भरतपुर, ३१ असार ।
नेवाः पुचः नारायणगढले शनिबार गठेमङ्गल जात्रा मनाएको छ । वर्षभरिका चतुर्द्शीमध्ये गठेमङ्गल चतुर्दशीको महत्व फरक र व्यवहारिक भएको स्थानीय बताउँछन् । कला, संस्कृतिलाई संरक्षण र सम्बर्द्धन गर्ने संस्थाको उद्देश्य अनुरुप गठेमङ्गल जात्रा मनाउने कार्यक्रमलाई निरन्तरता दिइएको जात्रा संयोजक दीपक श्रेष्ठले बताए ।
यस दिन दुष्ट आत्मा र भूतप्रेत भगाउन भन्दै घर सरसफाइ गरी राक्षसी स्वरूपको घण्टाकर्ण दहन गर्ने चलन छ । ठड्याइएको नर्कटबाट बनाइएको गठेमङ्गल घाम अस्ताएपछि छ्वाली बालेर परिक्रमा गरेर ढालेपछि नदीमा लगेर विसर्जन गर्ने परम्परा छ । धान रोपी सकिएपछि घरभित्रका दुषित कीटाणु भगाउन धुप बालेर धुँवा पठाउने गरिन्छ । जसबाट कीटाणु भाग्ने जनविश्वास छ ।
यस्तै घरको ढोकामा भूतप्रेत र अरु डरत्रासबाट जोगिन भन्दै फलामको तीनखुट्टे ओदान पनि गाड्ने गरिन्छ । विभिन्न ग्रह तथा भूतप्रेतबाट बच्न भन्दै फलामको औंठी लाउने चलन पनि रहेको संयोजक श्रेष्ठले बताए ।





