जनकपुर, १ साउन ।
भारतको जयनगरबाट महोत्तरीको बिजलपुरासम्म रेलसेवा सञ्चालनमा आएको छ ।
गत ०७८ चैत २० गतेदेखि जयनगरबाट धनुषाको कुर्थासम्म सञ्चालन हुँदै आएको रेलसेवा आइतबारदेखि महोत्तरीको बिजलपुरासम्म सञ्चालनमा आएको हो । उक्त रेलको उद्घाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गरेका छन् ।
कुर्थाबाट बिजलपुरासम्मकाे निर्माणकार्य सम्पन्न भएकोे रेल्वे ट्रयाक गत जेठ १८ गते भारतीय रेल्वे कम्पनी इरकन इन्टरनेसनल कम्पनीले नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरेको थियो ।
जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माणकार्य सम्पन्न भएसँगै बिजलपुरासम्म आइतबारदेखि रेल सञ्चालनमा आएको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले रेलबाट राष्ट्रिय झन्डा देखाएर सुरुवात गरेका हुन् । रेल उद्घाटनपश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले यात्रुवाहक मात्रै नभएर चाँडै कार्गो रेलसेवा सञ्चालनमा ल्याउने बताए ।
उनले जयनगर–बिजलपुरा–सीतापुर रेल सञ्चालन यातायात क्षेत्रको नयाँ छलाङ भएको बताउँदै मन्त्री ज्वालाले बर्दिबासदेखि निजगढसम्म यात्रुवाहक रेल पुर्याउने सरकारको प्राथमिकतामा रहेको जानकारी गराए ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जकुमार झाले जयनगरबाट कुर्था हुँदै बिजलपुरासम्म रेल सञ्चालन सुरु भएसँगै कुर्थाबाट बिजलपुरासम्म दैनिक एकपटक रेल सञ्चालन गरिने बताए । कुर्थाबाट जयनगर–कुर्था ३५ किलोमिटर रेल्वेमार्गमा अहिले दैनिक दुईपटक आउने र दुईपटक जाने गरेको छ ।
बिजलपुरासम्मको १७ किलोमिटर रेल्वे ट्रयाक निर्माण सम्पन्न भए पनि एक किलोमिटर रेलमार्ग निर्माण गर्न बाँकी छ । रेल सञ्जाललाई नेपालमा विस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो ।
सोहीअनुसार २०११ माघमा निर्माणको थालनी भएको थियो । जयनगर–कुर्था खण्डमा रेल रोकेर यात्रु चढाउन र झार्नका लागि सात ठाउँमा स्टेसन–हल्ट रहेका छन् । जयनगरबाट कुर्थासम्म कुर्था, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगर छन् भने अब बिजयपुरासम्म थप दुई हल्ट र दुई स्टेसन थपिएका छन् ।





