भरतपुर, १४ साउन ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पारदर्शी रुपमा कुनै पनि गुनासो नआउने गरी छात्रवृत्ति छनोट गरिएको बताएकी छन् । यो छात्रवृत्ति मेरिटको आधारमा प्रदान गरिएकाले पनि पूर्णरुपमा पारदर्शी भएको उनको भनाई थियो । महानगरपालिकाले सबै क्षेत्रका परिवारका सन्ततिलाई समेट्न दलित, आदिबासी जनजाति, सीमान्तकृत, सहिद तथा घाईते परिवारलाई समेटिएको प्रमुख दाहालले बताइन् । उनले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीलाई रोल मोडलको रुपमा अध्ययन गर्न सुझाव पनि दिइन् ।
भरतपुर महानगरपालिकाले दिएको छात्रवृत्ति पाउनेमा सामुदायिक विद्यालयका ५५ प्रतिशत र संस्थागत विद्यालयका ४५ प्रतिशत विद्यार्थी छन् । महानगरपालिकाले २ सय ८३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । आइतबार महानगर सभा हलमा एक कार्यक्रमबिच महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालले संयुक्तरुपमा छात्रवृत्ति सिफारिसपत्र प्रदान गरे ।
महानगरपालिकाभित्र सञ्चालित कलेजहरुमा अध्ययन गर्ने विद्यार्थीहरुले अनलाईन माध्यमबाट भरेका फारमको मूल्यांकन गरी नतिजा प्रकाशन गरिएको हो । शैक्षिक सत्र २०८०÷०८१ का लागि छात्रवृत्ति आवेदन दिएका ८ सय १९ जनामध्ये २ सय ८३ जना छनौट गरिएको भरतपुर महानगरका नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालले बताए । जसमध्ये विज्ञान संकायमा १५३ जना र अन्यमा १ सय ३० जनाले छात्रवृत्ति पाएका छन् ।
भरतपुरका २९ वटा कलेजहहरुमा छात्रवृत्ति पाएका विद्यार्थीहरुले शतप्रतिशत निःशुल्क अध्ययन गर्न पाउने छन् । संस्थागत विद्यालय तथा कलेजहरुले भर्ना भएका विद्यार्थीहरुमध्ये १० प्रतिशतलाई अनिवार्य रुपमा छात्रवृत्ति दिनुपर्ने कानुनी व्यवस्था छ । एसइईमा प्राप्त गरेको ग्रेड (जीपीए) लाई नै मुख्य आधार बनाएर छात्रवृत्तिका लागि विद्यार्थी छनोट गरिएको महानगरले जनाएको छ ।
विज्ञान संकायमा छात्रवृत्तिका लागि विज्ञान, गणित र अंग्रेजीमा विद्यार्थीले प्राप्त गरेको जीपीएलाई आधार मानिएको थियो भने अन्यमा गणित, अंग्रेजी, नेपाली र सामाजिक विषयको जीपीलाई आधार बनाएर नतिजा निस्काशन गरिएको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।





