गैंडाकोटमा भएको साइकल दौडमा निमा शेर्पा प्रथम

गैँडाकोट, १४ साउन ।
गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले नेपालका पहाडी र हिमाली भेगमा साइकल यात्रा र प्रतियोगिता गराइ विदेशी पर्यटकलाई आकर्षण गर्न सकिने बताएका छन् । लियो क्लव अफ गैंडाकोट मौलाकालिका एवम् नगर युवा सञ्जाल गैंडाकोटको आयोजनामा शनिबार भएको प्रथम गैंडाकोट साईक्लिङ प्रतियोगिता- २०८० लाई सम्बोधन गर्दै नगरप्रमुख अधिकारीले नेपालको वातावरण साइकल यात्राका लागि सहज भएको बताए । `साइकल यात्रा गर्नेलाई नेपालको बाटो र हावापानी राम्रो छ । साइकल र्‍याली र प्रतियोगिता गर्नसके पर्यटकहरू नियमितरूपमा आउँछन्´ नगरप्रमुख अधिकारीले भने – `यहाँको हावापानीले उनीहरूलाई लोभ्याउँछ । बिदेशी पर्यटकलाई आकर्षित गर्नसके नेपाललाई बिदेशमा चिनाउन पनि मद्दत पुग्छ ।´ नियमितरूपमा साइकल चलाउँदा शरीर फुर्तिलो हुनुका साथै निरोगी बन्न सहयोग पुग्ने पनि अधिकारीले बताए । अहिले विस्तार भैरहेको नारायणगढ – बुटवल सडकखण्डमा साइकल लेन राखिनेगरी काम भैरहेको पनि अधिकारीले जानकारी दिए ।

प्रतियोगितामा उदयपपुर, गाईघाटका निमा शेर्पा प्रथम भएका छन् । कालिगण्डकी चोकदेखि ढोँडेनी सम्मको ९ दशमलव ३ किलोमिटरको दुरी शेर्पाले २३ मिनेट ३६ सेकण्डमा पूरा गरेका हुन् । यस्तै चितवनका प्रमित थापाले २६ मिनेटमा निर्धारित दुरी पार गर्दै दोस्रो स्थान हासिल गरेका छन् भने चितवनकै करण खड्काले ३० मिनेट लगाएर तृतीय स्थान हासिल गरेको आयोजकले जनाएको छ ।

विजेताहरुलाई कालिगण्डकी माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रममा क्रमशः ट्रफि सहित नगद रु. १५ हजार, १० हजार र ५ हजार पुरस्कार प्रदान गरिएको थियो । साईकल यात्रीहरु ढोँडेनी पुग्दा वडा नम्बर ३ का वडाध्यक्ष शिवकान्त तिवारीले स्वागत गरेका थिए ।

कार्यक्रममा गैँडाकोट ३ का वडाअध्यक्ष शिवकान्त तिवारी, वडा नम्बर २ का वडाध्यक्ष प्रकाश सापकोटा, प्रतियोगिताको सहप्रायोजक सापकोटा साईकलका संचालक गोपाल सापकोटा, श्री कृष्णगण्डकी माविका प्रधानाध्यापक सूर्यनाथ तिवारीलगायतले बोलेका थिए ।

क्लवका सचिव सुगम पोखरेलले संचालन गरेको प्रतियोगिताको समापन कार्यक्रम लियो क्लव अफ गैंडाकोट मौलाकालिका एवं नगर युवा सञ्जाल गैंडाकोटका अध्यक्ष रोशम दर्लामीको अध्यक्षतामा भएको थियो । प्रतियोगितामा ३२ जनाको सहभागिता थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट