कविता बुझ्न जटिल छ, लेख्न कठिन । अझ छन्दमा कविता लेख्न त झन् कठिन । यही कठिन बाटोबाट सरलरुपमा छन्देली कवितामा उम्रिएका नवप्रतिभा हुन् कवि पदम अर्याल । लामो समयदेखि शिक्षण पेशामा आबद्ध अर्याल पहिलो साहित्यिक कृति ‘अङ्कुरण’ कवितासङ्ग्रह लिएर छन्देली कवितायात्रामा देखा परेका हुन् ।
२०३१ साल जेठ १५ गते पाँचथर जिल्लाको फिदिममा जन्मिएका अर्याल अहिले सपरिवार भरतपुर–९ मा बस्छन् । अढाई दशकदेखि शिक्षण पेशामा जोडिएका अर्याल सँस्कृतमा रुचि राख्छन् । सम्पूर्णानन्द सँस्कृत विश्वविद्यालय बनारसबाट २०४८ सालमा पूर्वमध्यमा (एसएलसीसरह) उत्तीर्ण गरेका उनले धरानस्थित पिण्डेश्वर विद्यापीठबाट २०५३ सालमा शास्त्री (स्नातकसरह) को पढाई पूरा गरे । जागिरको सिलसिलामा चितवन आइपुगेका उनले २०५४ र ५५ सालमा भरतपुरस्थित कृषि सामग्री संस्थानमा लेखा तथा प्रशासकीय अधिकृतका रुपमा काम गरे ।
२०५६ सालबाट शिक्षण पेशामा जोडिएका अर्यालले २०५७ सालमा बालकुमारी कलेजबाट एकवर्षे बिएड गरे । २०५८ सालमा उनले वीरेन्द्र बहुमुखी क्याम्पसबाट नेपाली विषयमा एमए (स्नातकोत्तर) पूरा गरे । चितवन इंग्लिस बोर्डिङ स्कुलबाट नेपाली शिक्षकका रुपमा कार्यरत अर्यालले हाल खैरहनी नगरपालिकास्थित भुवानीशंकर बहुमुखी क्याम्पसमा नेपाली विषय पढाउँछन् । नेपाली विषय साहित्यसँग जोडिएको विषय भएकोले पनि उनी कवितातिर मोडिए । २०५४ साल वैशाख १ गते चितवन साहित्य संगमले आयोजना गरेको जिल्ला स्तरीय कविता प्रतियोगितामा उनले दोस्रो स्थान बनाएका थिए ।
भरतपुरमा रहेको तत्कालीन सिद्धार्थ शिक्षा सदनका तीन जना संस्थापकमध्ये एक अर्याल पनि हुन् । आठ वर्ष सिद्धार्थमा पढाएको उनले जानकारी दिए । शिक्षा र साहित्यका अतिरिक्त समाजसेवामा क्रियाशील अर्यालले विभिन्न सामाजिक संस्थामा रहेर काम गर्दै आएका छन् । उनी चितवन साहित्य परिषद्को कोषाध्यक्ष एवं आजीवन सदस्य र नेपाली लेखक संघ, चितवन शाखाको सहसचिव हुन् ।
आफ्नो कवितायात्राबारे कवि अर्याल भन्छन्, ‘म जन्मेको जिल्ला पाँचथरको फिदिमका वनपाखामा गुञ्जिने लोकगीत, लोकभाका, हजुरबाले पाठ गर्ने स्तोत्र, गुरुकुलमा पढिएका ऋचा, सप्तसती चण्डीका मन्त्र, औपचारिक शिक्षा हासिल गर्ने सन्दर्भमा अध्ययन गरिएका सँस्कृत साहित्यका पद्यकाव्यहरु, नेपाली साहित्यका भानुभक्तदेखि कविवर गोविन्दराज विनोदीसम्मका पद्यकाव्यको प्रभाव र प्रेरणा नै मेरो काव्यरचनाको धरातल हो ।’
