भरतपुर, ११ साउन ।
भरतपुर-७ स्थित अङ्कुरम् एकेडेमी र संजय गोदावत् इन्टरनेशनल स्कूल भारतबीच `इन्डो-नेपा कल्चरल एक्स्चेन्ज प्रोग्राम’ सम्पन्न भएको छ । भारतको महाराष्ट्रमा दश दिनसम्म चलेको साँस्कृतिक सहकार्य साझेदारी कार्यक्रम अन्तर्गत नेपाल र भारतका साँस्कृतिक विविधता झल्कने भेषभूषा, गायन, नृत्य तथा आ-आफ्नो माटो चिनाउने सांगीतिक प्रस्तुतिहरु बेजोड रुपमा प्रस्तुत गरिएको प्राचार्य सुमन पौडेलले जानकारी गराए ।
`२१औं शताब्दीको शिक्षा भनेको किताबी ज्ञान मात्र होइन, बरु हरेक बालबालिकाको सर्वाङ्गीण रुपमा बृहत्तर विकास गराउनु नै सही अर्थमा २१औं शताब्दीको शिक्षाको सार्थकता हुनेछ´, प्राचार्य पौडेलले भने – `आजका बालबालिकालाई यस समग्र जगतको बहुआयामिक पक्षहरुसँग साक्षात्कर गराए मात्र उनीहरुको वैयक्तिक विकास हुनेछ ।´
यस परियोजना अन्तर्गत दुवै विद्यालयका विद्यार्थीहरुले विज्ञान प्रदर्शनी, साँस्कृतिक प्रदर्शनी र सूचना तथा संचार प्रविधिसँग सम्बन्धित परियोजनाहरु सामूहिक रुपमा सहकार्यात्मक ढंगले सम्पन्न गरेका थिए ।
अङ्कुरम् एकेडेमीका १८ जना विद्यार्थी र २ जना शिक्षकको साथमा प्राचार्य सुमन पौडेलको नेतृत्वमा दश दिने साझा कार्यक्रम एसजीआइएस महाराष्ट्र, भारतमा सम्पन्न गरी स्वदेश फर्कँदैछन् ।





