गैंडाकोट, १ साउन ।
गैंडाकोटमा रहेको मौलाकाली केवलकारले ५० प्रतिशत छुटसहित नयाँ अफर ल्याएको छ । साउनदेखि लागू हुने गरी यो अफर ल्याएको कम्पनीले जनाएको छ । अफर अन्तर्गत प्रत्येक बुधबार दिउँसो २ बजेपछि केवलकारको टिकट काट्दा ५० प्रतिशत छुट दिइने केवलकारका स्टेशन मेनेजर सुरज पौडेलले बताए । हाल केवलकारको दुइतर्फी साधारण टिकट मूल्य ५५० रुपैयाँ कायम छ । यस अफर अन्तर्गत अब यात्रुहरुले २७५ रुपैयाँमै दुइतर्फी यात्रा गर्न पाउनेछन् । यो अफरले सर्वसाधारणलाई सस्तो मूल्यमा केवलकारमा यात्रा गर्ने अवसर मिल्नेछ भने दर्शनार्थीहरुलाई दिउँसो पनि मन्दिर जान प्रेरित गर्नेछ । यसबाट मौलाकालिका मन्दिर जाने दर्शनार्थीको संख्यामा पनि उल्लेख्य वृद्धि हुने अपेक्षा छ । 
`दिउँसो गर्मीको समयमा दर्शनार्थीहरु मन्दिर कम जाने गरेकोमा यो अफरले केही हदसम्म दिउँसो मन्दिर जाने क्रम बढाउने हामीले विश्वास लिएका छौं´, केवलकारका स्टेशन मेनेजर पौडेलले बताए । मौलाकालिका मन्दिरमा यसअघिका वर्षहरुको तुलनामा यो सिजनमा भक्तजनको संख्यामा उल्लेख्य वृद्धि भएको धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले बताए । सापकोटाका अनुसार मौलाकाली केवलकार संचालनमा आएपछि मन्दिरमा पूजाआजा गर्न आउने भक्तजनको संख्या करिव २५ प्रतिशतले बढेको छ । गर्मी, वर्षात् , खेतीपातीलगायत विविध कारणले अघिल्ला वर्षहरुमा यो बेला मन्दिरमा निकै कम मात्रामा भक्तजन आउने गरेकोमा यसपालि यो बेमौसममा पनि उल्लेख्य भक्तजनको आगमन भएको सापकोटाले दावी गरे ।
धार्मिक तथा ऐतिहासिक महत्वको मौलाकालिका मन्दिर जाने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी गत वैशाख १ गतेदेखि सञ्चालनमा आएको मौलाकाली केवलकारले बिदाका दिन बाहेक बिहान ६ बजेदेखि सेवा दिँदै आएको छ । शनिबार र अन्य बिदाका दिनमा विहान ५:३० बजेदेखि केवलकार सञ्चालन हुने गरेको छ ।





