भरतपुर, ११ चैत ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ऋण तिर्ने र बाँकी निर्माणको काम एकसाथ अगाडि बढाउनु पर्ने बताएकी छन् ।
नेपाल कराते महासंघको सातौँ राष्ट्रिय महाधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै उनले बहुवर्षीय सहमतिसहित टेण्डर प्रकृया अगाडि बढाउने गरी पहल भइरहेको उल्लेख गरिन् । उनले रंगशाला बन्छ कि बन्दैन भन्ने विषय सबै जनता र खेलाडीले चिन्ता र चासोको साथ हेरिरहेकाले महानगरपालिका प्रमुखको हैसियतले सक्दो पहल भइरहेको जानकारी दिइन् ।
‘मैले सामाजिक सञ्जालमा केही दिनमा सुखद समाचार सुन्न पाउँछौं भनेको थिएँ’ उनले भनिन्, ‘निरन्तर पहल भएकै छ । केही दिनभित्र सुखद समाचार सुन्न पाउनेमा आशावादी छु । ऋणको निकास हुनासाथ रंगशाला निर्माण अघि बढाउन समस्या छैन ।’
महानगरपालिका प्रमुख दाहालले ऋणकै कारण संघ र प्रदेशबाट विनियोजन भएको २२ र ५ करोड रुपैयाँ फ्रिज हुने अवस्था आएको उल्लेख गरिन् । गौतम बुद्ध क्रिकेट रंगशाला क्रिकेट खेल्न मात्र नभई बहुउद्देश्यीय रंगशाला भएकाले त्यहाँ इन डोर र आउट डोर दुवै खेल खेल्न सकिने भएकाले सबै विधाका खेल खेल्न सकिने प्रमुख दाहालले बताइन् ।
उनले भरतपुर महानगरपालिका नेपालका ७५३ पालिकामध्ये खेलकुद गतिविधि गर्ने र पूर्वाधार निर्माण गरेर उत्कृष्ट भई प्रधानमन्त्रीबाट पुरस्कृत भएको बताइन् । भरतपुरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद हुनुका साथै सबै विधाको खेल गतिविधि हुँदै आएकाले खेलकुदको हब बन्नेतर्फ उन्मुख भएको उनको भनाइ थियो ।
महानगरपालिका प्रमुख दाहालले अब छिट्टै भरतपुरमा साइक्लिङ प्रतियोगिता र लगत्तै वागमती प्रदेश र भरतपुर महानगरपालिकाको सहकार्यमा क्रिकेट प्रतियोगिता हुन लागेको जानकारी दिइन् ।
भरतपुर–२२ को पहिटानीमा शनिबारदेखि सुरु भएको अधिवेशनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए । प्रधानमन्त्री प्रचण्डले खेल क्षेत्रको विकासको लागि नेपाल सरकार सधैँ सकारात्मक रहेको बताए ।





