तनहुँ, ३० असार ।
राष्ट्रिय आविष्कार केन्द्र र मिलिजुली कृषि उत्पादक सहकारी संस्थाकाे संयुक्तकार्यमा आँबुखैरेनीको बरादीमा कृषि इनोभेटिभ केन्द्रको स्थापना गरिएको छ । कृषिबाट उत्पादित खाद्य तथा फलफुल र जडिबुटीलाई केन्द्रको प्रयोगशालाबाट परिक्षण गरि विभिन्न किसिमका पेय पदार्थ, कस्मेटिक्स, हर्बल पेप्टिसाइड र मलको अनुसन्धान गरि किसानलाई व्यावसायिक रूपमा ती सामग्रीको उत्पादनका लागि तालिम दिने उद्देश्य रहेको मिलिजुली कृषि उत्पादन सहकारीका अध्यक्ष ईश्वर गौलीले बताए ।
केन्द्रले अनुसन्धान गरि उत्पादन गरेको सामग्रीहरूको प्रदर्शनी कार्यक्रममा अध्यक्ष गौलीले यो कुरा बताएका हुन् । राष्ट्रिय आविस्कार केन्द्र बरादीका प्रोजेक्ट लीडर फुड टेक्नोलोजिष्ट प्रतिभा पराजुलीले गण्डकी प्रदेशमा कास्कीको पोखरामा ६ ओटा अनुसन्धान केन्द्र रहेको र तनहुँकाे बरादीमा रहेको यो सातौँ अनुसन्धान केन्द्र रहेको बताइन् ।
उनलेे `बरादी र यस वरपरका क्षेत्र फलफुल र तरकारीको उत्पादनमा प्रख्यात रहेको र निर्यातमा पनि उल्लेखनीय देखिएकोले मिलिजुली कृषि सहकारीसँग आविष्कार केन्द्रले सहकार्य गरेर बरादीमा आविष्कार केन्द्र स्थापना गरिएको र यस अनुसन्धान केन्द्रले किसानसम्म पहुँच पुर्याउने कुरामा आफू विश्वस्त रहेको बताइन् ।





