चितवन, १४ जेठ ।
पर्वतीय साहित्य समाजले वरिष्ठ साहित्यकार मञ्जुल लाई ‘प्रतीक ढकाल नियात्रा सौरभ–२०८३’ समर्पण गरेको छ । जयन्ता पवित्रा ढकाल स्मृति कोषद्वारा स्थापित उक्त पुरस्कार मञ्जुल निवासमै आयोजित विशेष कार्यक्रममा समर्पण गरिएको हो ।
कार्यक्रममा पर्वतीय साहित्य समाजका अध्यक्ष प्रतीक ढकाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टीका पूर्वअध्यक्ष एवं वरिष्ठ साहित्यकार गीता खत्री, नियात्रा समाज नेपालका अध्यक्ष मोहन चापागाईं, समाजकी सचिव भवानी खतिवडा, साहित्यकार डाक्टर रजनी ढकाल लगायत स्रष्टा, शुभेच्छुक तथा आफन्तजनको उपस्थिति रहेको थियो ।
वरिष्ठ साहित्यकार गीता खत्री, नियात्रा समाज नेपालका अध्यक्ष मोहन चापागाईं तथा पुरस्कार संरक्षक प्रतीक ढकालले संयुक्त रूपमा ५१ हजार रुपैयाँ नगदसहित सम्मानपत्र समर्पण गरेका थिए ।
कार्यक्रम सञ्चालन गर्दै सचिव भवानी खतिवडाले प्रतीक ढकालले आफ्नो दैनिक कमाइबाट रकम बचत गरी ‘नियात्रा सौरभ’ पुरस्कार स्थापना गरेको प्रसंग उल्लेख गर्दा उपस्थितहरू भावुक बनेका थिए ।
कार्यक्रममा बोल्दै मोहन चापागाईंले साहित्य, सङ्गीत र कलाका अथक साधक मञ्जुललाई सम्मान गर्नु पर्वतीय साहित्य समाज स्वयंका लागि पनि गौरवको विषय भएको बताए । डा. रजनी ढकालले अनुज पुस्ताका प्रेरणादायी मार्गदर्शक व्यक्तित्व मञ्जुलजस्ता अग्रजलाई गरिएको गरिमामय सम्मानको साक्षी बन्न पाएकोमा खुशी व्यक्त गरिन् ।
वरिष्ठ साहित्यकार गीता खत्रीले नेपाली साहित्यमा मञ्जुलको योगदानको चर्चा गर्दै उहाँको सक्रिय र सिर्जनशील जीवनको शुभकामना व्यक्त गरिन् ।
जयन्ता पवित्रा ढकाल स्मृति कोषका संरक्षक प्रतीक ढकालले किशोरावस्थादेखि नै मञ्जुलको प्रेरणा र स्नेह पाएको स्मरण गर्दै आफूलाई माया गर्ने अग्रजलाई सम्मान गर्न पाउँदा गौरवान्वित भएको बताए ।
सम्मानित साहित्यकार मञ्जुलले आफूले अत्यन्त स्नेह गर्ने भाइ प्रतीक ढकालको पवित्र भावनाले आफूलाई सम्मानका लागि सम्झिएको भन्दै पर्वतीय साहित्य समाज, जयन्ता पवित्रा ढकाल स्मृति कोष र सम्पूर्ण पदाधिकारीप्रति आभार व्यक्त गरे । उनले यस सम्मानले आफूलाई अझ सिर्जनशील बन्न प्रेरणा थपेको प्रतिक्रिया दिए ।





