दूरदर्शी राजनेता बिपीको सम्झना

साउन ६ गते शनिबार देशभरि बिपी जयन्ती मनाइरहँदा बिपी कोइराला र उहाँका पिता कृष्णप्रसाद कोइरालालाई सम्झनेहरू धेरै हुन्छन् । बिपीलाई देखेका–भोगेकाले मात्र नभई कहिल्यै प्रत्यक्ष देख्न, भेट्न नपाएका हामीहरूको पुस्ताले पनि अत्यन्त श्रद्धाभावले स्मरण गर्दछौं । बिपी जयन्तीका सन्दर्भमा विश्वेश्वरप्रसाद कोइरालाका बारेमा केही शब्दहरू कोर्न मन लाग्यो ।
लेखाइका बारेमै स्वयम् बिपी कोइराला भन्नुहुन्थ्यो “लेख्नु र पढ्नुमा फरक पर्दछ । पढ्नु सजिलो कुरा हो, लेख्न बढी मेहनत गर्नुपर्दछ । पढ्नुभन्दा लेख्न गाह्रो छ, किनभने पढ्दा उति बौद्धिक सावधानी आवश्यकता पर्दैन । लेख लेख्दा भने बुद्धिलाई चङ्ख र शान्त राखेर शब्दको सङ्गठन गर्नु पर्दछ । पढ्दा बुद्धिका चेतना सतहलाई मात्र जागृत राखे पुग्दछ तर लेख्दा बुद्धिलाई सचेत र दिमागलाई शान्त राख्न सक्नु पर्दछ । केही न केही गहिरोपन लेखका लागि आवश्यक हुन आउँछ । लेख्दा विचारको सङ्गठन, त्यस्तै आवश्यक कुरा मानिन्छ । किताब पढ्दा अन्यको सङ्गठित विचार पाइन्छ, चम्चाले खाएजस्तै सजिलो हुन्छ । आफैले लेख्नुपर्दा आदिदेखि अन्त्यसम्म आफैले मिहिनेत गर्नु पर्दछ ।” यो बिपी कोइरालाको भनाइमा लेखाइको यथार्थ लुकेको छ ।
बिपी कोइरालालाई हामी २००३ सालदेखि देश र जनताका लागि राणा विरुद्धको अभियानमा जुटाउन साङ्गठनिक रूपमा २००७ साल, २०१५ साल, जनमतसङ्ग्रहजस्ता अनेकौं कालखण्डका नायकका रूपमा लिने गर्दछौं ।
बिपी कोइरालाको पारिवारिक पृष्ठभूमि
वि.सं. १९७१ भाद्र २४ गतेका दिन भारतको वनारसमा माता दिव्या र पिता कृष्णप्रसादको कोखबाट पहिलो सन्तानको रूपमा यस धराधाममा जन्म लिनुभएका बिपी कोइराला पिता कृष्णप्रसाद कोइरालको भने दोस्रो सन्तानका रूपमा लिइन्छ । दिव्या कोइराला कृष्णप्रसाद कोइरालाकी दोस्रो पत्नी हुनुहुन्थ्यो । विधिको विडम्बनालाई कसले टार्न सक्छ र ? छोटो जीवनको यात्रा लिएर आएका बिपी कोइराला क्यान्सरजस्तो भयानक रोगबाट २०३९ साल साउन ६ गते यस धर्तीबाट सबैलाई रुवाएर बिदा लिनुभएको थियो ।
आफ्ना हजुरबुबाका बारेमा आमाबाट मात्रै सुन्न पाएका बिपीले आफ्ना पिताजी कृष्णप्रसाद कोइरालाका बारेमा भने आफैले भोग्न र देख्न पाएका थिए । आफ्ना पिताजी र माताजीको विलक्षण प्रभाव नै बिपीमा परेको थियो । बिपीका पिताजी कृष्णप्रसाद कोइराला पहाडको गाउँबाट मधेश बसाइँ झरेका थिए । आमाको प्रेरणाले र आफ्नै मेहनतले पढ्न सुरु गरेको प्रसङ्ग बिपीले सम्झनु हुन्छ । त्यो समयमा पनि बिपीका पिताजी कृष्णप्रसाद कोइरालाले फारसी र संस्कृत मात्र नभई अङ्ग्रेजीसमेत सिक्नका लागि काठमाडौं बस्दा ब्रिटिश लिसेसी मद्रासी टुइटरको सहायताले अङ्ग्रेजी सिक्नु भएको थियो । यतिमात्र होइन कृष्णप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय खबरहरू पनि थाहा पाउनु पर्दछ भने उनले हिन्दुस्तानका पत्र–पत्रिकाहरू मगाएर पढ्नु हुन्थ्यो । यी सब कुराहरू देखेर बिपी “बुबाले कसरी सोच्नु भएको होला ?” भनेर छक्क पर्नुहुन्थ्यो । यस्ता अनेकौं कुराहरूले गर्दा पनि बिपीबाबुले आफ्ना पिताजीसँग विलक्षण प्रतिभा थियो भनेर सम्झनु हुन्छ । बिपीका पिताजीले नै विराटनगरमा पहिलो अस्पताल खोल्नु भएको थियो भने संस्कृत स्कुल पनि खोलेर ६० जना विद्यार्थीहरू पढाएको स्मरणसमेत गर्नुहुन्छ । यसरी सबै कुराहरू चलिरहेको समयमा कृष्णप्रसाद कोइरालाले गरेका कार्यहरू राणा सरकारलाई मन परेको थिएन । आफ्ना हितैषीको सुइँकोमा चलिरहेको सबै घर–परिवार, बन्द–व्यापार छाडेर पिताजी मुग्लान पस्नुभयो । त्यसको केही समयमैं कोइराला परिवारका सबै जना भागाभाग गरेर भारत प्रवासमा पसेका थियौं भनेर सम्झना गर्नुहुन्थ्यो बिपी। आफ्नो सारा सम्पत्ति छोडेर भारतमा बिताएका बाह्र वर्षको दुःखद क्षण, “भिजाएको चनामा नून मात्र राखेर माताजीले हामीलाई दिनुहुन्थ्यो” भन्ने सम्झनाका हरफहरू बिपीका कृतिहरूमा पढ्न पाइन्छ ।
राष्ट्रियता, समाजवाद र लोकतन्त्रका पक्षमा वकालत गरी साधारण जनताका छोराछोरीले पनि पढ्न पाउनुपर्छ, आफ्नो अधिकार पाउनु पर्दछ, मनमा लागेका कुराहरू अभिव्यक्त गर्न पाउनु पर्दछ भनेर राणाको विरुद्धमा आन्दोलन उठेको थियो । बिपीले राणा शासन विरुद्ध आफ्ना पिताजी कृष्णप्रसाद कोइरालाले जनताका थोत्रा कपडा पोको पारेर पार्सल गरी राणा प्रधानमन्त्री चन्द्रशमसेर कहाँ पठाएका कुराले उहाँमा हौसला मिलेको थियो । “देश र जनता रहे मात्र हामी रहन्छौं” भनेर बिपी देश र जनताका लागि आफ्नो जीवनकालभर निरन्तर लडिरहनु भयो । बिपी कोइराला “व्यक्तिलाई स्वतन्त्रता चाहिन्छ । उसलाई अनेकौं अङ्कुशले बाँधेर राख्न हुन्न । जबसम्म व्यक्तिको प्रगति हुँदैन, तबसम्म समाज र राष्ट्रको प्रगति सम्भव छैन” भन्ने कुरामा सधैं कटिबद्ध हुनुहुन्थ्यो । यसै गरी “हाम्रा विभिन्न नियम, कानुन र संस्कारले जकडिएको समाजबाट व्यक्तिलाई ऊभित्रको क्षमता बाहिर निकाल्न प्रयास गर्नुपर्छ । व्यक्तिको क्षमता नै सबैभन्दा ठूलो कुरा हो” भन्ने बिपीलाई सधैं लाग्दथ्यो । “प्रत्येक व्यक्तिलाई स्वतन्त्रताका साथ अगाडि बढाउन राज्यले पहल गरोस्” भन्ने कुरा बिपीको सिद्धान्त र व्यावहारिक पक्ष मानिन्छन् । त्यसैले बिपी “व्यक्तिका आधारभूत आवश्यकता – गाँस, वास, कपास, स्वास्थ्य र शिक्षामा राज्यले नै जिम्मा लिनु पर्दछ” भनेर जोड दिनुहुन्थ्यो । यसै गरी “राज्यका प्रत्येक एक–एक नागरिकसमक्ष भए भने मात्र सिङ्गो राष्ट्र सबल बन्न सक्छ” भन्ने बिपीको भनाइ थियो ।
बिपीलाई किन सम्झने ?
