भरतपुर, १८ वैशाख ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू भ्रष्टाचारका फाइल खोल्न तयार रहेको बताएका छन् । चितवन आएका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागी भए आफू भ्रष्टाचारका फाइल खोल्न तयार रहेको बताए ।
यसअघि रास्वपाले न्यूनतम साझा कार्यक्रमबाट ‘भ्रष्टाचारका फाइल खोल्ने’ आफ्ना बुँदा हटाइएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता गर्ने सङ्केत अभिव्यक्ति दिएको थियो । त्यसपछि प्रधानमन्त्री प्रचण्डले रास्वपा सभापति रवि लामिछानेलाई सरकारमा आउन आग्रह गरेका हुन् । “सरकारमा आउनुस्, भ्रष्टाचारको कुनचाहिँ फाइल हो म खोल्न तयार छु,” प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।
उनले तत्काल सरकार परिवर्तन नहुने पनि बताए । सरकार परिवर्तन हुन्छ भन्नु भ्रममात्रै भएको जिकिर गर्दै उनले भनेका छन्- `सरकार यताउता हुन्छ भन्नु भ्रम हो, सरकार पाँचैवर्ष चल्छ ।´





