भरतपुर, २ साउन ।
भरतपुर महानगरपालिका वडा नम्बर-२९ मा रहेको कविलास माविलाई खेलकुदका सामग्री उपलब्ध गराइएको छ । कवि एवम् प्राध्यापक ईश्वर कँडेलले स्वर्गीय साथीकाे सम्झनामा खेल सामग्री दिएका हुन् ।
मंगलबार उक्त विद्यालयमा पुगेर उनले बल, ब्याडमिन्टन, टेबलटेनिस, लुँडो, चेस, स्किपिङलगायतका खेलकुद सामग्री दिए ।
कवि कँडेलले आफ्ना साथी स्वर्गीय चिरञ्जीवी थापाको जन्मजयन्तीको अवसर पारेर ती सामग्री विद्यालयलाई उपलब्ध गराएका हुन् । थापा सिर्जना बोर्डिङ स्कुल भरतपुरका संस्थापक प्रधानाध्यापक हुन् । कोभिड महामारीका बेला कोरोना संक्रमणबाट थापाको निधन भएको थियो । साउन २ गते थापाको जन्मजयन्ती हो ।
कवि कँडेल र स्वर्गीय थापापुत्र अनुस्रुतकाे हातबाट ती खेलसामग्री विद्यालयका सहायक प्रधानाध्यापक श्रीप्रसाद गुरुङ र खेलकुद गतिविधि संयोजक राजुकुमार सापकोटाले ग्रहण गरे ।
`यो विशेष दिनमा साथीलाई स्मरण गर्दै भरतपुरको कुनामा रहेकोे यो सामुदायिक विद्यालयमा आएर यी सामग्री दिन पाउँदा साथीप्रतिको जिम्मेवारीबोध र सम्मान दिन सकेको ठानेको छु´, कँडेलले भने- ‘मेराे साथीकाे आत्माशान्तिका लागि यी सामग्रीको भरपुर सदुपयोग गर्नुहाेला ।’
खेलकुद सामग्री लिएपछि शिक्षक सापकोटाले खेलसामग्रीले विद्यार्थीकाे खेलसुधारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
कार्यक्रममा सहभागी पठन संस्कृतिका अभियन्ता लेखराम सापकोटाले साथी सम्झेर पराेपकार गर्नु अनुकरणीय भएकाे बताए । साेही अवसरमा उनले पनि आफ्नाे व्यवसाय सम्पूर्ण किताब नारायणगढका तर्फबाट कक्षा १२ का विद्यार्थीलाई ज्ञानवर्ध्दक पत्रिका ‘युवामञ्च’ बाँडे ।
कविलास मावि कक्षा १२ सम्म पढाइ हुने भरतपुर-२९ को एकमात्र सामुदायिक विद्यालय हो । यस विद्यालयमा करिब ७०० विद्यार्थी रहेकाे र ती अधिकांश विपन्न आदिवासी-जनजाति, सीमान्तीकृत र दलित समुदायकाे रहेका शिक्षक विनाेदबाबु रिजालले बताए ।
सहायक प्रधानाध्यापक गुरुङले याे सहयाेगले विद्यालयस्तरीय खेलकुदमा सफलता हासिल गर्न सहयाेग पुग्ने विश्वास व्यक्त गरे ।