सानै उमेरबाट तीक्ष्ण बुद्धि र दूरदृष्टि राख्न सक्ने बिपी कोइराला आफ्ना पिता कृष्णप्रसाद कोइराला र माता दिव्यादेवी कोइरालाबाट शिक्षा, दीक्षा प्राप्त गरेको थियो । आफ्ना मातापिताबाट प्राप्त सकारात्मक मार्गदर्शनले बिपीमा थप विलक्षण प्रतिभा प्रस्फुटित भएको थियो । परिवारको सर्वस्व हरणपछि भूमिगत रूपमा भारतको प्रवासमा जीवन बिताइरहनु भएका बिपी जोखिम मोलेरै दुईपटकसम्म काठमाडौं आउनुभएको थियो । २००७ सालको क्रान्तिमा विराटनगरमा सुरु भएको मोर्चाको बागडोर आफैले समाल्नु भएको थियो । महात्मा गान्धीबाट प्राप्त प्रेरणाले गर्दा बिपी कोइरालाले भारतको स्वतन्त्र सङ्ग्राममा समेत सहभागी भइरहँदा यही सङ्ग्राममा भारतीय जेलमा समेत पर्नुभएको थियो बिपी । त्यसैगरी २०१५ सालको पहिलो जननिर्वाचित सरकारको नेतृत्व बिपीले गरेको थियो । त्यस समयमा बिपीकै नेतृत्वमा दुईतिहाई बहुमतको सरकार बनेको थियो । त्यस समयमा नेपाली कांग्रेसका तत्कालीन सभापति बिपी कोइरालाको मन्त्री परिषदको पहिलो बैठकले नै प्रधानमन्त्रीको तलब रु. २,५०० बाट घटाएर रु. १,५०० र मन्त्रीहरूको तलब १,५०० बाट घटाएर १,००० बनाएर देशको अर्थतन्त्रलाई बलियो बनाएर देश विकास गर्ने हेतुका साथ यो कदम चालिएको मानिन्छ । १०९ सदस्यीय प्रतिनिधि सभामा १९ सिट जितेको राष्ट्रिय गोर्खा परिषदका नेता भरत शमशेरलाई बिपीको जोडबलले प्रमुख प्रतिपक्षी दलको नेता बनाइएको थियो । “राज्य सञ्चालनमा प्रतिपक्षको नेता र भूमिका अत्यन्तै महत्त्वपूर्ण हुन्छ, किनकि सरकारलाई खबरदारी गर्नुपर्दछ“ भन्ने बिपीको भनाइ थियो । यतिमात्र नभई जम्मा ४ सिट जितेको कम्युनिष्ट पार्टीका सदस्यलाईसमेत उच्च प्राथमिकतामा राखिएको थियो । बिपीले आफ्नो छोटो कार्यकालमा थुप्रै प्रशंसनीय कार्यहरू गरेका पाइन्छ । जस्तै ः विर्ता र राजा–रजौटाको उन्मूलन, क्रान्तिकारी भूमिसुधार, राष्ट्रियकरण, समाजवादी सिद्धान्तबमोजिम धनीलाई बढी कर लगाउने र गरिबका लागि लोककल्याणकारी योजनाको प्रारम्भ भएको थियो । यति मात्र होइन नेपालको भूराजनीतिलाई बुझेर भारत र चीनसँन्ग सन्तुलित परराष्ट्र नीति अवलम्बन गरिएको थियो ।
बिपी “राष्ट्र र जनतालाई धोका दिएर कुनै सम्झौता गर्नु हुन्न” भन्नुहुन्थ्यो । त्यसैले त चीनका तत्कालीन राष्ट्र प्र्रमुख प्रधानमन्त्री सिजिङपिङ र भारतका प्रधानमन्त्री जवाहरलाल नेहरू, इन्दिरा गान्धीजस्ता नेतृत्वसँग कहिल्यै झुक्नु भएन । अझ बिपीको निडर स्वभाव र आफ्नो राष्ट्रालई हेपेको नसहने साथै उचित प्रतिकार गर्न सक्ने क्षमताका कारण भारतका नेताहरू र चीनका नेतृत्वकर्ता पनि उहाँसँग हच्किन्थे । सगरमाथाका विषयमा चीनसँग बिपीले दह्रो तरिकाले भन्नु भएको छ भने भारतका प्रधानमन्त्रीले समेत उहाँसँग माफी माग्नुपरेको थियो ।
देश र जनताकै निमित्त भनेर बिपीले अर्काको देशमा बसेर अरूसँग घाँटी जोड्नुभन्दा आफ्नै देश र जनताका लागि जे परे पनि सहन्छु भनेर २०३४ सालमा मेलमिलापको नारा लिएर आपूmमाथि ज्यानमुद्दाका कारण फाँसी हुने सम्भावना हुँदाहुँदै पनि देश फर्कनु भएको थियो ।
बिपीको बारेमा विभिन्न व्यक्तित्वका केही संस्मरणहरू
राजा महेन्द्र प्रायः भन्ने गर्थे “बिपीजस्तो दुनियालाई देखाउन लायक अर्को प्रधानमन्त्री सायद मैले मेरो जीवनकालमा देख्न पाउने छैन ।” जनताको अपार माया (दुई तिहाई बहुमत) पाई निर्वाचित प्रधानमन्त्री बिपीलाई अपदस्त गर्ने राजा महेन्द्रले नै उनका बारेमा तारिफ गरेर सम्झना गर्ने कुरा तत्कालीन राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष नवराज सुवेदी र शाही चिकित्सक डा. मृगेन्द्रराज पाण्डेले सुनाएका थिए भन्ने पुस्तकमा पढ्न पाइन्छ । पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टले पनि विभिन्न अन्तर्वार्तामा समेत बिपी कोइरालालाई तत्कालीन राजा महेन्द्रले मनपराएका प्रसङ्गहरू सुनाएका थिए । कोइराला परिवारकै सदस्य तथा वामपन्थी नेता कमल कोइरालाको बुझाइमा पनि १८ महिनाको छोटो शासनकालमा भएका काम हेर्ने हो भने पनि “वी.पी. एक नम्बरका राजनेता हुन्” भनेका थिए ।
स्व. नेता मदन भण्डारीको स्मरण गर्दै कमल कोइरालाले भनेका छन् “कुराकानीमा मात्र होइन, प्रकाशित अन्तर्वार्तामा समेत “बिपी नै आफ्नो मनपर्ने नेता भन्नुभएको छ” भनेर । पूर्व सभामुख सुवास नेम्वाङले “पहिलो संसद प्रधानमन्त्री वी.पी. र राजा महेन्द्रको टकराव भएको” विमोचन कार्यक्रममा भनेका थिए । बिपीलाई घरी “राजासँग घाँटी जोडिएको, घरी भारतसँग घाँटी जोडिएको भनेर हामीले बुझ्ने गरेका थियौं तर बिपीको घाँटी न भारतसँग जोडिएको रहेछ, न त राजासँग । हामीले बिपीलाई गलत बुझ्दै आयौं । बिपी कोइराला राष्ट्रियता र प्रजातन्त्रको पक्षमा कसैसँग सम्झौता नगर्ने राजनेता थिए” भन्नुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि उहाँ आफै “पहिलोपटक सुन्दरीजल पुग्दा बिपीलाई राखेको जेल अवलोकन गर्ने क्रममा बिपीले लगाएको कोट सुम्सुम्याउँदै आपूm उहाँबाट प्रभावित भएकाले मनपर्ने नेताको रूपमा बिपीलाई मान्ने गर्छु” भनेर अभिव्यक्ति दिएका थिए ।
बिपीको साहित्यिक यात्रा
बिपीराजनीतिक नेतृत्व लिने मात्र नभई अन्य प्रशस्त प्रतिभाका पनि धनी हुनुहुन्थ्यो । उहाँलाई साहित्यकारका रूपमा पनि सबैले चिन्दछन् । राजनैतिक क्षेत्रमा बिपी कोइरालाको नामले परिचित उहाँ साहित्यिक क्षेत्रमा भने विश्वेश्वरप्रसाद कोइरालाको नामले प्रख्यात हुनुहुन्छ । विश्वेश्वरप्रसाद कोइराला साहित्यको हरेक विधामा कलम चलाउन सक्ने प्रतिभावान् व्यक्तित्व मानिन्छ । विश्वेश्वरप्रसाद कोइरालालाई नेपाली साहित्यका पाठकहरूले राजनीतिज्ञभन्दा पहिले नै साहित्यकारका रूपमा परिचित बनेकोे पाइन्छ । हिन्दी कथाबाट साहित्यलेखन सुरु गरी वहाँ ‘पथिक’, ‘भैयादाइ’ आदि दर्जनौँ हिन्दी कथा, कविता लेखे र नेपाली साहित्याकाशमा १९९२ सालमा ‘चन्द्रवदन’ कथा प्रकाशन गरेर चम्किला ताराको रूपमा उदाएको मानिन्छ ।
