भरतपुर, ३० असार ।
रोटर्याक्ट क्लब अफ भरतपुरले जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा सुरक्षित बालकक्ष र स्तनपान कक्ष स्थापना गरेको छ । विभिन्न कारणवश जिल्ला प्रहरी कार्यालय आउने ससाना बालबालिकाहरुको अधिकार र सहजतालाई ख्याल गर्दै रोटर्याक्ट क्लबले सुरक्षित बालकक्ष र आमाहरुका लागि बेग्लै स्तनपानकक्ष तयार गरी जिल्ला प्रहरी कार्यालय चितवनलाई हस्तान्तरण गरेको हो ।
क्लबले उक्त बालकक्षमा ससाना बालबालिकाहरुलाई लक्षित गरी भित्ते कलाहरु रचना गरेको छ । त्यसैगरी आधारभूत पठनपाठनका निम्ति भित्ते पोस्टरहरू टाँसेको छ । बालबालिकाका लागि खेल सामग्रीहरु र साना बच्चालाई सुताउनका लागि कोक्रो (झोलुङंगा) समेत राखिएको उक्त प्रोजेक्टका संयोजक एवम् क्लबका सम्पादक रोटर्याक्टर सुशान्त रेग्मीले जानकारी दिए ।
यसैगरी स्तनपान गराईरहेकी आमाहरुलाई स्तनपानको महत्व र आवश्यकता बारे जानकारी दिने उद्देश्यले चेतनामुलक पोस्टरहरू टाँसिएको छ ।
असार २८ गते जिल्ला प्रहरी कार्यालय चितवनमा भएको हस्तान्तरण कार्यक्रममा चितवन जिल्लाका प्रहरी प्रमुख एसपी रामेश्वर कार्की, डिएसपी विजयराज पण्डित, रोटर्याक्ट क्लब अफ भरतपुरका संस्थापक सदस्य एवम् रोटरी क्लब अफ भरतपुरका रोटरीयन विमल क्षेत्री, रोटर्याक्ट क्लब अफ भरतपुरका अध्यक्ष लवि तिवारीलगायत अन्य १४ जना रोटर्याक्टरहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै एसपी रामेश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय आउने बालबालिकाका निम्ति विशेष बालकक्ष र स्तनपानकक्षको आवश्यकता महशुस भएको र उक्त सपना आज यथार्थमा परिणत हुँदा हर्षित भएको बताए । प्रहरी प्रमुख कार्कीले आगामी दिनहरुमा पनि सामाजिक हितका कामहरुमा रोटर्याक्ट क्लब अफ भरतपुरसँग हातेमालो गर्दै अघि बढने प्रतिबद्धता जनाए ।





