कवि एलबी क्षेत्रीको `को हो त्यो मान्छे ?´ आउँदै

भरतपुर, ११ साउन ।
कविडाँडा साहित्य समाजका अध्यक्ष एवम् चितवनका अग्रज साहित्यकार एलबी क्षेत्रीले ‘को हो त्यो मान्छे ?’ नयाँ पुस्तक सार्वजनिक गर्दै छन् । मानिसको पहिचान गराउनको लागि लेखिएका कवितालाई यो सङ्ग्रहमा राखेको कवि क्षेत्रीले बताए ।

अहिले अष्ट्रेलियामा रहेका क्षेत्रीले झण्डै एक दशकपछि छैटौं कृतिको रुपमा यो कवितासङ्ग्रह सार्वजनिक गर्न लागेका हुन् ।

पेज कर्नरले प्रकाशित गरेको यो पुस्तकलाई भदौ ९ गते काठमाडौँमा र त्यसपछि चितवनमा सार्वजनिक गर्ने तयारी रहेको कवि क्षेत्रीले बताए । उनले मानिसको पहिचान गराउन र मानिसको पहिचान खोज्न ‘ को हो त्यो मान्छे ?’ कृतिको नाम राखेको बताए । उनी कुनै राजनीतिक बाद र दर्शनमा आधारित नभई सत्यको आधारमा मन र हृदयको भावलाई कवितामा उतार्ने गर्छन् । १०० पृष्ठको यो नयाँ कवितासङ्ग्रहमा तीन दर्जन बढी कविता सङ्ग्रहित छन् ।

अंग्रेजी र नेपाली भाषामा कलम चलाउने क्षेत्रीको विसं २०६४ सालमा पहिलो कृति ‘त्रिशंकुको देशमा’ कथासङ्ग्रह सार्वजनिक भएको थियो । त्यसपछि उनको विसं  २०७१ सालमा नै ‘भीडमा हराएको मान्छे’ कवितासङ्ग्रह, २०७१ सालमा ‘ईन्द्रमायाको देशमा’ कथासङ्ग्रह, २०७५ सालमा ‘व्रतभङ्ग’ कथासङ्ग्रह, २०७८ मा कविता र कथाको संयुक्त सङ्ग्रह ‘द करिडोर अफ सेन्सेस’ प्रकाशित भइसकेका छन् ।

चितवन वरपर एलबी सरका रूपमा परिचित साहित्यकार एलबी कवि डाँडा साहित्य समाजका अध्यक्ष र भ्यू चितवनका संस्थापक हुन् । उनी हरेक वर्ष चितवनमा फरक शैलीको साहित्यिक कार्यक्रम गरेर देश विदेशका साहित्यकारहरूका कुरा सुन्छन् भने वर्षभरि नै युवासँग जोडिएर साहित्यमा नयाँ पुस्तालाई प्रेरणा दिइरहन्छन् ।

२०४४ सालदेखि वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरबाट शिक्षण सेवा सुरु गरेका क्षेत्री त्यही कलेजका प्रमुखसम्म बने । शिक्षणसँगै साहित्यमा रुचि बढाएका एलबी शिक्षण पेसाबाट निवृत्तपछि नै पूर्ण रूपमा साहित्यसेवी बनेका हुन् । उनले एक लाख २५ हजार रुपैयाँ राशीको नेपालकै ठूलो आख्यान पुरस्कारको स्थापना पनि गरेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट