वामदेव खनाललाई राजनैतिककर्मीका अलावा सामाजिक व्यक्तित्वका रुपमा चिन्ने गरिन्छ । नेपाली काँग्रेसको राजनीति गरेका, बहुुदलको पुनर्बहालीपछि २०४९ सालमा भएको पहिलो स्थानीय निर्वाचनमा तत्कालीन भरतपुर नगपालिकाको वडा नम्बर ४ मा वडाध्यक्षमा विजयी भएका व्यक्ति हुन् खनाल ।
हालको चितवन उद्योग संघ र तत्कालीन चितवन घरेलु तथा साना उद्योग संघको ४७ सालमै अध्यक्ष भएका व्यक्ति पनि हुन् उनी । साथै लायन्स क्लब, नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पताल, क्यान्सर सेवा समाजजस्ता अनेकौं सामाजिक र परोपकारी संस्थामा संलग्न हुनुका साथै नेतृत्व लिएका छन् खनालले ।
२००५ सालको असार १२ गते तनहुँमा जन्मेका खनालको चितवन बसोबासको लामो इतिहास छ । उनको आँखाले चितवन र खास गरेर नयाँ रुपरंगतर्फ लम्कँदै गर्दाको नारायणगढ भरतपुरको सुरुवाती दृश्य देखेको छ । त्यसैले खनाल आफैमा खास छन् । यसका साथै उनका पिता र दाजु पनि इतिहासमा जोडिएका व्यक्तिहरु हुन् । उनै वामदेव खनालले लेखेको पुस्तक ‘सिर्जना र शुभेच्छुकका दृष्टिमा वामदेव खनाल’ हालै सार्वजनिक भएको छ । चितवन साहित्य परिषदले प्रकाशन गरेको सो पुस्तक ३६६ पृष्ठको छ । सम्मान तथा कदरपत्र र अन्य गतिविधिका तस्बिरहरुसमेत पुस्तकभित्र छन् । गोविन्दराज विनोदीको कविता, राष्ट्रपति रामचन्द्र पौडेलको शुभकामना र ८६ वटा आलेख यस पुस्तकमा छन् ।
वामदेवका पिता कालिदास खनाल र माता राधादेवी हुन् । राधादेवीका कोखबाट जन्मेका वामदेव कान्छो सन्तान हुन् । वामदेवका दाइ हुन् श्रीहर्ष खनाल । कालिदास खनाल नारायणगढ मौजाका जिमिन्दार हुन् । १९९० सालमा तनहुँबाट चितवन झरेर कालिदासले नारायणगढको जिम्दारी लिएका थिए । पिता कालिदासको २००६ सालको चैत्रमा देहान्त भएपछि वामदेवका दाई श्रीहर्षको काँधमा जिम्दारीको जिम्मेवारी स¥यो । श्रीहर्षले जिमिन्दारी मात्रै सम्हालेनन्, नेपाली काँग्रेसको राजनीतिमा पनि संलग्न भए । तत्कालीन राजा महेन्द्रले २०१७ सालको पुस १ गते निर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई पदच्यूत गरेर बहुदलीय व्यवस्थामाथि कू गरेपछि पनि श्रीहर्षले आफ्नो राजनैतिक सक्रियता रोकेनन् ।
राजाको प्रत्यक्ष शासनविरुद्ध नेपाली काँग्रेसले सशस्त्र संघर्ष गर्ने भयो । २०१८ सालमा चितवनबाट संघर्षको सुरुवात भयो । लालध्वज गुरुङको नेतृत्वमा भारत बिहारको नरकटियागञ्जबाट ठोरीहुँदै चितवन छिरेको टोलीले भरतपुर कब्जा गरेको थियो । विद्रोहीहरुको कब्जामा परेको भरतपुरमा सेना आएर कारवाही गरेको थियो । त्यो कारवाही निकै क्रुर थियो । वामदेवका दाइ श्रीहर्ष नै यो संघर्षमा सामेल भएर पक्राउ परेका थिए । वामदेव भरतपुरमा पढ्दै गर्दा भएको थियो यस्तो राजनैतिक उथलपुथलको घटना । आफ्नै दाइ संलग्न भएको राजनैतिक संघर्षका बारेमा वामदेवले पक्कै पनि धेरै भित्री कुराहरु थाहा पाएका थिए भन्ने अनुमान लगाउन सकिन्छ । यो संघर्षलाई देख्नेसुन्नेमा पनि उनी परे ।
पिता, दाजुहुँदै नारायणगढ मौजाको जिमिन्दारी सम्हाल्नु पर्ने ‘बाध्यता’ वामदेवलाई पनि आएको थियो । जिमिन्दारले गरेका, भोगेका, सुनेका, देखेका सबैखाले गतिविधि र दृश्य त्यो मौजाको इतिहास हो । त्यसैले वामदेव नारायणगढको इतिहास भन्न सक्ने उपयुक्त र आधिकारिक पात्र पनि हुन् । आफ्नो त्यो ‘भब्य’ पुस्तकमा वामदेवले पक्कै यी दुई विषयमा बोलेका छन् होला भनेर सोच्नेहरु निराश भइहाल्दैनन् । पुस्तकमा नारायणगढको इतिहास र भरतपुर घटनाको चित्रण छ । अहिलेको नारायणगढ देखेकाहरुलाई यसको इतिहास रोचक र अनौठो लाग्छ । त्यसै गरी भरतपुर घटनाको विवरण पढ्दा आङ सिरिङ्ग पनि हुन्छ ।
नारायणगढ ठेड्के कुमालको मौजा
चितवनमा औलो उन्मुलन हुनुभन्दा अघिकै कुरा हो । १९७०–७१ सालतिरै गैंडाकोटमा शम्शेरबहादुर अधिकारीले मौजा लिएर जिमिन्दारी चलाएका थिए । यी भनेका गैंडाकोट नगरपालिकाका हालका मेयर मदनभक्त अधिकारीका हजुरबुवा र दिवंगत काँग्रेस नेता सूर्यभक्त अधिकारीका पिता हुन् । सूर्यभक्त र वामदेवका मामाबीच मितेरी साइनो थियो । त्यसैले शम्शेरबहादुर पहाड तनहुँ गएका बेलामा वामदेवका बा कालिदास खनाललाई भेट्दा रहेछन् । अनि ‘अब यो सानो ठाउँमा बसेर हुँदैन ज्वाइँ, चितवन झर्ने हो । त्यहाँ फराकिलो ठाउँ छ, मन फुकाएर काम गर्न पाइन्छ’ भन्दै तनहुँ छाड्न अभिप्रेरित गर्दा रहेछन् ।
यसरी वामदेवका पिताश्री कालिदास १९९० साल अर्थात देशमा भयङ्कर ठुलो भुइँचालो गएको वर्ष आफ्नो पुरानो थातथलो तनहुँ चिसापानी पोल्याङ बेसी छाडेर चितवन झरेका रहेछन् । कालिदासले त्यो वर्ष नारायणगढको तत्कालीन जिम्दार ठेड्के कुमालसँग जिमिन्दारी किनेको खनालले आफ्नो पुस्तकको पहिलो लेख ‘पिताश्री कालिदास खनाल’मा उल्लेख गरेका छन् । औलोको डर त छँदै थियो । त्यसैले खनालको परिवार हिउँदमा चितवनमै बसे पनि अरु बेला पहाड उक्लँदोरहेछ । त्यत्ति गर्दा पनि बालबच्चालाई औलोबाट बचाउन नसकेको कथा किताबमा छ । चितवनमा सन्तान हुर्काउन कठिन हुन्छ भनी पहाड तनहुँ गएका बेलामा वामदेवको जन्म पहाडमै भएको रहेछ । त्यसपछि कक्षा ४ पढ्न २०११ सालमा मात्रै उनी चितवन झरेछन् ।
त्यो बेला अहिलेको यो नारायणगढ बजार क्षेत्रको आर्थिक, सामाजिक र शैक्षिक अवस्था के थियो भन्ने खनालले पुस्तकमा लेखेका छन् ।
