गैंडाकोट, १४ जेठ ।
नेपाल संस्कृत विश्वविद्यालयको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापकहरूका लागि क्षमता विकास तालिम गैंडाकोटमा सुरु भएको छ । तालिमको उद्घाटन नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. सुधनकुमार पौडेलले गरेका हुन् ।
नेपालका विश्वविद्यालयहरूमा प्राज्ञिक एकरूपता र शैक्षिक स्तर अभिवृद्धि गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको विश्वविद्यालयले जनाएको छ । चार शृङ्खलामा ७ दिनसम्म सञ्चालन हुने तालिममार्फत १२० जना प्राध्यापकलाई क्षमता विकास सम्बन्धी प्रशिक्षण दिइनेछ । हाल गैंडाकोटमा दोस्रो र तेस्रो शृङ्खलाको तालिम सञ्चालन भइरहेको छ । पहिलो शृङ्खला अघिल्लो महिना धुलिखेलमा सम्पन्न भएको थियो ।
दोस्रो शृङ्खलाको उद्घाटन जेठ १२ गते र तेस्रो शृङ्खलाको उद्घाटन जेठ १३ गते गरिएको हो । जेठ १२ गतेदेखि सुरु भएको तालिम १८ गते तथा १३ गतेदेखि सुरु भएको तालिम १९ गते समापन हुने कालिका संस्कृत विद्यापीठ गैंडाकोटका प्राचार्य डा. केशवराज चालिसेले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारी तथा प्रमानन्द गुरुकुलम् देवघाटका पीठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती विशिष्ट अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयका विभिन्न विषयका विज्ञहरूले सहजीकरण गरिरहेका छन् ।
देशभरका १० वटा संस्कृत विद्यापीठबाट ६० जना प्राध्यापक तालिममा सहभागी रहेको जनाइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति डा. पौडेलले यस्ता तालिमले नेपाल संस्कृत विश्वविद्यालय तथा संस्कृत शिक्षाको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुग्ने बताए ।
गैंडाकोट नगरप्रमुख मदनभक्त अधिकारीले देशका विभिन्न स्थानबाट आएका प्राध्यापकलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताए । पीठाधीश स्वामी ज्ञानानन्द सरस्वतीले देवभूमि देवघाट नजिक सञ्चालन भइरहेको तालिमले संस्कृत शिक्षाको प्रवर्द्धनमा थप ऊर्जा दिने विश्वास व्यक्त गरे ।
कालिका संस्कृत विद्यापीठ सञ्चालक समितिका अध्यक्ष ओमप्रसाद सापकोटाले यस्ता कार्यक्रमले गैंडाकोटलाई राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने धारणा राखे ।
कालिका संस्कृत विद्यापीठका प्राचार्य डा. केशवराज चालिसेको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सहजीकरण नेपाल संस्कृत विश्वविद्यालयका लेखा उपप्रशासक नवीनकुमार पोख्रेलले गरेका थिए । कार्यक्रमको औपचारिक समापन जेठ १९ गते हुनेछ ।





