकाउने लक्ष्य रहेको उनको भनाइ छ ।





