भरतपुर, ३० असार
भरतपुर महानगरपालिकाभित्र रहेको न्यू होराइजन इन्टरनेसनलले उत्पादन गरेको ३ हजार टन पशु आहार चीनको सिगात्से सहरमा निर्यात गरिएको छ । शनिबार भरतपुरमा एक कार्यक्रमको आयोजना गरी पशु आहार (हेलेज) लोड गरिएका ट्रक चीनतर्फ पठाइएको हो ।
पशु आहार चीन पठाउने कामको उद्घाटन गर्न काठमाडौँदेखि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कृषिमन्त्री डा. बेदुराम भुसाल, नेपालका लागि चिनियाँ राजदूत चेन सङ् भरतपुर आएका थिए । औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन र उत्पादन वृद्धि आजको आवश्यकता भएको बताए । ‘गुणस्तरीय वस्तु उत्पादन गर्न सक्यौँ, प्रचार गर्न सक्यौँ र निर्यात गर्न सक्यौँ भने व्यापार घाटा कम गर्न सकिन्छ’ उनले भने, ‘नेपाल र चीनबीच सन् २०२२ मा भएको सम्झौता अनुसार अहिले हेलेज निर्यात गर्न सम्भव भएको हो ।’
कृषिमन्त्री भुसालले हेलेज निर्यातले चीनसँगको ऐतिहासिक सम्बन्धमा नयाँ अध्याय थपिएको बताए । यसले नेपालमा घाँस उत्पादनमा नयाँ अभियान ल्याउने उनको भनाइ थियो । ‘विदेशमा पशु आहार निर्यात सुरु गनु राम्रो उपलब्धि हो’ उनले भने, ‘यसले कृषिको विकासमा महत्वपूर्ण योगदान पुग्नेछ ।’
राजदूत सङ्ले राम्रो सुरुवात हुनु भनेको आधा सफलता भएको बताए । ‘उच्च गुणस्तरीय उत्पादन चीन निर्याको काम सुरु भएको छ’ उनले भने, ‘विश्वका अन्य मुलुकमा पनि गुणस्तरीय उत्पादनको निर्यात आवश्यक छ ।’
कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनी, सिगात्से नगरका उपमेयर लिउ हु झोङ, भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।





