अनुगमनमा उत्रियो भरतपुर महानगर

भरतपुर, २ साउन
नयाँ आर्थिक वर्ष शुरु भएसँगै भरतपुर महानगरपालिकाले बजार अनुगमनलाई पुनः सुरु गरेको छ । बजारमा अखाद्य वस्तुको खुलेआम बिक्री भइरहेको लिखित उजुरी महानगरको उजुरीपेटिकामा आएपछि महानगर अनुगमनमा उत्रिएको हो ।
‘मंगलबार बिहान महानगरको उजुरीपेटिकामा एक जना सेवाग्राहीले गोप्य तरिकाबाट लिखित उजुरी हालेपछि महानगरले तत्काल बजार अनुगमनमा जाने निर्णय गरेको हो’ बजार अनुगमन समिति संयोजक एवं महानगर उपप्रमुख चित्रसेन अधिकारीले भने ।

अघिल्ला आर्थिक वर्षहरुमा गरिएको बजार अनुगमन निकै प्रभावकारी भएको उल्लेख गर्दै उपप्रमुख अधिकारीले चालु आर्थिक वर्षमा पनि बजार अनुगमनले थप निरन्तरता पाउने टिप्पणी गरे । यो वर्ष महानगरले बजार अनुगमनलाई अझ सशक्त रुपमा लैजाने तयारी गरी काम गर्न शुरु गरेको उनले प्रष्ट पारे ।
अनुगमनमा भरतपुर १० का अध्यक्ष परमेश्वर खनाल, बजार अनुगमन समितिका सदस्य विष्णुबहादुर भुजेल, खाद्य प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलयकी खाद्य निरीक्षक बन्दना पन्त, उपभोक्ता हित संरक्षण शाखा तथा शासकीय सुधार इकाइका अधिकृत ठानेश्वर सापकोटा, नगर प्रहरी लगायतको उपस्थित रहेको थियोे ।

अनुगमन समितिले भरतपुर १० मा रहेका पानीपुरी बनाउने २ वटा साना उद्योग, अस्पतालरोडमा रहेको न्यू थकाली होटल एण्ड तन्दुरी रेष्टुरेन्ट र छहारी तन्दुरी होटलको अनुगमन गरेको छ । अनुगमनका क्रममा पानीपुरी उद्योगहरु दर्ता नगरी संचालन गरिएको, पानीपुरी बनाउन प्रयोग गरिने मसला, अमिलो र रङमा अखाद्य पदार्थ भेटिएको छ । होटल तथा रेस्टुरेन्टमा अखाद्य तेल प्रयोग भएको, सरसफाइमा ध्यान नदिएको, भान्छामा खाना पकाउँदा सावधानी नअपनाइएको पाइएको छ ।

भरतपुर १० स्थित पुरानो ज्ञानदर्शन सडक र सप्तगण्डकीचोक नजिकै रहेको २ वटा पानीपुरी बनाउने साना उद्योग हालका लागि बन्द गराइएको वडा अध्यक्ष परमेश्वर खनालले जानकारी दिए । ‘दुबै पानीपुरी उद्योग बन्द भएका छन्, अब सरसफाइ गरेर प्रक्रिया पु¥याएर आएको खण्डमा हेरफेर गर्न सकिन्छ’ अध्यक्ष खनालले भने ।
स्वच्छ एवं उपभोक्तामैत्री व्यापारिक क्रियाकलापका लागि महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले अनुगमनलाई निरन्तरता दिएको हो । बजारको नियमित अनुगमनका लागि महानगरले निरीक्षण अधिकृत र अनुगमन टोली बनाएर बजारको व्यवस्था हेर्ने कामलाई तीब्र बनाएको हो ।
‘अनुगमनमा खाद्यान्न, तरकारी, मरमसला, फलफुल, माछा, मासु, दूध तथा दूग्धजन्य खाद्यवस्तुको मूल्य र गुणस्तर हेर्ने गरिएको छ’ बजार अनुगमन समितिका सदस्य विष्णुबहादुर भुजेलले भने, ‘यतिमात्र नभई सबै प्रकारका क्षेत्रहरुको पनि महानगरले छड्के अनुगमन गर्ने छ ।’
उपभोग्य सामान मात्र बिक्री वितरण गराउन सकियोस् भन्ने उद्देश्यले अनुगमनलाई तीब्र बनाइएको भरतपुर महानगरपालिकाले जनाएको छ । बजार अनुगमन कार्य भरतपुर महानगर अन्तर्गतको उपभोक्ता हित संरक्षण शाखा तथा शासकीय सुधार इकाइको दैनिक बजार अनुगमन कार्यमै पर्दछ ।
बजारमा हुने कालोबजारी, राजश्व छली, म्याद गुज्रिएका दैनिक उपभोग्य वस्तुहरुमाथिको अनुगमन तथा निरीक्षण कार्यलाई भरतपुर महानगरपालिकाले निरन्तरता दिइरहेको छ । नियमित संयुक्त बजार अनुगमनको टोलीले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेकामाथि कडाइ सुरु गरेको हो ।

व्यवसायीहरुलाई मापदण्ड अनुसार आफ्नो ब्यापार संचालन गर्न, मूल्यसूची कायम राख्न, नापतौलमा एकरुपता ल्याउन,बिल भर्पाइलाई छरितो बनाउन, चाडपर्वको बेलामा दैनिक उपभोग्य वस्तुहरुमा कालोबजारी नगर्नका लागि सजग गराइएको छ । उपभोक्ताहरुको हितलाई ध्यानमा राखी स्वच्छ बजार कायम राख्न भरतपुर महानगरले आफ्नो क्षेत्रभित्र हुने स्थानीय बजारमा अनुगमनलाई तिब्रता दिएको छ ।

बजार अनुगमनमा गएको टोलीले बजार अनुगमनलाई औपचारिकताभन्दा पनि प्रभाकारी बनाएर जाने निर्णय गरेको छ । ‘वस्तु वा सेवाका उत्पादक, आयातकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता, संकलनकर्ता बजारसँग सम्बन्धित पक्ष हुन् । यी पक्षको दर्ता, अनुमति, सिफारिस, नवीकरण हामीले हेर्ने गरेका छौँ ’ उपभोक्ता हित संरक्षण शाखा तथा शासकीय सुधार इकाइका अधिकृत ठानेश्वर सापकोटाले भने ।

अनुचित व्यापारिक क्रियाकलाप र बजारको तह निर्धारण महानगरसँग सम्बन्धित विषय हुन् । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २८ तथा ६४ ले स्थानीय निकायलाई बजार अनुगमन गर्ने अनुमति प्रदान गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट