भरतपुर, ९ साउन ।
चितवनका १२ वटा लायन्स क्लब तथा ३ वटा लियो क्लबको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आरको कलष्टर ४ अन्तरगतका क्लबहरुको दियालो फुडल्यान्ड क्षेत्रपुरमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व लायन्स क्लब अफ चितवन न्यू भ्वाईसका अध्यक्ष लायन सरिता महर्जनले गरेकी थिइन् । प्रमुख अतिथि तथा लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आरका डिष्ट्रिक्ट गभर्नर लायन आरएस महत्तोले पद तथा गोपनियताको सपथ गराएका थिए भने निवर्तमान अध्यक्षहरुबाट क्लबका सम्पूर्ण जिम्मेवारीहरु नयाँ अध्यक्षहरुलाई सुम्पिएको थियो ।
कुल २७ जनाले लायन्सको नयाँ सदस्यता लिएकोमा संसारका १७२ बढी देशमा ४८ हजार लायन्स क्लब तथा १४ लाखभन्द बढी लायन सदस्यहरु रहेको विश्वको सबैभन्दा ठुलो मानवीय सेवाको कार्यलाई आत्मसात गर्दै “हामी सेवा गर्छौँ” भन्ने नारा बोकेको संस्था रहेको लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आरका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर लायन दिनानाथ न्यौपानेले अवगत गराएका थिए ।
नेपाल लायन्स गुठी (एनएलएफ) र लायन्स ब्लड बैंकको आजीवन सदस्यता लिने लायन सदस्यहरुलाई सम्मान पनि गरिएको थियो ।
सोही अवसरमा लायन्स क्लब अफ बागेश्वरीले रामनगरस्थित विद्यालयमा छात्रवृत्ति वितरण गरेको थियो । त्यस्तै लायन्स क्लब अफ नारायणगढ बालकुमारीले भरतपुर १ मा निर्मित सार्वजनिक शौचालय, कुरुवा घर र यात्रु प्रतिक्षालयका लागि जग्गा उपलब्ध गराउने जलदेवी वन उपभोक्ता समुहलाई सम्मान गरेको थियो । त्यसैगरी `लायन्स अफ द इयर´बाट लायन शेरबहादुर पौडेललाई सम्मान गरिएको कार्यक्रमको संयोजक तथा लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आरका डिष्ट्रिक्ट एक्ज्युकेटिव कोचिफ लायन बालगोपाल चुकेले जानकारी दिए ।





