मीना दिदीसामु भक्कानिए बालिका

वैशाख ६ भरतपुर
असहाय महिला तथा बालबालिका पुनस्र्थापना केन्द्र आदर्श गृह नेपालले स्थापनाको १५ औं वर्ष पूरा गरेको अवसरमा संस्थामा संरक्षित ४ जना महिला तथा बालिकाहरुलाई पारिवारिक पुनर्मिलन गराइएको छ । विभिन्न घटनामा परी अति जोखिम अवस्थामा हिंसा भोग्न बाध्य पारिएकाहरुको उद्धार र न्यायपश्चात उनीहरुलाई आत्मनिर्भर बनाई परिवारको जिम्मा लगाइएको हो ।
भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, भरतपुर महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ताकुमारी पौडेल, प्रहरी उपरीक्षक रामेश्वर कार्की, उपअनुसन्धान निर्देशक कमलप्रसाद भट्टराई, भरतपुर महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष अर्पण पोख्रेल लगायतका सरोकारवालाको रोहवरमा बालिकाहरुलाई परिवारको जिम्मा लगाइएको हो ।

बिदाई भएर परिवारसँग जान लागेका बहिनीहरुले आदर्श गृह र मीना खरेलको साथ पाएर नै न्याय प्राप्त गर्न सकेको बताएका थिए । आफू पीडामा छट्पटिँदा साथ दिने मीना दिदी र आदर्श गृहको साथका कारण नै पुनर्जीवन पाएको भन्दै उनीहरु बिदाई भएर जाँदा भक्कानिएका थिए । उनीहरुले हिंसामा परी अन्यायमा छट्पटिइरहेको अवस्थामा न्यायको बाटो नभेटी पीडा खपेर मानसिक रुपमा विक्षिप्त भएर बस्दा मीना दिदी लगायतका व्यक्तिको साथ र सहयोगले नै अहिले पुनर्जीवन पाएको अनुभूति भएको बताए । न्यायिक प्रकृयामा आफूहरुलाई केही थाहा नहुँदा संस्थाले असल अभिभावक बनी निस्वार्थ रुपमा सहयोग गरेको उनीहरुको भनाइ थियो ।
संस्थाकी अध्यक्ष मीना खरेलले पीडितको पक्षमा फैसला भइसकेपछि राज्यले दिने क्षतिपूर्ति पीडितले पाउन नसकेको जानकारी गराइन् । आज पनि आफूहरु भाडाको घरमा पीडित तथा प्रभावित महिला तथा बालबालिकाहरुलाई राख्न बाध्य भएको भन्दै उनले स्थानीय तहबाट जतिसक्दो छिटो जग्गाको व्यवस्थापन गरी संस्था निमार्णमा सहयोग गर्न माग गरिन् ।
भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले संस्थाले महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरणमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गरे । राज्यको निकायबाट हुनुपर्ने काम निजी क्षेत्रबाट भएको भन्दै उनले संस्थालाई जग्गा दिलाउन आफूहरु सकारात्मक रहेको र प्रकृयामा काम अगाडि बढेको बताए ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले लैंगिक हिंसा, महिलामाथि हुने हिंसा न्यूनीकरणमा संस्थासँग समन्वयात्मक रुपमा काम गरिने बताए । क्षतिपूर्तिको सवालमा आफूले जतिसक्दो छिटो सम्बन्धित निकायसँग समन्वय गरी सहजीकरण गर्ने वचन दिए ।
प्रहरी प्रमुख रामेश्वर कार्कीले हिंसा न्यूनीकरणमा संस्था र मीना दिदीले खेलेको भूमिकाको प्रशंसा गर्दै प्रहरीले सधैँ साथी बनेर रक्षकको भूमिका खेल्ने स्पष्ट पारे । स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले संस्थाले जहिले पनि पीडितको न्यायका लागि अभिभावकीय भूमिका खेलेको बताइन् ।

संस्थाको स्थापनाकालदेखि हालसम्म संस्थाबाट प्रत्यक्ष रुपमा १ हजार १ सय ७१ जनालाई उद्धार संरक्षण र पारिवारिक रुपमा पुनर्मिलन गराइएको छ । हाल संस्थामा ३५ जना पीडित/प्रभावित महिला तथा बालबालिका संरक्षणमा रहेका छन् भने १६ जना किशोरी तथा बालिकाहरुले नियमित शिक्षा हासिल गरिरहेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट