निरन्तरको झरीले वैशाखका दिन पनि हिउँदजस्ता चिसा लाग्दै थिए । अँध्यारिएको मौसमले मनमा उदासी छाइरहेको बेला अझ उदास बनाउने अर्को खबर आयो, गत मंगलबारको साँझमा । स्कूले सहपाठी तथा पछिल्लो कथासंग्रह ‘जेम्स बौलाएको दिन’ का लेखक सीताराम कोइरालाले सुनाए, ‘गणेश, शंकर कँडेलले आत्महत्या गरेछन् ।’ पछि अर्का साथी कृष्ण भुसालले त्यस दुःखद खबरको पुष्टि गरे । खबरले पूरै रन्थनायो । उदासी मनमा धेरै उद्दिग्न विचारहरु ओहोरदोहोर गर्न थाले ।
चितवनस्थित गौरीगंज स्कूलबाट हाम्रो स्कूल प्रेमबस्तीमा स्थानान्तरण हुने विद्यार्थीहरुको लर्कोमा जोडिएको एउटा नाम थियो शंकर । उनी होचो कदकाँठीका थिए । शान्त र सहयोगी स्वभावका थिए । हामी विज्ञान समूहका विद्यार्थी र उनी भूगोल, इतिहास समूहका । यसैले उस्तो हिमचिम त हुँदैनथ्यो । तर उनको हँसमुख चेहरा र मिजासिलो स्वभावले बिस्तारै सानिध्य बढ्दै गयो । हामी कलेज पढ्दै गर्दा नै उनी स्थानीय एक हिमालयन फिड्स नाम गरेको दाना फ्याक्ट्रीमा जागिरे बनेका थिए । पछि आफ्नै उद्यम थाले । उद्योग व्यवसायीको रुपमा स्थापित बने । खुला र उर्वर चितवनको फाँटलाई नै उनले कर्मक्षेत्र बनाए । बचत सहकारी लगायत सामाजिक गतिविधिमा पनि सक्रिय संलग्न थिए । सामाजिक पहिचानको दायरा बढाए ।
बिस्तारै नेपाली कांग्रेसमा आवद्व रही राजनीतिक सक्रियता बढाउँदै लगे । अनमोल फिड्स उनले नेतृत्व गरेको दाना उत्पादक संस्था थियो । आर्थिक व्ययभारका कारण बाध्य भएर त्यसको ठूलो सेयर अंश हालै बिक्री गरेका रहेछन् र लेनदेनमा धोका पाएपछि उनले अप्रिय कदम चाल्न पुगे ।
दशकअघि पछिल्लो भेट भएथ्यो शंकरसँग मेरो । उस्तै हँसमुख, उस्तै दिलदार देखिन्थे । त्यही भेटमा उनले भनेको कुरा अझै सम्झिन्छु म– ‘गणेश, फर्क यार, चितवन । तिमी चितवनमै केही गर ।’ शंकरले आफैलाई सिध्याए ।
शंकरबाट समाजको अपेक्षा बढ्तै थियो सायद । छोटो समयमा व्यवसायमा जमेका शंकरको भित्री कारोवारी यथार्थ कसैले बुझेन । सन्ध्याकालीन साथीसंगी त धेरै थिए होलान् उनका, रामरमाइलोमा साथ दिने । तर उनका हितैषी सायदै कोही थिए जोसँग उनी आफ्ना दुःखसुख समवेत सुनाउन सकून् । घरपरिवारको आशा, आवश्यकता र अपेक्षालाई पनि उनी नजरअन्दाज गर्न सक्दैनथे पक्कै । यस्तोमा व्यक्ति एक्लो पर्ने नै भयो । मानव भीड त थियो उनको वरपर तर उनी नितान्त एक्लो भए । माफ गर शंकर, मरणोपरान्त यसरी हिमाल खबरपत्रिकामा तिमी छापिएको पढ्न अभिसप्त बन्यौं हामी – ‘व्यवसायी शंकर कँडेल आत्महत्या दुरुत्साहन आरोपमा एक जना पक्राउ ।’ साँच्चै क्या बोर गर्यौ यार शंकर, तिमीले ।