विश्वेश्वरप्रसाद कोइरालालाई साहित्यका सबै विधामा पोख्न मानिन्छ । उहाँका सबै खाले पुस्तकहरू प्रकाशित भएका छन् । बिपीले कथा लेख्नुभन्दा पहिलेका कथाहरूले लोग्ने–स्वास्नीका घर–झगडाको चित्रण गर्थे । घरमा पत्नी चरित्रवान् भए सबै समस्याको समाधान हुन्छ भन्ने मध्यमकालीन विचार प्रवाह थियो । तर बिपीले कथाका उत्कृष्टताबाहेक कुनै नैतिक दर्शनको आवश्यकता पर्दैन भन्ने कुरा चन्द्रवदन (१९२२) कथा लेखेर प्रमाणित गरेको पाइन्छ । विश्वेश्वरप्रसाद कोइरालाले नारीका मनभित्रका सङ्घर्षहरूलाई कथाको विषय बनाउने कारणले नै कथाको संरचना पनि परिवर्तन भयो भन्ने भनाइ पाइन्छन् ।
बिपीका दोषी चश्मा, श्वेत भैरवी कथासङ्ग्रह छन् । त्यसैगरी तीन घुम्ती, नरेन्द्र दाइ, सुम्निमा, मोदिआइन, हिटलर र यहुदी, बाबु; आमा र छोराजस्ता उपन्यासलगायतका पुस्तकहरू प्रकाशित छन् । उपन्यासमा भने बिपीका आफ्नै विचारहरू पाइन्छ । छुट्टाछुट्टै विषयवस्तु र नयाँ विचारहरू उहाँको लेखनकलामा हुने विशषता हुन् । विश्वेश्वरप्रसाद कोइरालालाई मनोवैज्ञानिक आख्यानकारका रुपमा मानिन्छ । उहाँका आख्यानमा सामाजिक विचार, महिला नै महिला विरोधी रहेको चित्र, समाजमा छुवाछुतको समस्यालाई आफ्ना पुस्तकहरूमा समावेश गर्नसक्नु ठूलो कुरा मानिन्छ । जुन कुरा आजका २१औं शताब्दीमा आइपुग्दासमेत त्यही परिवेश र परिस्थितिले समाज जकडिएको पाइन्छ ।
मानिसहरू भन्दछन् विश्वेश्वरप्रसाद कोइरालामा दूरदृष्टि र इतिहास सचेत थियो । त्यसैले आजभन्दा ५०–६० वर्षपहिले उनले भनेका कुराहरू आज सत्य सिद्ध हुँदैछन् । यसैले उहाँलाई सिद्धहस्त लेखक तथा स्वप्न द्रष्टाका रूपमा मानिन्छ । उहाँका लेखनमा विषयवस्तुको प्रस्तुति र त्यसलाई उठान गरी प्रस्तुत गर्ने गजबको शैली थियो । त्यस्तो खुबी (शैली) विश्वइतिहासका लिङ्कन, चर्चिल, महात्मा गान्धी, नेहरू आदिमा मात्र थियो भन्ने पढ्न पाइन्छ । चर्चिलले त प्रथम विश्वयुद्धदेखि नै युद्धको यस्तो विशद वर्णन प्रस्तुत गरे जसको कारण उनी नोबेल पुरस्कारबाट पुरस्कृत हुन पुगे । यसैले कुनै पनि राजनेतामा राजनीतिका साथै साहित्यिक चेत हुनु भनेको दुर्लभ कुरा हो भन्ने मानिन्छ । त्यस किसिमको खुबी विश्वेश्वरप्रसाद कोइरालासँग पाइन्छ ।
निष्कर्ष
