वसन्तको `मोम्चो´ कथासङ्ग्रहको हेटौंडामा अन्तर्क्रिया

हेटौंडा, ३० असार ।
वसन्त पराजुलीजीको मोम्चो कथासङ्ग्रहमाथि हेटौंडामा अन्तर्क्रिया गरिएको छ । किताबघरको आयोजनामा शनिबार गरिएको कार्यक्रममा टिप्पणीकार हरि पौडेल र नीरा शर्माले टिप्पणी राखे ।

पुस्तकका सन्दर्भमा बोल्दै टिप्पणीकार हरि पौडेलले सङ्ग्रहका अधिकांश कथामा महिला केन्द्रित समस्यालाई उठान गरिएको बताए । `समाजका हरेक क्षेत्रमा महिला विभिन्न कारणले उत्पीडित छन् । त्यही क्षेत्रमा रहेका पुरुषको पीडा पनि कम छैन, तर कथाकारले महिलाकामात्रै समस्यालाई कथामा उतार्नु भएको छ´, पौडेलले भने ।

अर्का टिप्पणीकार नीरा पौडेलले सङ्ग्रहका अधिकांश कथा नारीवादी भएको बताइन् । कथाका अधिकांश मुख्य पात्र नारी भएको र कथामा नारीले विद्रोह गरेको कुरालाई मार्मिक ढंगले उतारिएको शर्माले बताइन् । `कथाकारले प्रकृति र मानिसको जीवनलाई बिम्बमा उतारेका छन्´, शर्माले अगाडि भनिन् – `कथामा समसामयिक प्रसङ्गको व्याख्या भए पनि कौतुहलता भने आउन सकेको छैन ।´

कार्यक्रममा मन्तव्य राख्दै कवि सामना पहाडले एकजना पुरुष लेखकले महिलाको संवेदनालाई मिहिनेत गरेर कथामा उतारेको बताइन् ।

कथाकार पराजुलीले सङ्ग्रहमा भुइँमान्छेका कथालाई समावेश गरेको बताए । `मकवानपुर, चितवन र धादिङ जिल्लामा बसोबास गर्ने सीमान्तीकृत चेपाङ समुदायको जनजीवनलाई कथामा उतारेको छु´, पराजुलीले भने । आफू पत्रकारिताको विद्यार्थी भएको र खोजमुलक सामग्री संकलन गर्ने क्रममा देखेका भोगेका कुरालाई कथामा उतारेको हूँ´, उनले भने ।

कार्यक्रमका प्रमुख अतिथि हयग्रीव आचार्यले मोम्चो शब्दले चेपाङ समुदायका महिलालाई सम्बोधन गर्ने भएकोले यो पुस्तकले चेपाङ समुदायलाई सम्मान गरेको बताए । गाउँमा कथालाई किताबमा उतार्नु सानो काम नभएको भन्दै आचार्यले लेखक पराजुलीको साहसलाई धन्यवाद दिए ।

कार्यक्रमका प्रमुख अतिथि निमेष निखिलले कथामा आधुनिक आमाहरूका चरित्रलाई उजागर गरिएको बताए । सामान्य भाषागत त्रुटि र वर्णविन्यासले पाठकलाई कहिँकतै बिझाउने निखिलले बताए । कार्यक्रमलाई किताबघरका सञ्चालक छवि अनित्यले सहजीकरण गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट