घोराही, २९ असार ।
अक्सिजन सिलिण्डर विस्फोट हुँदा उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका एक बालकको मृत्यु भएको छ । बिहीबार घोराही उपमहानगरपालिका–३ का १० वर्षीय बालक आक्रोश नेपालीको मृत्यु भएको हो ।
एमआरआइ गर्ने क्रममा चिकित्सक र स्वास्थ्यकर्मीको लापरवाहीका कारण बालकको ज्यान गएको आफन्तले दाबी गरेका छन् । सामान्य अवस्थाको बिरामी अस्पतालको गम्भीर लापरवाहीका कारण ज्यान गएको भन्दै आफन्तले अस्पतालमा विरोध प्रदर्शन गरेका छन् ।
अस्पतालको लापरवाहीका कारण बालकको ज्यान गएको भन्दै आफन्तले दोषीलाई कारबाही र परिवारलाई क्षतिपूर्तिको माग गर्दै आफन्तले प्रतिष्ठानका उपकुलपतिको कार्यालय र अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका छन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका फिजिसियन डा.रमेश कँडेलले यसलाई भवितव्य भएको बताए ।