नारायणगढमा १९९६ सालदेखि आवादी हुँदै २०२० सालसम्म बजारको बिस्तार भइसकेको खनालले जनाएका छन् । खनालको घर त्यो बेला हाल वडा प्रहरी कार्यालय र चारकुने चौताराको बीचमा रहेछ । फलेकले बारेको एकतले घर । फलेक नै बिछ्याएको भान्सा घर, सिम्ठीले बारेको एकतले गोदाम घर, जहाँ मकै राख्ने गरिन्थ्यो, जिमिन्दारको घर यस्तो रहेछ । ठेड्के कुमालको समयमा दरै, बोटे, कुमाल र एक दुई घर मगरहरु नारायणगढमा बस्ने रहेछन् । १०५ बिघा १६ कट्ठाको मौजामा कालिदासको जिमिन्दारी कायम भएसँगै बाहुन, क्षेत्री र नेवारहरुको बसोबास बढेको खनालले लेखेका छन् । २२ सालसम्म आउँदा नारायणगढ मौजामा दुई परिवार दरै, दुई परिवार बोटे र एक परिवार कुमाल मात्रै बाँकी रहेछन् ।
हामीले बन्दीपुरका नेवार समुदायहरु व्यपार गर्दागर्दै यहीँ बस्न थालेर नारायणगढमा बजार बिस्तार गरेको हो भन्ने सुन्दै आएको हो । बन्दीपुरका व्यपारीहरुले यहाँ बजार बढाउन खेलेको भूमिका महत्वपूर्ण त छ नै, बस्ती विकासको सुरुवात के कसरी भयो ? पहिला को बस्थे ? अरु समुदाय कसरी बस्न आए भन्ने जानकारी यो पुस्तकमा छ । इतिहासमा रुचि राख्नेका लागि यो नौलो जानकारी महत्वपूर्ण छ । साथै जिमिन्दारको भूमिका के हो ? जिमिन्दारी प्रथा कहिलेसम्म कायम रह्यो ? कलिलै उमेरमा बाबु कालिदासको निधन भएपछि श्रीहर्षले कसरी जिमिन्दारी चलाए ? भरतपुर घटनापछि श्रीहर्ष गिरफ्तार भएर जेल परेपछि वामदेवले जिमिन्दारी कसरी चलाए ? जस्ता विवरणहरु र कथाहरुले पुस्तकलाई रोचक जानकारीयुक्त बनाएको छ ।
भरतपुर कब्जापछि सेनाको चरम र क्रुर अत्याचार
वामदेवको पारिवारिक प्रसंग पढ्दापढ्दै नारायणगढको इतिहास उजागार हुन्छ । प्रजातन्त्र स्थापनाका लागि नेपाली काँग्रेसले २०१८ सालको माघमा सुरु गरेको सशस्त्र संघर्षले भरतपुर कब्जा गरे पनि सरकारले त्यसका विरुद्ध कस्तो कारवाही ग¥यो ? आङै सिरिङ्ङ पार्ने जानकारी र दृश्य खनालले किताबमा राखेका छन् । खनालकै दाजु श्रीहर्ष यो संघर्षमा सामेल थिए । वामदेव त्यो बेला भरतपुरको स्कुलमा पढ्दै थिए । भरतपुरलाई ‘कब्जामुक्त’ गराउन आएको सेनाले स्कुलमा पनि सोधपुछ गरेको उनले लेखेका छन् । चितवनका गाउँगाउँमा सेनाले धरपकड मात्रै सुरु गरेन, भाग्नेलाई गोली हानेर मार्न थाल्यो । पूर्वी चितवनमा गुणराज पाठकको खेतमा काम गर्दै गरेका मान्छेहरु सेना देखेपछि भागेको र भाग्ने सबैलाई गोली ठोकेर मारेको कुरा पुस्तकमा छ ।
अवस्था कति भयावह थियो यो हरफमा उल्लेख छ । ‘यता गेष्ट हाउसमा थुनेका मानिसहरुलाई दिनभरि बयान लिएछन् र राती खुकुरीले हात–खुट्टामा छ्याक–छ्याक पारी काटी गाडीमा लोड गरी जंगलमा लगी गोली ठोकी मारी थाक्कलले हात–खुट्टा बाँधी पेटमा ढुङ्गा राखी नारायणी नदी (हाल लिफ्ट सिंचाइ भएको ठाउँ) मा फालिदिएछन् । भोलिपल्ट पनि त्यसरी नै मारी रातीको समयमा ठुलो मझुवा (नगर वन) तिरबाट नारायणी नदीमा लगेर फ्याँकेछन् ।’ भरतपुर कब्जा मुक्त हुन सेनाले गरेको यस्तो क्रुरता यसअघि सायदै पढ्न पाइएको थियो । खनालले त्यो बेलाको अवस्था बाहिर ल्याएका छन् । भरतपुरले यस्तो क्रुरता भोगेको रहेछ । भयावह अवस्था देखेपछि गुणराज पाठक काठमाडौं गई दरबारमा स्थिति जाहेर गरेपछि बल्ल समातेका मान्छे नमार्नु भन्ने आदेश आएको वामदेवले लेखेका छन् ।
भरतपुर कब्जा भएपछि त्यसको खबर बोकेर भारत नरकटियागञ्जतिर लागेका श्रीहर्ष खनाल ठोरीबाट गिरफ्तार भएका थिए । दाजु समातिएर जेल परेपछि कसुर पनि नगरेका अंशियारहरुको समेत अंश रोक्का भएको र त्यसलाई छुटाउन आफूले लडेको कानुनी लडाइँको वृत्तान्तसमेत वामदेवले पुस्तकमा लेखेका छन् । भरतपुर घटनामा संलग्न भएकाहरुलाई हुने कारवाहीको फैसला सरकारले तत्कालीन गृह पञ्चायत मन्त्रालयमा एउटा दराजमा राखेको रहेछ । त्यो दराजमा अराष्ट्रिय तत्व लेखेर तीन वटा ताला लगाएको वामदेवले लेखेका छन् ।
त्यो ताला खोल्न राजाको हुकुम प्रमाङ्गी नै हुनु पर्ने रहेछ । आखिर कस्को सहयोगले वामदेवले कसरी जग्गा फुकुवा गरे ? त्यो बेला पाएको हण्डर, ठक्कर, साथसहयोग सबै राखेका छन् उनले किताबमा । दाजुको कैद भुक्तान हुँदा पनि सरकारले छाड्न गरेको आनाकानी, छुटाउन गरेको प्रयास पनि पुस्तकमा छ । जेलबाट छुटेर गिरिजाप्रसादलाई भेट्न बनारस गएका श्रीहर्ष ३३ सालमा गिरिजाप्रसादको सल्लाह अनुसार पार्टीका कामका लागि भारतको पूर्वोत्तर राज्य आसाम लागेका रहेछन् । त्यसपछि श्रीहर्षको अहिलेसम्म अत्तोपत्तो छैन । अंश मुद्दा गरेर वामदेवले आफ्नो भागको जग्गा फिर्ता ल्याए पनि रोक्का नै रहेको श्रीहर्षको सम्पत्ति बहुदल आएपछि पनि के कसरी फिर्ता भयो भन्ने जानकारी पुस्तकमा छ ।
किताबका चार वटा लेखका २८ पेजमा समेटिएका छन् यी यावत विवरणहरु । यस बाहेक अरु थुप्रै लेखहरु पनि छन् किताबमा । वामदेव आफैका मात्रै नभएर साथी र परिवारका सदस्यहरुले पनि पुस्तकमा लेखेका छन् उनका बारेमा । तर किताबलाई ओजिलो पार्न नारायणगढको इतिहास र भरतपुर घटना समेटिएका चार वटा लेख नै काफी छन् । त्यसैले यो किताब त्यस्सै मोटो भयो कि ? नारायणगढको जिमिन्दारी विवरण र भरतपुर संघर्ष खण्डलाई अझै बढी जानकारी राखेर अन्यलाई कम गर्न या हटाउन पो सकिन्थ्यो कि भन्ने मलाई लागेको छ । पुस्तकमा जे जति अटाए ती पनि महत्वपूर्ण जानकारी हुन् । लेखकसँग थप विवरण र सम्झनाहरु नै नभए त अर्कै कुरा, यदि छ भने यहाँ चर्चा भएका चार वटा लेखलाई विस्तृत बनाएमा एउटा राम्रो पुस्तक तयार हुने सम्भावना छ ।