‘अङ्कुरण’ का स्रष्टालाई चिठी शीर्षकमा पुस्तकको भूमिका लेखेका वरिष्ठ कवि गोविन्दराज विनोदीले कवि अर्यालमा आध्यात्मिक चेतनाको प्रबलता रहेको बताए । ‘अङ्कुरण कवितासंग्रहका कविताहरुमा विषयवैविध्य भए पनि मूलतः राष्ट्रप्रतिको असीम श्रद्धाभाव प्राथमिकतामा रहेको देखापर्दछ’ पुस्तकको भूमिकामा कविवर विनोदी लेख्छन्, ‘नेपाल राष्ट्र अखण्ड रहोस्, नेपाली जनता समृद्ध बनून्, हाम्रो प्राचीन कला, सँस्कृति र वाङ्मयका धरोहरहरु जीवन्त रहून्, युगानुकूल अग्रगमनमा राष्ट्रिय राजनीति लागोस्, निष्ठा, नैतिकता, न्याय, समानता, सद्भाव, सहिष्णुता, सेवा, त्याग, परोपकार, सहयोग, सदाशयताजस्ता तत्वहरु हरेकका मनमा प्रष्फुटित हुँदै जाऊन्, प्रकृतिको संरक्षण होस्, जीवनशैली सरल र स्वस्थ रहोस्, परिवार, समाज प्रेममय बनोस्, ईष्र्या, द्वेष, घृणा, अहङ्कार, स्वार्थ तथा नकारात्मक प्रवृत्तिहरु नष्ट हुँदै जाऊन् भन्ने उदार भावना कविताहरुले बोलिरहेका छन् ।’
के छ ‘अङ्कुरण’ मा ?
चितवन साहित्य परिषद्ले प्रकाशन गरेको यस कवितासंग्रहमा ३० वटा कविता र अन्तिममा छन्द–परिचय खण्डसमेत छ । कृतिको थालनी अनुष्टुप छन्दमा लेखिएको मंगलाचरणबाट भएको छ । शार्दूलविक्रीडित छन्दमा लेखिएको कवि शीर्षकको दोस्रो कवितामा कविको गुणगान गाइएको छ । तेस्रो कविता हिमाल उपजाति छन्दमा लेखिएको छ । पञ्चचामर छन्दमा लेखिएको अर्को कविता हो, म बोल्छु देश छन्दमा । यो कविताले देशभक्तिको भाव बोकेको छ ।
पाँचौँ र छैठौँ कविता स्रग्धरा छन्दमा लेखिएको छ । मन्दाक्रान्ता छन्दमा लेखिएको मेघदूत कवितापछि शिखरिणी छन्दमा लेखिएको विगत आगत रहेको छ । यो पुस्तकभित्रको सबैभन्दा लामो कविता पनि हो । स्रग्धरा छन्दमा लेखिएको मेरो जन्मस्थल कवितामा कविले आफ्नो जन्म भएको जिल्ला पाँचथरको रोचक वर्णन गरेका छन् । स्रग्धरा छन्दमा लेखिएको छैन केही अपूर्ण शीर्षकको कवितामा कविले आफू स्थायी बसोबास गरिरहेको जिल्ला चितवनको विशेषता वर्णन गरेका छन् ।
अङ्कुरण कवितासंग्रहभित्र रहेका अन्य कवितामा देशमा स्वर्ण फल्छ (मालिनी), ग्रन्थशाला (भुजंगप्रयात), नवदृष्टि (तोटक), सुवासिनी (वंशस्थ), स्वस्थ जीवन सूत्र (अनुष्टुप), राष्ट्र मर्छ है (अनुष्टुप), एम.सी.सी. (अनुष्टुप), दिल दुख्छ नि बेस्सरी (अनुष्टुप), जान्छ है घरबार यो (अनुष्टुप), गर्जन्छ शार्दूलझैँ (शार्दूलविक्रीडित), नव वधुशिक्षा (मन्दाक्रान्ता), सङ्कष्टको सामना (शार्दूलविक्रीडित), आमाको पुकार (मन्दाक्रान्ता)लगायत छन् ।





