भरतपुर, ११ चैत
उद्यमशीलताको विकासका लागि चितवनमा पनि उद्यमशीलता सहायता कार्यक्रम लागु हुने भएको छ । कार्यक्रम अन्तर्गत उद्यम गर्न चाहने युवालाई सहयोग गरिने बताइएको छ ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) सँग मिलेर विश्वविद्यालय अनुदान आयोगले अगाडि बढाएको यस कार्यक्रममा नेपालभरिका १८ वटा कलेज छनौट भएका छन् । ती १८ वटा कलेजमध्ये चितवनका ३ वटा कलेज परेका छन् । तीनमध्ये एक प्रेसिडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्सेजले कलेजमा सरोकारवालाको बैठक राखेर कार्यक्रमबारे जानकारी गराएको हो ।
पञ्चवर्षीय यस कार्यक्रम अन्तर्गत प्रेसिडेन्सीले ६–६ महिनामा ३० जनाका लागि १५ दिने तालिमको संयोजन गर्नेछ । तालिम दिने काम भने अन्तरप्रेरणा र आइएलओले गर्नेछन् । तालिम सफलतापूर्वक सम्पन्न गर्ने प्रशिक्षार्थीले नयाँ उद्यम गर्न चाहेमा निजले ५ वर्षका लागि ५ देखि ४० लाख रुपैयाँ निब्र्याजी पाउने छन् । ५ वर्षपछि भने उक्त रकम फिर्ता गर्नुपर्ने प्रावधान रहेको प्रेसिडेन्सीका कार्यक्रम स्रोतव्यक्ति चोलेन्द्र पौडेलले जानकारी गराए ।
प्रेसिडेन्सीका संस्थापक प्राचार्य शम्भु क्षेत्रीले यो कार्यक्रम ४० वर्षमुनिका अर्थात् युवाहरुको लागि भएको जानकारी दिए । उनले तालिममा कलेजका विद्यार्थीमात्र नभई कलेज बाहिर समुदायबाट समेत सहभागी गराइने बताए । बैठकको सहजीकरण गरेका उज्ज्वल मरहट्ठाले १५ दिने तालिमका सहभागीले कुनै पनि किसिमको शुल्क तिर्नु नपर्ने जानकारी गराए ।