तल झर्न नसक्ने, पराजय तथा असफलता स्वीकार्न नसक्ने कारणले गर्दा पनि मान्छे सकसपूर्ण बाँचेको हुन्छ । अपवार्ड मोविलिटी अर्थात् सधैं अगाडि बढेको परिकल्पनामा जीवन हाँक्न विवश छौं हामी । असफलतालाई स्वीकार्न दिंदैन समाज । व्यवसाय, कारोवारमा सफल हुन नसक्नेलाई बाँच्न दिंदैन समाज । असफलता नै सफलताको सिंढी हो भनेर जति रटाए पनि असफल मान्छेलाई हुतिहारा, कमजोर ठान्छ हाम्रो समाज । यही कारण हामीकहाँ राजनीतिमा स्थापितहरु पद र अवसर गुमाउन चाहँदैनन्, किर्नाझैं टाँसिरहन्छन् सधैं । मरेपछि मात्र राजनीतबाट अलग हुने र यसलाई जीवनभरको स्थायी पेशा ठान्ने सोचबाट बदनाम छ यो क्षेत्र । पश्चिमा जगतमा उच्च पदस्थ व्यक्ति, सेलिब्रिटीहरु पनि सामान्य जीवनयापनमा सहज देखिन्छन् । बाराक ओबामा वकालत पेशामा फर्किए । अन्य नेताहरु साधारण र सार्वजनिक सवारीमा पनि सहजै अभ्यस्त छन् । हामीकहाँ भने गाडी चढ्ने मान्छे मोटरसाइकलमा झर्दा सबै शानसौकत र हैसियत गुमेको ठान्छन् ।
कुनै व्यक्ति सदा माथिमाथि जान सक्दैैन । प्रकृतिको नियम नै हो, तल झर्नैपर्छ । गुरुत्वाकर्षण सम्बन्धी न्यूटनको नियम यसको साक्षी छ । यसलाई स्वीकार्दा सहज जीवनयापन संभव छ । राजेश खन्नाको यो चर्चित संवादले जीवनको त्यही यथार्थलाई सम्बोधन गर्छ :
‘आज मै हूँ जहाँ कल कोही और था
ए भी एक दौर है वो भी एक दौर था’
हरिवंश राय बच्चनको यो कवितांशले पनि हामीलाई हाम्रो विगत र यथार्थ सम्झाउँछ । सरलता र सादगीको पाठ पढाउँछ ।
‘बैैठ जाता हुँ मिट्टी पे अक्सर
क्यूँकी मुझे अपनी औकात अच्छी लगती है ।’
इन्टरनेट र प्रदत्त सामाजिक संजालगत सुविधाबाट हामी अरु एकलकाँटे र असामाजिक बनिरहेको तथ्य बुझ्न कुनै आधिकारिक आँकडा चाहिंदैन । कोभिडपछिको आर्थिक मन्दीले हाम्रो जस्तो भूगोल त अझ प्रताडित छ ।
मानवीयता र सामाजिक पूँजी खस्कँदो अवस्थामा छ । वडो असंवेदनशील समयबाट गुज्रिरहेका छौं हामी यतिखेर । यही वास्तविकता प्रकट हुन्छ कवि निदा फाजलीका यी पंक्तिमा–
‘यहाँ किसीको कोई रास्ता नहीं देता,
मुझे गिराके अगर तुम संभल सको तो चलो’
सन्ध्याकालीन बसिबियाँलोमा त शंकरका साथमा थुप्रै साथीहरु थिए होलान् । तर मनको वह र विरह सुनाउने र असल परामर्श लिनेदिने सायदै कोही थिए । यही मनोदशालाई लिएर कोभिडपछि टर्कीकी आख्यानकार एलिफ शफकले लेखेकी थिइन् – ‘कोही छौ मेरो आवाज सुन्ने ?’
