भरतपुर, ११ चैत ।
नेपाल पत्रकार महासंघ र नेपाल नेत्र ज्योति संघको स्थापना दिवसको सन्दर्भमा गरिएको आँखा शिविरमा पत्रकारहरुले आँखा परीक्षण गराएका छन् । चितवनका पत्रकारहरुले भरतपुर आँखा अस्पतालमा आँखा परीक्षण गराएका हुन् । १ सय २५ जना पत्रकारको आँखा परीक्षण गरिएको थियो ।
आँखा रोग विशेषज्ञ डाक्टर हिमाल गिरीले अधिकाँस पत्रकारहरुमा दृष्टि दोषको समस्या देखिएको बताए । मोबाइल, ल्यापटप, कम्प्युटरमा बढी काम गर्नुपर्ने भएकाले आँखाको दृष्टि कमजोर बन्न लागेको पाइएको बताए । कुनै पनि वस्तुलाई राम्ररी ठम्याउन नसक्ने समस्यालाई दृष्टि दोषको समस्या भन्ने गरिन्छ ।
शिविरमा नेपाल पत्रकार महासंघको सदस्यता लिएका र क्रियाशील पत्रकारहरुको आँखा परीक्षण गरिएको थियो । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले पत्रकारहरुको आँखा स्वास्थ्यको अवस्था पत्ता लगाउन शिविर उपयोगी भएको बताए ।
नेपाल नेत्र ज्योति संघका केन्द्रीय सदस्य चिजकुमार मास्केले पत्रकारहरुको आँखा उपचारमा आजीवन सदस्य सरह ४० प्रतिशत छुट दिइने घोषणा गरे । शिविरमा चस्मा लगाउन सिफारिस भएका पत्रकाहरुलाई चस्मा समेत वितरण गरिएको थियो । चस्मा, औषधि निःशुल्क उपलब्ध गराइएको थियो ।
आँखा शिविर कार्यक्रमका संयोजक पत्रकार विप्लव काफ्लेले २ जना ज्येष्ठ पत्रकारहरुको मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने पाइएको बताए । उनका अनुसार आँखामा केही जटिल समस्या देखिएका पत्रकारहरुलाई फलोअपका लागि बुधबार भरतपुर आँखा अस्पताल बोलाइएको छ ।
कार्यक्रममा नेपाल नेत्र ज्योति संघ चितवनका सभापति कृष्णराज धरेल, बागमती प्रदेश सभापति एवं केन्द्रीय उपाध्यक्ष ऋषिराम पौडेल, डिष्ट्रिक ३२५ आरका डिष्ट्रिक गभर्नर सिदार्थलाल चुके, पूर्वगभर्नर प्रभातकुमार जोशी, संघका केन्द्रीय उपसभापति जयराम श्रेष्ठ, अस्पतालका प्रशासक दयाशंकर चौधरी, पत्रकार महासंघ चितवनका सल्लाहकार तिलकराम रिमाल, निवर्तमान सल्लाहकार सूर्यप्रकाश कँडेल, निवर्तमान अध्यक्ष राधेश्याम खतिवडा, पूर्वअध्यक्षहरु जनक अर्याल, विष्णु छिमेकी लगायतको सहभागिता रहेको थियो ।
२०१२ साल चैत १६ गते स्थापना भएको नेपाल पत्रकार संघ पछि २०५३ साल जेठ २९ गते महासंघमा रुपान्तरण भएको थियो । महासंघले चैत १६ गते ६८ औँ स्थापना दिवस मनाउँदै छ । १३ गते नेत्रज्योति दिवस र १८ गते नेत्र ज्योति संघको स्थापना दिवस मनाइँदै छ ।
भरतपुर आँखा अस्पताल २०४४ साल चैत १८ गते स्थापना भएको थियो । अस्पतालले बहिरंग सेवा, नयाँ बिरामी भर्ना सेवा, कर्निया सेवा, सामान्य बहिरंग सेवा, जलविन्दु सेवा, दृष्टि पर्दा सेवा, आँखाको प्लाष्टिक सर्जरी सेवा, बाल आँखा रोग सेवा, जाँच तथा अन्य सेवाहरु, चस्मा जाँच सेवा दिँदै आइरहेको छ । अस्पतालमा दैनिक ८ सय जनाले आँखा उपचार सेवा लिँदै आएका छन् ।





