भरतपुर, २ साउन ।
इन्टरनेशनल एसोसिएसन अफ स्टुडेन्ट इन एग्रिकल्चर एन्ड रिलेटेड साइन्सेस (आईएएएस) नेपाल लोकल कमिटी लमजुङले नेशनल एक्सचेन्ज कोर्डिनेटर मिटिङ – २०२३ गर्ने भएको छ । साउन ४ गतेदेखि ७ गतेसम्म लमजुङस्थित लमजुङ कृषि क्याम्पसको परिसरमा कार्यक्रम गर्ने भएको हो ।
ई.स. २०१८ मा स्थापित अन्तर्राष्ट्रिय गैरसरकारी विद्यार्थी संस्था आईएएएस नेपाल लोकल कमिटी लमजुङ, आईएएएस नेपालको स्थानीय कमिटी हो । उक्त कमिटीमा ३५ जना कृषि विद्यार्थी छन् । जहाँ स्थानीय निर्देशक प्रसान्न चापागाईं, ६ कार्यकारी बोर्ड सदस्य, १८ गुणस्तर बोर्ड सदस्य र ८ साधारण सदस्यहरूको सक्रियता रहेको छ ।
३ दिनको यस कार्यक्रममा विभिन्न कृषि कलेजका करिव ७० जना विद्यार्थीहरू सहभागी हुनेछन् । उच्च मान्यताको अतिथिहरूमा प्रशिक्षित प्राध्यापकहरू, कृषि उद्यमीहरू र आइएएएस नेपालका राष्ट्रिय निर्देशक साक्षी हुनेछन् । उक्त कार्यक्रम नेपालका विभिन्न कृषि क्याम्पसहरूको प्रतिनिधित्व गर्ने विद्यार्थीहरूको आकर्षणको केन्द्र बन्ने आयोजकले बताएका छन् ।
`नेशनल कोर्डिनेटर मिटिङ एउटा मिटिङ मात्रै होइन, यो त कृषिको उत्सव हो, सहकार्यको मंच हो र अभियन्ता उत्साहको प्रेरक हो´, आयोजक समूहकी अनिशा कार्कीले बताइन् ।





