देवघाटधाम, १ साउन ।
साउने संक्रान्तिको दिन पवित्र धार्मिक स्थल देवघाटमा स्नान गर्ने भक्तजनको भीड लागेको छ । आज साउनको पहिलो दिन सोमवार परेकाले पनि बिहानै देखि भक्तजनको भीड लागेको हो ।
कालिगण्डकी र त्रिशुली नदीको संगम स्थल देवघाटमा हरेक वर्षको साउने संक्रान्तिमा बोलबम मेला लाग्ने गर्छ । मेलामा सुरक्षाको लागि देवघाट क्षेत्र विकास समितिले सुरक्षाकर्मी पनि परिचालन गरेको छ ।
साउने संक्रान्तिसँगै नेपालीहरूको अधिकांश चाडपर्व शुरु हुने भएकाले पनि यसको महत्त्व रहेको छ । यो दिन सबेरै उठी स्नान गरी सूर्यलाई जल अर्पण गरी ब्राह्मण–पुरोहितबाट संक्रान्तिफल सुन्ने चलन छ ।
गाउँघरमा साँझपख यो दिन लुतो फ्याँक्ने गरिन्छ। अमिला फल, कुरिलो, कुकुर डाइनो, भलायोलगायतका वनस्पति बिहानै घरमा ल्याएर राख्ने र साँझतिर अगुल्टोसहित लुतो फ्याँक्ने चलन छ । यसरी लुतो फ्याँक्नाले वर्षभरि रोगब्याधिबाट मुक्ति पाइने विश्वास छ ।
औँसी तिथि र सोमबार एकै दिन परेकाले आज सनातन धर्मावलम्बीले सोमबारे औँसी मनाउँछन् । यस्तो संयोग परेको दिनलाई ‘मौनी औँसी’ पनि भनिन्छ ।
वैदिक परम्परामा औँसीलाई पितृको पर्व मानिन्छ । यो दिन तर्पण, श्राद्ध गर्ने वा पितृका नाममा दान गर्ने विधान छ । पुराण र ज्योतीषीय ग्रन्थमा सोमबारको औँसीमा बिहान सबेरै उठेर नबोली नुहाउने भगवान् शिव वा विष्णुको आराधना गर्ने, दान गर्नेलगायत कर्म गर्नुपर्ने बताइएको छ । यो दिन तुलसी वा पिपलको पूजा गरी प्रदक्षिणा गर्ने विधान छ ।
हिन्दू धर्मका सबै धार्मिक ग्रन्थहरूमा भगवान शिवलाई पशुपतिनाथ भनिएको छ । महाभारतमा भगवान शिवको अस्त्रलाई पाशुपतास्त्र भनेर बर्णन गरिएको छ ।
साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ । महिनाको अरू दिन नसके पनि सोमबार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । ज्योतिषशास्त्रअनुसार सोमवारको स्वामी भगवान् शिव भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ । अझ यो महिनाको सोमवार गरिने शिवको व्रत पूजा विशेष फलदायी हुने मान्यता छ । यस दिन आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ । हस्ता नक्षत्रयुक्त सोमवारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको प्रसंग पुराणमा पाइन्छ ।
हिन्दू धर्ममा साउनलाई धर्मकर्मको महिना भनिन्छ । यो महिनामा व्रत, दान, पूजापाठ आदि गर्दा धेरै गुना बढी फल प्राप्त हुन्छ भन्ने विश्वास गरिछ । साउनको सोमबार व्रत बसी भगवान् शिवको उपासना गरेमा पारिवारिक कल्याण, सुख शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
साउनको पहिलो सोमबार राजधानी काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा पनि पूजा अर्चनाका लागि आएका भक्तजनहरुको घुइँचो लागेको छ । साउनको सोमबार भगवान शिवको पूजा अर्चना गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ ।





