विश्व पुस्तक दिवस र यसको महत्त्व

पुस्तक त्यो साधन हो, जसका पानामा जगत खुल्छ । पुस्तक त्यो फूल हो जसमा ज्ञानको भोको भमरा भुल्छ । अनि पुस्तक नै त्यो सागर हो जसमा संसार डुब्न चाहन्छ । पुस्तक नै त्यो सोपान हो जसबाट दुनियाँ विद्वत्ताको सगरमा पुग्न चाहन्छ । हामी पुस्तकलाई पूजा गर्छौं, पल्टाउँछौं अनि अक्षरहरूसँग भुल्छौं ।

जीवन र जगतप्रतिको दृष्टिकोण बनाउँछौं । एक अक्षर, दुई अक्षर गर्दै शब्द बुन्दाको त्यो आनन्द सायदै हामीले भुलेका हौंला । जब हामी पुस्तक समाउँछौं, तब बेग्लै ढंगले आनन्दित हुन्छौं । कतिले विविध समस्याका कारण पुस्तकसँग रमाउन पाएका छैनन । कतिले पुस्तक पाएर पनि विषयवस्तुसँग रमाउन सकेका छैनन् ।

विश्वलाई परिवर्तनमार्फत् आजको स्थितिसम्म ल्याउने ज्ञानको भण्डार पुस्तकको प्रचलन कहिलेबाट सुरु भयो भन्नेमा यकिन मिति पाउन सकिँदैन । तथापि प्राचीन संस्कृत सभ्यताका विविध ग्रन्थ तथा ग्रिसेली सभ्यताका महान् साहित्यकार होमरका कृतिहरू इलियड र ओडिसीलाई सुरुवाती पुस्तकको रूपमा लिने गरिन्छ । त्यसपछिका कैयौं विद्वान्ले विभिन्न विधाका पुस्तक रचना तथा प्रकाशनको क्षेत्रमा उल्लेख्य योगदान गर्दै आएका छन् ।

वर्षौंसम्मको पुस्तक लेखन तथा प्रकाशनको कार्यले हालको स्थितिमा हामी आइपुगेका छौं । यो क्रम अझ समुन्नत हुँदै जाने क्रममा रहेको छ । पुस्तक रचना तथा प्रकाशनको अझ प्रवर्द्धनका लागि संसारभर स्थापित विभिन्न पुरस्कारले पनि यो क्रमलाई विशिष्ट प्रकारले सघाइरहेका छन् । नोबेल पुरस्कार, पुलिट्जर पुरस्कार, बुकर पुरस्कार लगायतका विभिन्न प्रतिष्ठित पुरस्कार पनि पुस्तक लेखक तथा प्रकाशकको विकासकै लागि स्थापित छन् ।

यसै शिलशिलामा युनेस्कोले सन् १९९५ अप्रिल २३ देखि “विश्व पुस्तक दिवस” पनि वार्षिक रूपमा मनाउँदै आएको छ । जसको मुख्य उद्देश्य पुस्तक पढाइ, छपाइ तथा प्रतिलिपी अधिकारको प्रवर्द्धन गर्नु रहेको छ । यस क्रमको विगत हेर्ने हो भने हामीले स्पेनका पुस्तक व्यवसायीहरूको प्रयासलाई प्रशंसा गर्नुपर्ने हुन्छ । उनीहरूले त्यहाँका विद्वान् लेखक मिगुल डे कार्भेन्टसको निधनको दिन पारेर यो क्रमको शुरूवात गरेका हुन् ।

सन् १९९५ मा पहिलो पटक अप्रिल २३ लाई विश्व पुस्तक तथा प्रतिलिपि अधिकारका दिवसका रूपमा मनाउने निर्णय भयो । हाल आएर यो दिवस विश्वका सय भन्दा बढी मुलुकमा अध्ययन महोत्सवका साथै पुस्तकको लेखन, प्रकाशन, अध्ययन र प्रवर्द्धनका रूपमा मनाइन्छ । विकसित देशहरूमा यस दिवसलाई राज्यले प्राथमिकतामा राखी राज्यका तर्फबाट नै विभिन्न कार्यक्रम गरिंदै आएको छ ।

यति लामो इतिहास बोकेको विश्व पुस्तक दिवस विविध कठिनाइका कारण सन् २००९ बाट मात्र नेपालमा मनाउन सुरु गरियो । यसको श्रेय निश्चय नै नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायी महासंघलाई जान्छ । यो महासंघले अप्रिल २३ लाई विविध कार्यक्रमका साथ मनाउँदै आएको छ । यसले विभिन्न समयमा तय गरेका कार्यक्रमहरूमा प्रभातफेरी, श्रष्टासम्मान, अन्तरक्रिया, शैक्षिक महोत्सव, पुस्तक प्रदर्शनी साथै अन्य रचनात्मक कार्यक्रम रहँदै आएका छन् । ज्ञानको फैलावट र विष्फोटन भइरहेको आजको युगमा हामी नेपालीमा पनि पुस्तक पठन संस्कृतिको उल्लेखनीय वृद्धि भइरहेको छ ।

विभिन्न समयमा भएका पुस्तक प्रदर्शनीले पनि सो कुराको पृष्टि गरिरहेका छन् । स्थानीयस्तरमा तथा क्षेत्रीय हुँदै राष्ट्रियस्तरमा आयोजना गरिने यस्ता विविध कार्यक्रममा राज्यको तर्फबाट पनि विशिष्ट किसिमको प्रयास हुन सके नेपाली पाठक, समाज अनि समग्र राष्ट्रकै प्राज्ञिकस्तरमा अझ उन्नति हुने कुरामा दुईमत नरहला ।

पुस्तक दिवसको सन्दर्भ पारेर राज्यकातर्फबाट पनि विभिन्न रचनात्मक कार्यक्रमहरू आउन सकेमा पुस्तक दिवसको महत्त्व सम्पूर्ण नेपालीमा फैलने साथै पुस्तक र यससँग सरोकार राख्ने सबैमा आशाको दियो प्रज्वलन हुनेछ ।

(लेखक नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय सदस्य हुनुहुन्छ ।)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट