भरतपुरमा रेमबहादुर गुरूङको योगदानको चर्चा

भरतपुर, ११ साउन ।

तत्कालीन तमू छोँज धींका अध्यक्ष एवम् तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषदको संरक्षण परिषदका अध्यक्ष स्व. डा डाक्टर रेमबहादुर गुरूङको योगदानको चर्चा गरिएको छ । डाक्टर गुरूङको १३औँ स्मृति दिवसका अवसरमा तमू ह्युल छोँज धीं गुरूङ राष्ट्रिय परिषद चितवनले तत्कालीन अवस्थामा देशभरका गुरूङ समुदायको नेतृत्व गरेर महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै चर्चा गरिएको हो ।

सो क्रममा देशभरका गुरूङ जाति र समुदायलाई एउटै साङ्लोभित्र बाँधेर राख्न सफल भएको भन्दै ह्युल छोँज धींका केन्द्रीय सचिव सन्तलाल गुरूङले डाक्टर रेमको योगदानकै कारण आज हामी ह्युल छोँज धीं भनेर बसिरहन पाएको बताए । ठाउँअनुसारको संगठन खोलेर छिन्नभिन्न अवस्थामा रहेका सम्पूर्ण गुरूङलाई एक ठाउँमा ल्याउने काम उनै रेमबहादुरबाट भएको भन्दै त्यस्ता व्यक्ति गुरूङ समुदायमा कमै हुने गरेको पनि उनलेे बताए ।

ह्युल छोंज धीँ बागमती प्रदेशका प्रमुख एवम् चितवन जिल्लाका निवर्तमान अध्यक्ष गणेशबहादुर गुरूङले डा रेमबहादुर गुरूङले नै छिन्नभिन्न अवस्थामा रहेका गुरूङहरुलाई एउटै छातामुनि राखेर भाइभाइको सम्बन्ध कायम गराउन सफल भएको बताए। ‘डा रेमबहादुर गुरूङकै दूरदृष्टिका कारण आज पनि गुरूङ समुदायले आफ्नो पहिचान जीवित राख्न सफल भएको छ,’ उनले भने ।

ह्युल छोँज धींका केन्द्रीय सल्लाहकार एवम् चितवन जिल्लाका पूर्वअध्यक्ष चन्द्रमान गुरूङले डा रेमबहादुरकै पहलमा २०६५ सालमा चितवनमै एकता महाधिवेशन गराएर इतिहास रच्ने काम गरेको बताए । उनका अनुसार त्यस अघिसम्म गुरूङ समुदाय पनि छुट्टाछुट्टै संस्था खोलेर आ-आफ्नो ढंगले चल्दै आएको थियो । तर, २०६५ सालमा जोखिम नै मोलेर चितवनमा एकता महाधिवेशन गरेपछि डा रेमबहादुरको लक्ष्यले सफलता पाएको उनको भनाइ छ ।

ह्युल छोँज धीं बागमती प्रदेशका उपाध्यक्ष तुलाराम गुरूङले गुरूङ समुदायको स्थापना र त्यसपछि समाजमा योगदान पुर्‍याउने जुनसुकै व्यक्तिलाई पनि सम्झिरहनु पर्ने धारण राखे । ‘जसले गुरूङ जातिकै हित र उत्थानका लागि काम गरे, त्यस्ता व्यक्तिलाई हामीले बिर्सियौँ भने पाप लाग्छ,’ उनले भने, ‘त्यसैले कम्तिमा वर्षमा एक पटकमात्रै भए पनि सम्झिने प्रयास गरौँ ।’

ह्युल छोंज धीँ चितवनका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर गुरूङले स्वागत मन्तव्य दिएको कार्यक्रम चितवन जिल्ला अध्यक्ष विमलादेवी गुरूङको अध्यक्षतामा सम्पन्न भएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट