भरतपुर, १ साउन ।
लायन्स क्लब अफ चितवन चौतारी र अन्य लायन्स क्लबले साउने संक्रान्तिको अवसर पारेर संयुक्तरुपमा वृक्षरोपण गरेका छन् । भरतपुर महानगरपालिका- २ स्थित तीनखोले गुम्बा परिसरमा हर्रो, बर्रो, अमला, चिराईतो, रुद्राक्ष, अम्बा, बडहर, रुखकटहर, धुपीलगायतका विभिन्न औषधिय, फलफूल तथा अन्य गरी १५० वटा बिरुवा रोपिएको कार्यक्रम संयोजक लायन सोमप्रसाद गुरुङ्गले जानकारी दिए । 
वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्दै लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आरका प्रथम भाईस गभर्नर लायन दिनानाथ न्यैपानेले बिरुवा रोप्नुभन्दा हुर्काउनु महत्वपूर्ण भएको बताए । न्यौपानेले वृक्षरोपण गरेका बिरुवाको निरन्तर गोडमेल एवं हेरचाह गर्नका लागि क्लबको ध्याकर्षण समेत गराए । प्रमुख अतिथि न्यौपानेले लायन्स क्लब अफ चितवन चौतारीको अग्रसरतामा शुरु भएका सबै काम प्रसंशायोग्य भएको बताउँदै आगामी दिनमा पनि यस्तै कामका लागि शुभकामना व्यक्त गरे ।
कार्यक्रममा महाबौद्ध गुम्बाका अध्यक्ष विकास गुरुङ, लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आरका द्वितीय भाईस गभर्नर लायन नवराज सापकोटा, पूर्व गभर्नर लायन रामप्रसाद भट्ट, डिष्ट्रिक्टका सेक्रेटेरियट तथा फाईनान्सियल सल्लाहाकार लायन राजेन्द्र गौतम, लायन प्रभाकर पण्डित, एक्जुकेटिभ चिफ लायन गोपालप्रसाद गौतम, एक्जुकेटिभ कोचिफ लायन पूर्णप्रसाद शर्मा, डिष्ट्रिक्ट चिफ लायन भक्तीप्रसाद चालिसे, तमु ह्युलछोँजधिका चितवनका वरिष्ठ उपाध्यक्ष कृष्ण गुरुङ, आयोजक क्लबका पदाधिकारी एवं सदस्यहरुकोे उपस्थिति रहेको थियो । 
लायन्स क्लब अन्तर्राष्ट्रियले वृक्षरोपण कार्यक्रमलाई आफ्नो महत्वपूर्ण कार्यक्रममा समावेस गरेको छ । संसारभरीका लायन्सहरुले वृक्षरोपण कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गर्ने गर्दछन् । लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष लायन डा. महेन्द्र अग्रहरीको सभापतित्वमा सम्पन्न औपचारिक कार्यक्रमपछि आयोजक क्लबका सदस्यहरुले बिरुवा रोपेका थिए ।





