गैंडाकोट, २७ जेठ ।
गर्मीका कारण एक सातादेखि बन्द रहेका गैंडाकोट क्षेत्रका विद्यालय आइतबारदेखि सञ्चालनमा आउने भएका छन् । गर्मी कायमै रहेपनि नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठनलाई निरन्तरता दिन लागिएको हो ।
संस्थागत विद्यालयहरुको छाता संगठन प्याब्सन गैँडाकोटको शनिबार बसेको बैठकले आइतबारदेखि विद्यालयहरु नियमित रुपमा सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष लक्ष्मीप्रसाद दवाडीले बताए । लामो समय विद्यालयहरु बन्द हुँदा अध्ययन अध्यापनमा बाधा पुग्ने तथा पाठ्यक्रम पूरा गर्न समेत अप्ठ्यारो हुने भएकाले विद्यालयहरु नियमित सञ्चालन गर्न लागिएको अध्यक्ष दवाडीले बताए ।
`आइतबारदेखि सबै विद्यालयहरु नियमित रुपमा सञ्चालन हुन्छन्´, दवाडीले भने – `सोमबारदेखि विद्यालयको भौतिक अवस्था हेरेर बिहान या दिउँसो कक्षा सञ्चालन गर्ने निर्णय सम्बन्धीत विद्यालयहरुले गर्नेछन् ।´
नगर शिक्षा समिति र संस्थागत तथा सामुदायिक विद्यालयका प्रतिनिधिहरुबीच भएको छलफलबाट आइबारदेखि स्कूल खोल्ने निर्णय भएको हो ।





