कवि अस्तफल र आख्यानकार खनाल पुरस्कृत

भरतपुर, ३० असार
चितवन साहित्य परिषद्ले शनिबार नारायणगढमा आयोजना गरेको २१०औँ भानु जयन्ती समारोहमा कवि सुरेन्द्र अस्तफल र आख्यानकार अष्टदेव खनाल पुरस्कृत भएका छन् । कवि अस्तफललाई चिसाप प्रतिभा पुरस्कारबाट र आख्यानकार खनाललाई चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कार अर्पण गरिएको हो ।

प्रतिभा पुरस्कारको राशी १५ हजार ४५ र खेमलाल लामिछाने साहित्य पुरस्कारको राशी ५० हजार ४५ रुपैयाँ रहेको छ । पुरस्कृत व्यक्तित्व कवि अस्तफलका बारेमा चितवन साहित्य परिषदका नवराज ढुंगानाले चिनारी प्रस्तुत गरेका थिए । आख्यानकार खनालको अन्तश्चेतना उपन्यासका बारेमा समीक्षक कपिल अज्ञातले टिप्पणी गरेका थिए । पुरस्कृत दुवै स्रष्टाले मन्तव्य व्यक्त गर्दै पुरस्कारले हौसला थपेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि रत्ननगर वाङ्मय परिषद्का अध्यक्ष रामबाबु घिमिरेले भानुभक्तका कृतिमा कहीँ कतै केही कमजोरी छन् भने तिनका बारेमा चर्चा गर्दा भानुभक्तको महत्ता नघट्ने बताए । ‘भानुभक्त आचार्य नेपाली साहित्यका सर्वाधिक लोकप्रिय कवि हुन्’ घिमिरेले भने, ‘उनीद्वारा लेखिएको रामायण सर्वाधिक लोकप्रिय छ ।’ भानुभक्तले सँस्कृतबाट नेपालीमा अनुवाद गरेको रामायण लोकप्रिय हुनुको मुख्य कारण यो धार्मिक र साहित्यिक ग्रन्थ हुनु रहेको उनको भनाइ थियो ।
कार्यक्रममा भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मी र त्रिवेणी साहित्य प्रतिष्ठानका अध्यक्ष प्राडा नारायणप्रसाद खनालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
भानुको चर्चा र रामायणवाचन
साहित्यकार डा. मतिप्रसाद ढकालले आदिकवि भानुभक्त आचार्यबारे चर्चा गर्दै २०१२ साल असार २९ गतेबाट नेपालमा भानु जयन्ती मनाउन थालिएको जानकारी दिए । भानुभक्तका कृतिहरु सात वटा भाषामा उल्था भएको बताउँदै उनले भानुभक्तका बारेमा नाटक लेखन र चलचित्र निर्माण भएको सुनाए । भानुभक्तको रामायण अध्यात्म रामायणको मौलिक उल्था भएको ढकालको भनाइ थियो ।
कार्यक्रममा श्रीराम जानकी गार्गी कन्या गुरुकुल देवघाटधामका कन्याहरुले भानुभक्तीय रामायणका श्लोक वाचन गरेका थिए भने नारायणी कला मन्दिर नारायणगढका कलाकारले ‘आँखामा सपना केशरी’ बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रमको सहआयोजक नारायणी कला मन्दिर नारायणगढ रहेको थियो । परिषद्का अध्यक्ष केदारनाथ खनाल र कला मन्दिरका अध्यक्ष सुविर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कवि सरला जोशीले गरेकी थिइन् । परिषद्का अध्यक्ष खनालले स्वागत मन्तव्य र कला मन्दिरका अध्यक्ष श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए । परिषद्का उपाध्यक्ष गणेश श्रमणले मन्तव्यसहित कार्यक्रम समापन गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट