खैरहनी, १५ असार ।
श्री सैनिक आवासीय महाविद्यालय चैनपुर, चितवनले विविध कार्यक्रमका साथ २० औं राष्ट्रिय धान दिवस मनाएको छ । कार्यक्रमको पहिलो चरणमा धान दिवस विशेष हाजिरीजवाफ प्रतियोगिता, दोश्रो चरणमा अन्तर सदनात्मक असारे गीत गायन प्रतियोगिता र अन्तिम चरणमा महाविद्यालय परिसरभित्र रहेको क्षेत्रमा धान रोपाईँसमेत गरिएको थियो ।
अन्तरसदनात्मक असारे गीत गायन प्रतियोगितामा पहेँलो सदन प्रथम, निलो सदन द्वितीय र रातो सदनले तृतीय स्थान प्राप्त गरेका थिए ।
महाविद्यालयका निमित्त प्रमुख व्यवस्थापकीय अधिकृत सेनानी विमला पन्त लामा, भाइस प्रिन्सिपल गणेशप्रसाद तिमिल्सिना, शैक्षिक संयोजक, विभागीय प्रमुखलगायतको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा महाविद्यालयका प्रधानाध्यापक बाबुराम बन्जाडेले धान दिवसको महत्त्व बारेमा बोलेका थिए ।
प्रधानाध्यापक बन्जाडेले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने सदनलाई बधाई तथा विद्यार्थीहरुलाई उत्प्रेरणा दिई स्तरीय कार्यक्रम सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने शिक्षक तथा कर्मचारीहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा असारे गीत गायन प्रतियोगिताको निर्णायकमा होस्टेल सुपरिटेन्डेन्ट जीटीए सुरजचन्द्र गौतम र नेपाली विभागका प्रमुख पीजीटी दयाराम दुवाडी रहेका थिए भने कार्यक्रमको सञ्चालन नेपाली विषय प्रमुख जीटी नानीमैया ढकालले गरेकी थिइन् ।




