गैंडाकोट, १८ वैशाख ।
मौलाकाली केबुलकार औपचारिकरूपमा सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार गैंडाकोटमा रहेको मौलाकाली केबुलकार बटम स्टेसनमा ताम्रपत्र अनावरण गर्दै केबुलकार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा प्रधानमन्त्री दाहालले शिथिल अर्थतन्त्रलाई उकास्न मौलाकाली जस्ता पर्यटकीय पूर्वाधारको महत्व रहने उल्लेख गरे । उनले निजी क्षेत्रलाई सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए ।
प्रधानमन्त्री दाहालले आर्थिक वृद्धि र रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका ठूलो रहेको स्पष्ट पारे । तनहुँ, नवलपुर र चितवन जिल्ला पर्यटकीय हब बन्दै गएकाले यस क्षेत्रलाई आर्थिक समृद्धिको क्षेत्रको रूपमा विकास गर्ने प्रतिबद्धता प्रधानमन्त्री दाहालले व्यक्त गरे ।
त्यसैगरी, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मौलाकाली केबुलकारको निर्माणसँगै यो क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उद्घाटन समारोहमा मौलाकाली केबुलकारका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको शिथिल अर्थतन्त्रलाई उकास्न पर्यटकीय पूर्वाधार निर्माणलाई तीव्रता दिन र विकासका काम समयमै पुरा हुने वातावरण बनाउन आग्रह गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले निजी क्षेत्रले तोकिएको समयमा, तोकिएकै बजेटमा, तोकिएकै गुणस्तरमा काम गर्न सक्षम छौँ भन्ने उदाहरण मौलाकाली केबुल कारसमेतले प्रस्तुत गरेको बताए । मौलाकाली केबुलकार निर्माणकै रफ्तारमा अन्य पर्यटकीय पूर्वाधार र विकासमा काम सम्पन्न हुने हो भने अर्थतन्त्रमा देखिएको शिथिलता स्वतः कम हुँदै जाने उनको भनाइ छ ।
मौलाकालिका मन्दिरको साढे चार सय वर्ष पुरानो इतिहास छ । यस मन्दिरबाट दाहिनेतर्फ देखिने देवघाट वैदिक सनातन धर्ममा पवित्र भूमि हो । नारायणी, देवघाट र त्रिवेणीजस्ता देवभूमि र तपोभूमिसहितका सम्पदाको ऐतिहासिक गरिमा र महिमालाई सबै नेपालीसमक्ष पुर्याउन केबुलकारसहितका नयाँ पर्यटकीय संरचनाले सघाउ पुग्ने विश्वास लिएको पनि अध्यक्ष ढकालले उल्लेख गरे ।
पर्यटनको विकासमार्फत् स्थानीय नागरिकको जीवनस्तर उकास्दै देशको समृद्धि हासिल गर्ने कामलाई निरन्तरता दिने प्रतिबद्धता पनि अध्यक्ष ढकालले व्यक्त गरे । स्थानीय सांस्कृतिक महत्वका संरचना राष्ट्र र जनताका साझा सम्पत्ति रहेको भन्दै उनले नवलपुरको गहनाका रूपमा निर्मित मौलाकाली केबुलकारसहितको पर्यटकीय संरचनालाई स्थानीय जनताको आफ्नै सम्पत्तिका रूपमा विकास गर्ने मोडल अघि सारी स्थानीय समुदायको अधिकतम सहभागिता गराएको स्पष्ट पारे ।
अहिले नेपाल आउने विदेशी पर्यटकको औसत खर्च तथा बसाइ निकै कम छ र प्रतिदिन घट्दो छ । यसलाइ बढाउनुपर्ने चुनौती छ । पर्यटकलाई आकर्षित गर्ने, उनीहरुको नेपाल बसाइ र खर्च बढाउने खालका थप ठूला पूर्वाधार निर्माण गर्नुपर्नेछ ।
करिब १२ सय मिटर लम्बाइको केबुलकारमा १४ वटा गोण्डोला छन् । फेदीबाट केबुलकार चढेपछि ५ मिनेटमा मन्दिरनजिकै रहेको टप स्टेसनसम्म पुग्न सकिन्छ । माथिल्लो स्टेसनसँगै बनिरहेको होटलमा ६० कोठा, ब्याङ्क्वेट हल, स्विमिङ पुल र रेष्टुरेन्ट छन् । परियोजनको लागत करिब २ अर्ब रूपैयाँ छ ।





