भरतपुर, २ असार ।
उद्योग वाणिज्य संघ–चितवनका सदस्य उद्योगी व्यवसायीलाई कलेज अफ मेडिकल साईन्स टिचिङ हस्पिटल भरतपुर (पुरानो मेडिकल कलेज) ले स्वास्थ्य सेवामा सहुलियत दिने भएको छ । उद्योग वाणिज्य संघ–चितवन र हस्पिटलबिच सोमबार छुट दिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
उद्योग वाणिज्य संघ–चितवनले संघको संस्थागत उत्तरदायित्व अन्तर्गत संघमा आवद्ध सदस्य व्यवसायीलाई उक्त छुट दिने व्यवस्था गरिएको संघका अध्यक्ष चुननारायण श्रेष्ठले बताए । श्रेष्ठले आफ्ना सदस्यलाई दिने सेवासुविधा वृद्धि गर्नको लागि संघ प्रयत्नशील रहेको बताउ“दै स्वास्थ्य सेवा सहुलियत उपलब्ध गराउने कलेज अफ मेडिकल साईन्स टिचिङ हस्पिटल भरतपुरलाई आभार व्यक्त गरे ।
कार्यक्रमममा कलेज अफ मेडिकल साईन्स टिचिङ हस्पीटल भरतपुरका निर्देशक मनोहर प्रधानले उद्योग वाणिज्य संघ–चितवनमा आवद्ध सदस्यलाई सेवा सुविधा दिन पाउ“दा खुशी लागेको बताउ“दै आगामी दिनहरूमा पनि यस किसिमका छुट उपलब्ध गराउ“दै लैजाने बताए ।
सहुलियत सुविधा प्राप्त गर्नको लागि उद्योग वाणिज्य संघ–चितवनमा आवद्ध सदस्यहरूले संघबाट उपलब्ध गराइएको सदस्यता परिचयपत्र देखाउनु पर्ने र संघको सदस्यता नवीकरण भएको हुनुपर्ने संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए । निर्देशक केसीले संघले अन्य व्यावसायिक प्रतिष्ठानहरूमा समेत सदस्यको लागि छुट सेवा उपलब्ध गराउन तयारी भइरहेको बताए ।
सदस्यहरूले ओपिडी सेवामा २५ प्रतिशत, आइपिडी सेवामा १५ प्रतिशत, रेडियोलोजी सेवामा १० प्रतिशत र फार्मेसीमा ५ प्रतिशत छुट पाउने संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले बताए । सदस्य व्यवसायीका परिवारका अन्य सदस्यहरूले समेत सो सुविधा प्राप्त गर्ने उनले बताए ।
सम्झौतापत्रमा संघका अध्यक्ष चुननारायण श्रेष्ठ र कलेज अफ मेडिकल साईन्सेस टिचिङ हस्पिटल भरतपुरका निर्देशक मनोहर प्रधानले हस्ताक्षर गरेका छन् । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष चिरञ्जीवी सुवेदी, कार्यसमिति सदस्य नारायण प्रधान, लिलबहादुर क्षेत्री, कार्यकारी निर्देशक नीलबहादुर केसी, कलेज अफ मेडिकल साईन्सेस टिचिङ हस्पिटल भरतपुरका दुर्गाप्रसाद न्यौपानेको उपस्थिति रहेको थियो ।