कोभिडपछि सर्वत्र छाएको आर्थिक मन्दीको प्रभाव चितवनले पनि बेहोर्यो । पोल्ट्री फार्महरु धर्मराउँदै गए । त्यसको प्रत्यक्ष मार दाना उत्पादकहरुमा पनि पर्यो । यस्तो परिस्थितिमा पार्टी राजनीतिमा होमिंदै गए शंकर बिस्तारै अनि व्यवसायमा ध्यान कम भयो । प्रतिष्पर्धी र प्रतिद्वन्द्वीहरुका चाल र षडयन्त्र पनि उनको लागि प्रत्युत्पादक बन्दै गए । उनको साख गिराउन लागिपरे होलान् । यस्तोमा आफ्नो हैसियत र स्थान कायम राख्न उनलाई सहज भएन । चितवनबाट साथी कृष्ण सुनाउँदै थिए, ‘लप्पनछप्पन नजान्ने शंकरलाई खुराफाती र जालझेलको व्यावसायिक दुनियाँले लाचार बनायो । त्यही भएर अनमोल फिड्सको सेयर बेचे तर रकम हात परेन । अनि मानसिक आघात पर्ने नै भयो । अन्ततः सुइसाइड नोट छोडेर बिदा भए हामीबाट ।’
‘आत्महत्या अचम्मको चीज रहेछ’, आफ्नो पछिल्लो खबरमा मेसेन्जरमार्फत कृष्णको व्यथित मन छचल्कियो । सीताराम पनि ‘शंकरले गलत गरे, समर्पण गरे आफूलाई’ भन्दै थिए । आज शंकरको अवसानपछि फाजलीका गजलका शेर, बच्चनका कवितांश, खन्नाले बोलेका फिल्मी संवाद अनि शफकका निबन्धका पंक्तिहरु अझ गाढा सम्झनामा आइरहेछन् ।
साँच्चै आत्महत्याका धेरै आयाम छन् । समाजशास्त्री एमाइल दुर्खिमले आत्महत्यामै एउटा सिंगो किताब लेखेका छन् । उनको अनुसन्धानमा सामान्य मान्छेभन्दा बुझेका, पढेलेखेका मान्छेले आत्महत्या गर्ने संभावना धेरै हुने उल्लेख छ । लेखक, चिन्तक, चित्रकार, कलाकारहरुमध्ये उल्लेख्य संख्यामा भेटिन्छ आत्महत्यामार्फत् आफ्नो जीवनको अन्त्य गर्नेहरु । जिउँदै रहँदा आफूले परिवर्तन गर्न नसकेर आफ्नो मृत्युलाई बाँकी काम फत्ते गर्ने आधार र आशाको रुपमा सोच्नेहरु पनि भेटिए ।
दिल्लीस्थित जवाहरलाल विश्वविद्यालयमा अध्ययनरत रहँदा भारतीय दलित अगुवा रोहित वेमुलाले आफ्नो आत्महत्यालाई विद्रोहको रुपमा अर्थ्याएर गए । शंकर सामाजिक तथा राजनीतिक रुपमा राम्रै उचाईमा पुगेका थिए । उनले आफैंलाई सके, समस्यासँग जुध्न चाहेनन्, जीवनदेखि हार खाए आदि इत्यादि भनेर त भन्न सकिन्छ । तर यो जटील प्रकरण हो ।
व्यवसायी प्रेमप्रकाश आचार्यको आत्महत्यापछि यो क्रम अरु आउनेछ भन्ने आँकलन थियो । शंकरले त्यसैलाई पुष्टि गरे । शंकर त बितेर गए तर यस विदारक घटनामार्फत् पनि केही सिकाएर गएका छन् । त्यसैले हरेक परिवारका सदस्यहरुलाई विनम्र निवेदन : अतिरिक्त दबाव नदिऊँ कसैलाई । पढ्ने विषयको छनौटमा होस् वा जीवनसाथी छनौटमा वा पेशागत गतिविधिमा । अनि साथीहरु, आफ्ना परिवार र शुभचिन्तकसँग आफ्ना समस्या र असहजताको पेटारो खोलौं, सुखदुःख बाँडौं । गुम्सिएर नबसौं, समस्यालाई आफैंभित्र सीमित बनाएर कैदी जीवन नबाँचौं । नत्र यसको पटाक्षेप साथी शंकरको अन्त्यजस्तै गरी हुनसक्छ । यही आत्मबोध नै उनीप्रतिको सच्चा श्रद्धाञ्जलि हुनेछ ।





