भरतपुर, १० साउन
युवा विद्यार्थीहरुलाई लक्षित गर्दै चितवनको भरतपुरमा अन्तरमाध्यमिक विद्यालय (९–१२) स्तरीय ‘एक्सपर्ट फुटसल फेस्टा–२०२३’ हुने भएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि. चितवनको सहकार्यमा चितवन जिल्ला फुटबल संघको आयोजनामा दुईदिने प्रतियोगिता हुन लागेको हो ।
चितवन जिल्ला फुटबल संघले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै साउन २० र २१ गते भरतपुरस्थित द शरदपुर फुटसलमा प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो । संघका अध्यक्ष श्रीकृष्ण कार्की भन्छन्– ‘यस प्रतियोगिताले युवा भाइहरुलाई फुटसल र फुटबल खेलतर्फ आकर्षित बनाउन महत्वपूर्ण भूमिका खेल्छ, युवाहरुलाई खेलप्रति रुचि बढाउनकै लागि हामीले यो प्रतियोगिता आयोजना गरेका हौं ।’
एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि.को २०औं वार्षिकोत्सवको अवसर पारेर कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुले सहभागिता जनाउन पाउने गरी प्रतियोगिता आयोजना गर्न लागिएको हो । एक्सपर्टले साउन २३ अर्थात् अगष्ट ८ मा २०औं वार्षिकोत्सव समारोह मनाउँदै छ ।
प्रतियोगिताका संयोजक मिराज पौडेलका अनुसार प्रतियोगितामा सहभागिता जनाउनका लागि साउन १७ गते साँझ ५ बजेभित्रमा टिम दर्ता गराउनुपर्ने हुन्छ । टिम दर्ताका लागि शुल्क नलाग्ने उनले बताए ।
प्रतियोगितामा प्रथम पुरस्कार रु.२० हजार, द्वितीय पुरस्कार रु.१५ हजार र तृतीय पुरस्कार रु.१० हजार छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र प्लेयर अफ दि म्याचलाई प्रमाणपत्र र विभिन्न उपहार प्रदान गरिने आयोजकले जनाएको छ ।
एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारी भन्छन्,– ‘सामाजिक उत्तरदायित्व वहन गर्दै हामीले विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाउनुको साथै सहकार्य गर्दै आइरहेका छौं । विगतदेखि नै खेलकुद क्षेत्रलाई सहयोग गर्दै आइरहेकोमा यसपटक युवाहरुलाई फुटसल खेलमा अगाडि बढाउन फुटसल प्रतियोगिता आयोजना गर्न सहकार्य गरेका हौं । आगामी दिनमा यस खालका प्रतियोगिता अगाडि बढाउन हामी सधैँ तत्पर रहने छौं ।’
चितवन जिल्ला फुटबल संघ (एन्फा) ले जिल्लामा खेलकुदका गतिविधि बढाउँदै लगेको छ । जिल्लामा विभिन्न खालका फुटबल प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न एन्फा चितवनले सहयोगी भूमिका निर्वाह गर्दै आइरहेको छ । आफ्नै आयोजना र विभिन्न संघसंस्थाहरुले आयोजना गर्ने प्रतियोगिताहरुमा हातेमालो गर्दै आइरहेको छ । पछिल्लो समय फुटबलसंगै फुटसल समेत लोकप्रिय बन्दै गइरहेकोले फुटसललाई पनि प्राथमिकतामा राखिएको संघले जनाएको छ ।





