भरतपुर, १८ वैशाख ।
काठमाडौंबाट साहित्य यात्रामा निस्केको टोलीले रारामा पुगेर कृति विमोचन गरेका छन् । प्राकृतिक छ्टाले भरिपूर्ण सुन्दर चुचेमारा हिमाललाई साक्षी राखी रारा तालको आँगनमा
पुस्तक विमोचन गरिएको हो । चार जना स्रष्टाका चार वटा कृति विमोचन भएका हुन् । रुद्र अधिकारीको मुक्तक सङ्ग्रह `शून्य गगन´, विष्णु थापा विछोडको मुक्तकसङ्ग्रह `जीवनको लय´ , लव खड्का जय भद्रकालीको मुक्तकसङ्ग्रह `कैवल्य´ र रवीन्द्र आशिष शैलीको कवितासङ्ग्रह `हिँडिरहेका आँखाहरू´ विमोचन भएका थिए ।
उक्त समारोहमा कृतिकार आफैले आ-आफ्नो कृति विमोचन गरेका हुन् । नयाँ परिवेशमा नौलो प्रयोग गरिएको उक्त कार्यक्रम सायदै पहिलो भएको अविरल मुक्तक यात्राका संयोजक तथा अध्यक्ष रुद्र अधिकारीले दावी गरे ।
सडक बाटो भएर काठमाडौंदेखि सुर्खेत, दैलेख, कालिकोट, जुम्ला हुँदै मुगुमा रहेको राराताल पुगेर कृति विमोचन गरिएको अधिकारीले बताए । स्रस्टाहरूले कर्णाली नदीको किनार, सुन्दर उपत्यका जुम्ला, पहाडी बजार कालिकोट र खस भाषाको उद्गमस्थल सिंजा उपत्यका साथै सुर्खेत वीरेन्द्रनगरमा रहेको रमणीयस्थल काँक्रे विहार, गंगामाला, देउतीबजै साथै बुलबुल तालको समेत अवलोकन गरेका थिए । कर्णाली साहित्य समाजका अध्यक्ष खगेन्द्र अधिकारी र उपाध्यक्ष देवकी तिमिल्सिनाको संयोजनमा स्रस्टालाई बुलबुल ताल परिसरमा स्वागत तथा सम्मान गरिएको थियो ।
वैशाख ९ गते सुरु भएको साहित्य यात्रा रारामा कृति विमोचन गरि वैशाख १५ गते काठमाडौ आएर समापन गरिएको थियो ।