नेपाली राजनीतिमा विश्वेश्वरप्रसाद कोइराला एक दूरदर्शी राजनेता हुनुहुन्थ्यो । उनले देश र जनताका हक, हित र अधिकारका लागि राणा तथा शाहवंशीय शासकहरूसँग सङ्घर्ष गरेका थुप्रै इतिहासका घटनाक्रमले बताउँछन् । उनमा जनताले आफ्नो बोल्ने अधिकार पाउनुका साथै निःशुल्क शिक्षा र स्वास्थ्यको ग्यारेन्टी राज्यले नै गर्नुपर्छ भन्ने चेत थियो । बिपीले छिमेकी भारत र चीनजस्ता ठूला र शक्तिशाली राष्ट्रको अगाडि आफ्नो देशको स्वाभीमानलाई ठाडो बनाएका थिए । देशद्रोहको मुद्दा लाग्दा पनि आफ्नै देशमा मर्छु तर अरूको देशमा शिर झुकाएर बस्दिन भनी मेलमिलापको नीति लिएर देश फर्कने आँट गर्ने आँटिला राजनेता हुनुहुन्थ्यो । आफ्नो १८ महिने प्रधानमन्त्रीत्व कालमा देश र जनताको भलो मात्र नगरी परराष्ट्र नीतिलाई मजबुत बनाई छिमेकी राष्ट्रहरूसँग मैत्रीपूर्ण सम्बन्ध स्थापित गराउनसमेत सफल भएका थिए ।
विश्वेश्वरप्रसाद कोइरालाले पहिलो राजनैतिक पर्चाको निर्माण गर्नुका साथै सङ्गठन निर्माण आह्वानदेखि आखिरी पर्चा ‘अन्तिम सन्देश’ सम्म आइपुग्दा उहाँ राजनीतिक आरोह–अवरोहका चार दशक खुल्ला किताब बन्न पुगेका छन् । बिपी कोइराला एक सङ्घर्षशील, आदर्शवादी नेता मात्र नभई एक प्रसिद्ध साहित्यकार पनि हुनुहुन्थ्यो । आफ्नो व्यस्त राजनीतिक जीवन र तनावपूर्ण परिस्थितिमा पनि उनले नेपाली साहित्यका विभिन्न विधाहरूमा कलम चलाई नेपाली साहित्यजगत्मा विशिष्ट स्थान प्राप्त गर्नु भएको छ । उनले आपूmलाई राजनीतिमा प्रजातन्त्रवादी भने साहित्यमा अराजकतावादी मान्नु हुन्थ्यो । उहाँका उपन्यास, कथा, दैनिकी र संस्मरणसम्बन्धी थुपै्र रचना प्रकाशित भएका छन् । यसैले विश्वेश्वरप्रसाद कोइराला नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी सेनानीका साथै महान् प्रजातन्त्रवादी, प्रखर राष्ट्रवादी, कुशलवक्ता, आदर्शवादी, महान् देशभक्त, कार्यकर्ताका प्रिय नेता, गम्भीर आध्यात्मिक विश्लेषक र सफल साहित्यकारका रुपमा चिनिन्छ । यस्ता व्यक्तित्वकोे २०३९ साल साउन ६ गतेका दिन निधन भएपछि नेपालले एक बहुआयामिक नक्षत्र गुमाउनु परेको थियो ।
राजनीति गर्नेहरूका साथै सबैले बिपी कोइरालाका कृतिहरू पढ्नु आवश्यक छ भन्ने भनाइमा सहमत जनाउँदै उहाँको आत्मवृत्तान्त, जेलजर्नलजस्ता पुस्तकहरूमा उनले आफ्ना जीवनमा भोगेका र गरेका सम्पूर्ण यथार्थ चित्रणहरू पस्किएका कारणले पनि यस्ता पुस्तकहरूको अध्ययनले राजनीतिज्ञलाई असल बाटोमा लाग्न प्रेरणा मिल्नसक्छ । बिपीबाट लेखिएका साहित्यिक कृतिहरूभित्र सबैखाले परिवेश, परिस्थिति, देश र जनतालाई मिल्ने चित्रण गरिएको पाइन्छ ।
बिपीका अनुयायी मान्ने नेपाली कांग्रेसका लागि उनले देखाएको बाटो, देखेको तथा चित्रित गरेको देश र जनताको सपनालाई सच्चा मनले मनन गर्दै गुट–उपगुट र पार्टीभन्दा माथि उठेर सोच्ने बेला आएको छ र नैतिक जिम्मेवारी वहन गरी समृद्ध राष्ट्र बनाउनका लागि विगतका गल्ती–कमजोरीहरूलाई बिर्सिएर जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्नका लागि राज्यलाई नै सक्षम बनाउनका लागि आफ्नो आचरणलाई सुधार गर्न सके मात्र विश्वेश्वरप्रसाद कोइरालाप्रति सच्चा स्मरण हुनेछ ।
bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट