भरतपुर, १ साउन ।
स्थानीय लोकतन्त्र सन्देश दैनिक पत्रिकाका कार्यकारी सम्पादक सन्तोष देवकोटा गंगाज्योति स्मृति पुरस्कारबाट सम्मानित भएका छन् । परमपुजनीय माता पिताको पुण्यस्मृतिमा अद्वैत संस्थाका केन्द्रीय सभापति एवं प्रधान कुलपति सहचारी अनन्तलाल सरस्वतीद्वारा स्थापित गंगा–ज्योति स्मृति पुरस्कारबाट पत्रकार देवकोटालाई नगदसहित पुरस्कृत एवं सम्मान गरिएको हो ।
प्रातः स्मरणीय ब्रह्मज्ञानी गुरुदेव डा. क्षितिजचन्द्र चक्रवर्तीबाट स्थापित अद्वैत संस्थाको काठमाडौं–२८ स्थित केन्द्रीय कार्यालयमा आयोजित गुरुआमा जयन्ती महासत्संग समारोह २०८० को अवसरमा सो पुरस्कार वितरण गरिएको हो ।
अद्वैत संस्थाका केन्द्रीय सभापति एवं प्रधान कुलपति सहचारी अनन्तलाल सरस्वतीले उक्त पुरस्कार २०७३ सालमा स्थापना गरेका हुन् । उक्त पुरस्कारको राशि पचास हजार रुपैयाँ रहेको छ ।





